• २१ वैशाख २०८१, शुक्रबार

मेरो प्रेमको कथा (कविता)

blog

एउटी काली ठिटी थिइन्, बोल्नै सकिनन् 

मेरो रवाफ सहनै सकिनन् । 

म तिनको राजा थिएँ, तिनी मेरी रानी हुन सकिनन् 

ढोकेकी छोरी रहिछन्, ढोकेसितै बोलिन् । 

तिनी जङ्गली युगकी रहिछन्, बर्बरता तिनको धर्म रहेछ,

म मानिसको अगिल्तिर के टिक्थिन् ? 

अर्की तिनी जस्तै नै बरु काली रहिछन् 

तिनले मलाई सपनामा पाइन् रे

किनभने विपना बन्धन थियो 

विपनामा खेल मात्र थियो । 

यिनले मलाई बचाइन्, सपनामा पाउने जस्तै 

तिनले चाहिँ मार्न खोजिन्, रगत पिइन् 

विपनामा नालायक ठहरिए जस्तै । 

कालीहरूको कथा आयो, गयो । 

अब गोरीहरू छुत्ती खेल्दै छन् 

म पनि खेल्दै छु । 

यस्तो प्रेम आखिर लीला न हो 

लीलाले पनि मलाई अलमल्याउन सकिनन् । 

लीलासित हर्दम पाचुके नै छ ।

मलाई त प्रेम र क्रान्ति बराबर छ 

सङ्क्रन्ति त महिनौँ महिनौँ भइ नै रहेछ । 

मलाई त क्रान्तिसित खेल्ने बानी छ 

त्यसैले क्रान्तिले मेरो छहारी सकार्नु छ । 

म त्यसैले जोडा छु, जोडा हुन्छु 

क्रान्तिले मलाई नमस्कार गर्न बाँकी नै छ ।

मैले त क्रान्तिलाई सलामी दिसकेँ 

क्रान्तिले मर्द भएर सलाम फर्काउन बाँकी नै छ 

म त्यसैको प्यासो छु, त्यसैको प्रेमी छु 

क्रान्तिले मलाई प्रेम गर्न बाँकी नै छ । 

म क्रान्तिको भोको छु 

क्रान्तिले मेरो छाक टार्न बाँकी नै छ ।

आमाको सपना

साझा प्रकाशन

तेस्रो संस्करण २०४०

Author

गोपालप्रसाद रिमाल