• ९ मंसिर २०८१, आइतबार

डा. ओममूर्तिको ‘जीवन्त सम्बन्ध’ लोकार्पण

blog

काठमाडौँ, असोज ६ गते । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलको दोस्रो पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण भएको छ।

डा. अनिलले लेख्नुभएको पुस्तक ‘जीवन्त सम्बन्ध’ उहाँकी आमा राजकुमारीदेवी सिंहले शुक्रबार लोकार्पण गर्नुभयो। यसअघि ‘जीवन्त सम्बन्ध’ पुस्तकको कभर फोटो सार्वजनिक भइसकेको छ। १० वर्षअघि डा. अनिलले ‘म पनि डाक्टर’ नामक पुस्तक प्रकाशित गर्नुभएको थियो।

डा. अनिलको पुस्तकबारे कलाकार मदनकृष्ण श्रेष्ठले डा. अनिलको पुस्तकमा मानिसको जीवन सम्बन्धबारे प्रस्ट रूपमा खुलाइएको र पुस्तक वृद्धवृद्धादेखि बालबालिकाले समेत अध्ययन गर्न सकिने बताउनुभयो। हरिवंश आचार्यले एउटा चिकित्सक जीवनका आयामबारे प्रस्ट रूपमा साहित्यमार्फत सक्रिय रहेको बताउनुभयो। उहाँले पुस्तकमा सम्बन्ध के हो भन्ने सबैका लागि उपयोगी हुने बताउनुभयो। साहित्यकार डा. रवीन्द्र पाण्डेले पुस्तकका विषयवस्तु मार्मिक रहेको जानकारी दिँदै समय र परिवेश अनुसार मानिसको सम्बन्धलाई चर्चा गर्न खोजिएको बताउनुभयो। 

डा. अनिलले जीवन, जगत्, सम्बन्ध तथा भोगाइका विषयमा पुस्तक रहेको बताउनुभयो। दैनिक सयौँ मुटुरोगी उपचार गर्दागर्दै पुस्तक लेख्न पुगेको हुँ। यस पेसाले लाखौँ लाख मानिसको भावना बुझ्न सकेँ र त्यसैलाई पुस्तकमा उतारेको छु, उहाँको भनाइ छ। उहाँले पुस्तकबाट आएको नगद असहाय वृद्धवृद्धाका लागि खर्च गरिने बताउनुभयो। उहाँले  आफ्ना बुबाको मृत्युपछि जीवन र सम्बन्धलाई हेर्ने र सोच्ने तरिका नै परिवर्तन भएको भन्दै सोही कुराले पुस्तक लेख्न प्रेरित गरेको भनाइ पनि राख्नुभयो।