ठाकुरप्रसाद आचार्य
म्याग्दी, असोज ३ गते । म्याग्दी जेसीजको आतिथ्यतामा आयोजना हुन लागेको नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारी पुरा भएको छ । सम्मेलनले जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।
बिहीबारदेखि दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको उद्घाटन गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुहुने भएको छ ।
सम्मेलनको उद्घाटनका लागि मुख्यमन्त्री पाण्डे आजै बेनी आउनुहुनेछ । बजार सरसफाइ, धोजापतका र तुल ब्यानर टागेर बजारलाई चिटिक्क पारिएको छ । क्षेत्र ‘ख’ सम्मेलनलाई म्याग्दी जेसीजले जिल्लाको पर्यटन प्रवर्द्धनसँग जोडेको छ । सम्मेलन स्थलमा जिल्लाका पर्यटकीय स्थलहरूको तस्बिर राखिएको छ ।
सम्मेलनमा देशभरबाट करिब ६ सयभन्दा बढिले सहभागिता जनाउने म्याग्दी जेसीजका अध्यक्ष सुमन बानियाँले बताउनुभयो । त्यसैगरी देशभरका एक सय ७८ वटै नेपाल जेसीजका शाखाहरूबाट समेत पर्यवेक्षकको रूपमा सहभागिता रहने आयोजकले जनाएको छ । अध्यक्ष बानियाँले भन्नुभयो, ‘‘सम्मेलनले जिल्लाको पर्यटकीय स्थलको प्रचारप्रसार र प्रवर्द्धनमा टेवा पुर्याउने विश्वास गरेका छौँ ।’’
सम्मेलन जेसीजको आन्तरिक सम्मेलन भए पनि देशभरबाट प्रतिनिधिहरू आउने भएकाले सम्मेलनलाई म्याग्दीको पर्यटन प्रवर्द्धन गर्ने अवसरका रूपमा उपयोग गरिने अध्यक्ष बानियाँले बताउनुभयो ।
सम्मेलनमा भाग लिन आउने अतिथिहरूका लागि आवास व्यवस्थापन, कार्यक्रम सञ्चालन हुने खुलामञ्च व्यवस्थापनदेखि अतिथिहरूको आमन्त्रण र प्रचारप्रसारका काम अन्तिमचरणमा पुगेको क्षेत्र ख सम्मेलनका निर्देशक तथा म्याग्दी जेसीजका पूर्व अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिनुभयो ।
अतिथिहरूलाई अल्लोको धागोबाट बुनेका झोला, बेनीको बजारको गीत लेखिएको रुमाल र पवित्र कालीगण्डकी नदीमा पाइने शालिग्राम मायाको चिनोको रूपमा प्रदान गरिने भएको छ । म्याग्दीलाई देशभर चिनाउने यो अवसरलाई हामीले पूर्णरुपमा उपयोग गर्ने छौँ पूर्व अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘‘सम्मेलनमा आउने जेसीज सदस्यहरू मार्फत यहाँका पर्यटकीय स्थलहरूको देशभर प्रचारप्रसार गर्ने छौँ ।’’
क्षेत्र ख सम्मेलनमा नेपाल जेसीजका कार्यक्रमका साथै जिल्लाको पर्यटन विकास, प्रवर्द्धन उत्पादित बस्तु तथा उपजको प्रचारप्रसारका साथै कला, संस्कृतिको संरक्षणसँग जोडिएको पूर्व अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
सम्मेलन अवधिमा म्याग्दीमा एक करोडको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिलाई म्याग्दीका पर्यटकीय र धार्मिक स्थलहरू लभ्लीहिल, गलेश्वरधाम, सिङ्गा तातोपानी लगायतका क्षेत्रमा भ्रमण गराउने समेत तयारी गरिएको छ ।
सम्मेलनका अवसरमा बजारमा विभिन्न जातजातिका मौलिक संस्कृति र भेषभूषा प्रदर्शन गरिने भएको छ । बजारका चोक चोकमा विभिन्न जाति, समुदाय र सङ्घ संस्थाको मौलिक, कला, संस्कृति र परम्पराको प्रदर्शन गर्ने व्यवस्था मिलाइएको छ ।
सम्मेलन परिसरमा म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अस्ट्रेलियासँगको सहकार्यमा नदेखिएको म्याग्दी शीर्षकको तस्बिर प्रदर्शनी हुनेछ भने सम्मेलनमा म्याग्दीको कला, संस्कृति र पर्यटन सम्भावनाको वृत्तचित्र समेत प्रदर्शन गरिने तयारी भएको आयोजकले जनाएका छन् ।
सम्मेलनलाई सफल बनाउन जिल्ला स्थित सरकारी कार्यालय, स्थानीय तह र विभिन्न सङ्घ संस्थाले जेसीजलाई सघाएका छन् । बजारवासीहरूले आ–आफ्नो टोलमा सरसफाइ र तुल ब्यानर टागेर पाहुनालाई स्वागत गरेका छन् ।