• १३ साउन २०८१, आइतबार

कम उमेरमा आमा बन्दै

blog

स्थायी बन्ध्याकरण (मिनिल्याप) सेवा लिन आएका महिला ।

गोकर्ण दयाल

बैतडी, असोज २ गते । ‘बिहेबारी, बिस वर्ष पारि’ भन्ने नारा र ऐन, कानुन भए पनि बैतडीमा २० वर्ष नपुग्दै आमा बन्नेको सङ्ख्या बढ्दो छ । बैतडीमा मात्र वार्षिक चार सय किशोरीले २० वर्ष नपुगी सन्तान जन्माएर आमा बनेका छन् ।

बालविवाह न्यूनीकरणका क्षेत्रमा सरकारी तथा गैरसरकारी क्षेत्रले काम गरेको दाबी गरे पनि बैतडीमा बालविवाह रोकिएको छैन । स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा ४१५, आर्थिक वर्ष २०७८/७९ मा ३८७ र २०७९/८० मा ३२३ जना किशोरी आमा बनेका छन् । 

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले तीन वर्षमा एक हजार १२५ जना किशोरी २० वर्षमुनि आमा बनेको बताउनुभयो । कानुनले २० वर्ष नपुग्दै हुने विवाहलाई बालविवाह भनेको छ । उहाँले बालविवाह रोक्न नसक्नु सबैको कमजोरी भयो तर विवाहपछि बालिका गर्भवती बन्नसमेत कसैले रोक्न नसकेको बताउनुभयो । 

नेपालले सन् २०३० भित्र बालविवाह अन्त्य गर्ने लक्ष्य लिएको छ । दिगो विकासको लक्ष्य प्राप्त गर्न बैतडीमा १० वर्षदेखि संयुक्त राष्ट्रिय जनसङ्ख्या कोष (युएनएफपिए) ले बालविवाह रोक्न विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहको छ । कोषका जिल्ला प्रमुख गणेश शाहीले स्थानीय तहमा बालविवाह रोक्न रणनीतिक योजना बनाइदिए पनि कार्यान्वयन गर्न स्थानीय सरकारले चासो नदिएको आरोप लगाउनुभयो । बालविवाह रोक्न दशरथचन्द नगरपालिका, सिगास गाउँपालिका र पाटन नगरपालिकाको रणनीतिक योजना बनाएको छ भने डिलासैनी गाउँपालिका र मेलौली नगरपालिकाको रणनीति बन्ने क्रममा छ । 

किशोरीले जन्माएका कुपोषित

स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार आर्थिक २०७८/७९ मा एक हजार ९३४ जना बालबालिका कुपोषित भेटिएका छन् । तीमध्ये ३१२ जना बालबालिका कडा कुपोषणले ग्रसित छन् । २० वर्ष नपुग्दै विवाह गरेर जन्मिएका अधिकांश बालबालिका कुपोषित भेटिएका छन् । उमेर र उचाइ अनुसार बालबालिकामा निकै कम तौल र ख्याउटे अनुहार भएको पाइएको छ । 

स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बैतडीमा कुपोषित बालबालिकाको सङ्ख्या बर्सेनि बढ्दै गएको बताउनुभयो । कुपोषित बालबालिकाको खोजी गरेर उपचार गर्न जिल्लामा ४२ वटा स्वास्थ्य संस्थामा उपचार केन्द्र खोलेर पोषिलो खाना कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । 

कुपोण घटाउन बैतडीमा सुनौला हजार दिन कार्यक्रम सञ्चालन भए पनि कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै गएको छ । गर्भवती महिला र दुई वर्षमुनिका बालबालिकाको पोषण सुधार गर्न बैतडीमा सन् २०१६ देखि सुआहारा (एकीकृत पोषण कार्यक्रम) सञ्चालनमा छ । युएसआइडीको आर्थिक सहयोगमा बैतडीमा आठ वर्षदेखि सुआहारा कार्यक्रमले गर्भवती महिला र दुई वर्षमुनिका बालबालिकाको पोषणमा सुधार ल्याउने कार्यक्रम सञ्चालन गरिरहेको गैरसरकारी संस्था स्वदेश बैतडीका राधिका भट्टले बताउनुभयो । 

बालविवाहले हिंसा बढ्यो  

उमेर नपुग्दै गरेको विवाहका कारण महिलामाथि घरेलु हिंसा बढेको पाइएको छ । घरेलु हिंसामा परेर उपचारका लागि जिल्ला अस्पताल बैतडीको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा आएका २३१ जना महिलामध्ये अधिकांशको २० वर्ष नपुग्दै विवाह भएको पाइएको छ । 

जिल्ला अस्पताल बैतडीका चिकित्सक एवं एकद्वार सङ्कट व्यवस्थापन केन्द्रका सम्पर्क व्यक्ति डा. थानेश्वर न्यौपानेले महिलामाथि हुने घरेलु हिंसाका कारणमध्ये बालविवाह पनि एउटा कारण रहेको बताउनुभयो। बालविवाहपछि श्रीमान्ले दोस्रो विवाह गरेर कुटपिट गरेको, सासूससुराले खान लगाउन नदिएको जस्ता घटनाबाट पीडित भएर उपचार र संरक्षणका लागि आउने गरेका छन् । आव २०७९/८० मा अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा २३१ जना महिला आएको डा. न्यौपानेले बताउनुभयो । हिंसापीडित महिलाको इतिहास हेर्दै जाँदा अधिकांशको किशोरावस्थामै विवाह भएको पाइएको उहाँले बताउनुभयो ।