• १२ साउन २०८१, शनिबार

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति छ

blog

आठ वटा स्थानीय तह रहेको पाँचथर जिल्लाको एउटा मात्रै नगरपालिका हो फिदिम। कुल १९२.५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो नगरपालिका साबिकका फिदिम, चोकमागु, लुम्फाबुङ, शिवा, रानीटार, नागीन, लुङरुपा र याङनाम गरी आठ वटा गाउँ विकास समिति समेटेर गठन गरिएको हो । यहाँ १४ वटा वडा छन्। स्थानीय तहको निर्वाचनमा फिदिम नगरपालिकाको प्रमुखमा मित्रप्रसाद काफ्ले निर्वाचित भई नगर क्षेत्रको शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकास कार्यमा पहल भइरहेको छ । यस नगरपालिकामा भइरहेका विकास गतिविधिलगायतका विषयमा केन्द्रित भई गोरखापत्रका फिदिम समाचारदाता राधा लुइँटेलले प्रमुख काफ्लेसँग गर्नुभएको कुराकानीको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ ।  


फिदिम नगरपालिकाले प्राथमिकतामा राखेका विषयवस्तु के के हुन् ?

सबैभन्दा पहिलो प्राथमिकता शैक्षिक सुधारको छ। प्रारम्भिक शिक्षा बालबालिकाको उज्ज्वल भविष्यसँग जोडिएको महत्वपूर्ण र संवेदनशील विषय भएकाले शैक्षिक सुधारलाई प्राथमिकतामा राखेका हौँ। 

शैक्षिक सुधारका लागि काम गरिरहेका केही उदाहरण ?

अभिभावकविहीन र अत्यन्तै कम आयस्रोत भएका परिवारका बालबालिकालाई गुणस्तरीय शिक्षा दिन फिदिम नगरपालिका–४ मा आवासीय विद्यालय सञ्चालनमा ल्याएका छौँ। जहाँ बाल बालिकालाई आवासीय सुविधासहित शून्य शुल्कमा शिक्षा दिइन्छ । विभिन्न विद्यालयमा नियुक्ति पाएर नियमित स्कुल नजाने शिक्षकको निगरानी, अत्यन्तै कम सङ्ख्यामा विद्यार्थी भएका विद्यालयलाई एक अर्कामा गाभ्ने, अङ्ग्रेजी माध्यमलाई प्राथमिकता, जीवनोपयोगी र गुणस्तरीय शिक्षाका लागि विभिन्न योजना तयार गरिएको छ । विद्यालयमा विद्युतीय हाजिरी अनिवार्य गर्ने तयारी छ । सबै विद्यालयमा सिसी क्यामरा जडान गरी शिक्षा शाखामार्फत निगरानी गर्ने तयारी भइरहेको छ । काठमाडौँस्थित रातो बङ्गला स्कुलसँग सम्झौता गरी बालबिकास केन्द्रबाटै गुणस्तरीय, जीवनोपयोगी र व्यावहारिक शिक्षाका लागि कार्यक्रम कार्यान्वयनमा ल्याइएको ंछ ।

सुशासनका क्षेत्रमा पनि केही काम भएका छन् ?

स्थानीय तहको सबैभन्दा ठुलो समस्या भनेको नै भ्रष्टाचार र अनियमितता हो। हामी निर्वाचित भएर आएपछि भ्रष्टाचार र अनियमितता गर्नेलाई शून्य सहनशीलताको नीति कार्यान्वयनमा ल्याइएको छ। खरिद प्रक्रियालाई सार्वजनिक खरिद ऐन र नियमावलीले व्यवस्था गरे अनुसार गरिन्छ । इबोलपत्र आह्वान अनिवार्य इबिडिङमार्फत गरिन्छ। घटाघटमा ठेक्का हाल्ने र प्रस्तावको मूल्याङ्कन गरेर सम्झौता गरिने भएकाले ठुलो रकम बचत भएको अनुभव गरेका छौँ। योजना सञ्चालनपूर्व गरिने सर्भेदेखि फस्र्याेट गर्दासम्म प्राविधिक र कर्मचारीले कमिसन माग्ने र सेवाग्राहीले दिनैपर्ने परिपाटी अन्त्य गरिएको छ । नगरपालिकालाई प्रविधिमैत्री बनाउने कार्यक्रम अगाडि बढेको छ । अब केही महिनादेखि पञ्जीकरणसँगै नगरपालिकाबाट सम्पादन हुने सबै काम अनलाइनबाटै गरिने छ ।

आर्थिक समृद्धिका लागि अगाडि सारिएका कार्यक्रम के के छन् ? 

विपन्न नागरिकलाई आयआर्जनमा जोड्न किसानलाई नमुनाका रूपमा आधुनिक खोर निर्माणसहित उन्नत जातको सुँगुरका पाठा वितरण गरेर अध्ययन गर्दै छौँ। किसानलाई गाई वितरण गरेर आयआर्जनसँग जोडिएको छ। किसानलाई प्रोत्साहन गर्न एक वडा–एक उत्पादन भन्ने कार्यक्रम चलाइएको छ । जस अनुसार वडा वडामा सूर्यमुखी फूल, कफी, आलु, तरकारी, धान, मकै, भुइँ स्याउ जस्ता बाली उत्पादनमा किसानलाई पे्ररित गर्ने बजार प्रवर्धनका लागि सहजीकरण गर्ने योजना छ। कृषि उपजमा लाग्ने हाटबजार कर हटाइएको छ । नगर क्षेत्रमा बिजुलीबत्ती र खानेपानीको सुविधा पु¥याउन वडा कार्यालयमार्फत काम अगाडि बढाइएको छ । सदरमुकामसमेत रहेको फिदिमदेखि पौवाभन्ञ्याङ, रानीटार, लुङरुपा, नागनी, याङनाम, फिदिम र लुम्फाबुङ हुँदै नगरपालिकाका सबै वडालाई जोड्न फिदिम चक्रपथलाई पूर्णता दिन आवश्यक पर्ने बजेट व्यवस्थापन गर्न सङ्घीय सरकारसमक्ष पहल गरिएको छ ।

सबै वडालाई स्वास्थ्य शिक्षा र रोजगारीमा जोड्न के कस्ता काम भइरहेका छन् ?

सहरी शासकीय पूर्वाधार विकास कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत स्थानीय युवालाई श्रममा जोड्दै रोजगारी दिलाउन अधिकतम प्रयास गरिएको छ। नेपालका १६ औँ विभूति एवं समाज सुधारक महागुरु फाल्गुनन्दको तपोभूमि लब्रेकुटी र समाधिस्थल रहेको शिलौती क्षेत्रलाई धार्मिक, पर्यटकीय र आध्यात्मिक केन्द्रका रूपमा विकास गर्न पूर्वाधार निर्माण गरिएको छ। सामुदायिक स्वास्थ्य एकाइहरू सञ्चालनमा ल्याएका छौँ। जिल्ला अस्पतालसहित सबै स्वास्थ्य संस्थाबाट सहज रूपमा औषधी उपचार गर्ने वातावरण सिर्जना गरेका छौँ । नगरपालिकाले पटक पटक सञ्चालन गरेका आँखा, दाँत, हाडजोर्नी र पाठेघरसम्बन्धी शिविरबाट विपन्नताकै कारण शल्यक्रिया गर्न नपाएका दुई हजारभन्दा बढीलाई निःशुल्क सेवा उपलब्ध गराएका छौँ ।

तपाईंले गर्नुभएको केही उदाहरणीय काम के के हुन् ?

धेरै योजना सम्झौतापछि सम्पन्न हुने चरणमा पुगेका छन् भने केही सम्पन्न भएका छन्। दुई महिनाअघि मात्रै फिदिम बजारको आहालगैरीदेखि समर्पित अस्पतालसम्म स्मार्ट स्ट्रिट लाइट जडान गरिएको छ। अहिले फिदिम बजारको मुहार फेरिएको छ भने अपराध नियन्त्रणमा सहयोग पुगेको छ। बजार क्षेत्रमा गाडीका नम्बर पढ्न सकिने गरी अत्याधुनिक सिसी क्यामरा जडान भएका छन्। अस्पतालमा व्यवस्थित पार्क निर्माण गरिएको छ। कुनै पनि नागरिक गाँस, बास र कपास जस्ता आधारभूत आवश्यकताबाट वञ्चित नहोऊन् भन्ने हाम्रो उद्देस्य हो । गत आर्थिक वर्ष २०७९/८० मा १६८ परिवारलाई घर छाउन जस्तापाता उपलब्ध गरायौँ । चालु आवमा थप १४० परिवारलाई घर बनाइदिने गरी बजेट व्यवस्थापन गरेका छौँ । विपन्न लक्षित बङ्गुर पकेट क्षेत्र पनि अर्को उदाहरण हो । जनप्रतिनिधिले पाउने भत्तासहित कुनै किसिमको आर्थिक लाभ नलिने घोषणा मैले निर्वाचनताका गरेको थिएँ । त्यही अनुरूप मैले प्राप्त गर्ने तलबभत्ताबापतको रकम छुट्टै खाता खोलेर कोषमा जम्मा गरेको छु । सो रकम हातमुख जोर्न र आङ ढाक्नै समस्या भएका नागरिकलाई गाँस, बास र कपासका लागि खर्च गरिँदै आएको छ । 

खेलकुद क्षेत्रको विकासका लागि के के गर्नुभएको छ ?

नगर क्षेत्रमा हुने सबै खाले खेलकुद गतिविधिमा नगरपालिकाले साझेदारी गर्दै आएको छ। विद्यालय तहमा राष्ट्रपति रनिङ सिल्ड हुँदै आएका प्रतियोगितामा सहभागिता, विधागत खेलकुद प्रतियोगिता व्यवस्थापनका लागि आर्थिक सहयोग गर्दै आएका छौँ। फिदिम माध्यमिक विद्यालयको खेलमैदान स्तरोन्नतिका लागि ठेक्का लिएका निर्माण व्यवसायीले काम अधुरो  छोडेकाले पाँच वर्षदेखि खेलकुद प्रतियोगितासँगै व्यापार र आर्थिक महोत्सव ठप्पप्रायः छन्। सङ्घीय सरकारको लगानीमा राष्ट्रिय खेलकुद परिषद्मार्फत निर्माण भइरहेको उक्त खेलमैदानको काम अगाडि बढाउन नगरपालिकाले दबाब दिएपछि काम सुरु भएको छ । आगामी वर्षमा खेलकुद क्षेत्रमा थप नवीनतम कार्यक्रम आउने छन् ।