• १६ वैशाख २०८१, आइतबार

चारजनाको हत्यामा संलग्न रहेको अभियोगमा भण्डारी पक्राउ

blog

चारजनाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका भण्डारीलाई सार्वजनिक गरिँदै ।

काठमाडौं, भदौ ३१  गते । काठमाडौं महानगरपालिका–३२ तिनकुनेस्थित दिव्या सः मिलभित्र धारिलो हतियार प्रयोग गरी ४ जनाको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन् । 

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ घर भई काठमाडौं काँडाघारी वीरेन्द्र चोक बस्ने २३ वर्षीय संजय भण्डारीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

उक्त सः मिलमा कामदारको रूपमा बस्दै आएका दोलखा कालिन्चोक गाउँपालिका–८ घर भएका ५६ वर्षीय कुमार भुजेल भन्ने पूर्ण बहादुर भुजेल, उनकै श्रीमती ५० वर्षीय अम्विका भुजेल, पूर्ण बहादुरकी आमा ७६ वर्षीया सुभद्रा भुजेल र धनकुटा भिरगाउँ गाउँपालिका–२ घर भई सोही मिलमा बस्ने १९ वर्षीय नबिन भन्ने विशाल राईसमेत ४ जना शुक्रबार राति धारिलो हतियार प्रहार भई हत्या भएको थियो । 

चारैजना मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले घटनामा संलग्न भण्डारीलाई काँडाघारी वीरेन्द्र चोकबाट पक्राउ गरेको हो ।

केही समय अगाडि विशालले चलाएको मोटरसाइकलले संजयलाई ठक्कर दिँदा उनीहरूबीच विवाद भएको र विशालले कुटपिट समेत गरेको रिसइबीका कारण विशाललाई भेट्छु, निहुँ खोज्यो भने छप्काई दिन्छु भन्दै खुकुरी बोकी मिलको पछाडि पट्टिको बन्द गेटबाट चढेर विशाल बसेको कोठाको सोफामा बसेको अवस्थामा विशालले किन यहाँ बसेको भन्दै कुटपिट गरेपछि संजयले रिस थाम्न नसकी खुकुरीले टाउकोमा प्रहार गरी हत्या गरेको र अन्य ३ जनालाई सो घटना बाहिर आउने डरले हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । 

साथै संजयको साथबाट घटनामा प्रयोग भएको १ थान खुकुरी प्रहरीले बरामद गरेको छ ।

प्रतिवादी भण्डारी जन्मजात बोल्न नसक्ने भएकाले घटना अनुसन्धान सम्बन्धमा सांकेतिक भाषा बिज्ञ झिकाई थप सोधपुछको क्रममा निजले आफूले सम्पूर्ण घट्ना एक्लै घटाएको स्वीकार गरेको र घटना सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान कार्य जारी रहेको छ ।