• ८ जेठ २०८१, मङ्गलबार

भारतलाई एसिया कप क्रिकेट उपाधि

blog

श्रीलंकालाई हराएपछि भारतका खेलाडी ।

काठमाडौं, भदौ ३१ गते । एसिसी एसिया कप क्रिकेट–२०२३ को उपाधि भारतले जितेको छ । श्रीलंकाको आर प्रेमदासा स्टेडियममा आइतबार भएको फाइलमा भारतले घरेलु टोली श्रीलंकालाई १० विकेटले हरायो ।

भारतको यो आठौं एसिया कप उपाधि हो । यसअघि भारत सात पटक च्याम्पियन बनेको थियो । भारतले यसअघि सन् १९८४, १९८८, १९९०-९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो ।

जितका लागि श्रीलंकाले दिएको ५१ रनको लक्ष्य पछ्याएको भारतले ६.१ ओभरका लक्ष्य पूरा गरेको हो । भारतका लागि ओपनरद्वय शुभमन गिलले २७ र ईशान किशनले २३ रन बनाउनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका भारतका तीब्र गतिका बलर मोहम्मद शिराजको घातक बलिङमा निरिह बनेको थियो ।  श्रीलंका १५.२ ओभरमा सबै विकेटको क्षतिमा ५० रनमा समेटिएको थियो। श्रीलंकाका कुशल मेन्डिसले सर्वाधिक १७ र दुसान हेमान्थाले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन जोड्न सकेनन् । 

श्रीलंकाको यो एकदिवसीय क्रिकेटमा दोस्रो कम योगफल हो । यसअघि श्रीलंका २०१२ मा दक्षिण अफ्रिकासँग ४३ रनमा अल आउट भएको थियो । एकदिवसीयमा सर्वाधिक कम योगफल भने जिम्बाबे र अमेरिका ३५ रनमा आउट भएको इतिहास छ । सन् २००४ मा जिम्बाबे श्रीलंकासँग ३५ रनमा र सन् २०२० मा अमेरिका नेपालसँग ३५ रनमा अल आउट भएको थियो । 

बलिङमा भारतका मोहम्मद शिराजले सात ओभरमा एक मेडनसहित २१ रन खर्चिएर ६ विकेट लिनुभयो । हार्दिक पाण्डेयले तीन तथा जस्प्रित बुमराहले एक विकेट लिनुभयो । एजेन्सी 

भारत–११

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, हार्दिक पाण्डेय, लोकेश राहुल, ईशान किशन, रविन्द्र जडेजा, कुलदीप यादव, वासिन्टन सुन्दर, जस्प्रित बुमराह र मोहम्मद शिराज ।

श्रीलंका–११ 

दासुन शानका (कप्तान) पाथुम निसांका, कुशल परेरा, कुशल मेन्डिस (विकेटकिपर), सदिरा समाराविक्रमा, चरिथ असलंका, धनन्जय डि सिल्भा, दुनिथ वेलालागे, दुशान हेमान्था, प्रमोद मदुशान र मथिशा पाथिराना ।