काठमाडौं, भदौ ३१ गते । सरकारले दसैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले दुई/चार दिनभित्रै चाड पर्वलाई लक्षित गरेर सो पसल सञ्चालनमा ल्याउन लागिएको बताउनुभएको हो ।
आइतबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले मूल्यवृद्धिका मारमा परेका उपभोक्तालाई राहत पनि हुने भएकाले सो पसल खोल्ने निर्णय भइसकेको जानकारी समेत दिनुभयो ।
असोज १ गतेदेखि नै सो पसल सञ्चालनमा ल्याउने निर्णय भए पनि आयात सम्बन्धी अन्य विषयका कारण केही ढिलाइ हुन जाने देखिएको पनि सचिव मरासिनीले बताउनुभयो । उहाँले खुला बजार भएका कारण आम उपभोक्ताहरूले पनि सचेत भएर वस्तुको खरिदबिक्री गर्नुपर्ने अवस्था रहेको पनि जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘हामी दुई/चार दिन भित्रै गर्छौँ । खासमा चाहिँ असोज १ गतेदेखि नै गर्ने भनेका छौँ । यसमा हाम्रो डिसिजन भइसकेको छ । हामीले दसैँ बजार लक्षित चाहिँ पसल खोल्छौँ । त्यो खोलिसकेपछि पनि मूल्य वृद्धिलाई त्यसले पनि काउन्टर दिन्छ । कतिपय अवस्थामा यो इम्पोटरहरुले भारत बाहेक देशहरूबाट पनि बस्तुहरू आयात गर्न सक्छन् । राष्ट्र बैङ्कसँग अनुमति लिएर यो काम हुन्छ ।’’
सचिव मरासिनीले कालो बजारी हुन नदिनका लागि सरकारले अनुगमनको कामलाई तीव्रता दिने र दोषी भेटिए कारबाही गर्ने पनि बताउनुभयो । उपभोक्ता सचेत भए मूल्यवृद्धिमा मारमा पर्ने अवस्था नरहेको उहाँको भनाइ छ ।