तिलाचन पाण्डे
तम्घास, भदौ ३१ गते । गुल्मीमा पाँच महिनाअघि निर्माण सकिएको पार्क अझै हस्तान्तरण हुन सकेको छैन। निर्माण व्यवसायीले भुक्तानी नपाउँदा पार्क हस्तान्तरण हुन सकेको छैन। गुल्मीको रेसुङ्गालाई पर्यटकीय क्षेत्रका रूपमा थप टेवा पुग्ने भन्दै गडजुरामा पाँच करोड ५९ लाख रुपियाँको लागतमा रेसुङ्गा पार्क निर्माण गरिएको हो। ८३ रोपनी क्षेत्रफलमा फैलिएको पार्क निर्माणको सम्झौता २०७८ साल कात्तिकमा रेसुङ्गा नगरपालिका र धुलिखेल अर्जुन न्यु लिजा जेभीबिच भएको थियो। विसं २०७९ चैतमा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। निर्माण व्यवसायीले सम्झौताअघि नै निर्माण सके पनि पूरै भुक्तानी नपाएकाले हस्तान्तरण हुन नसकेको हो ।
निर्माण व्यवसायीले हालसम्म तीन करोड ३० लाख रुपियाँ भुक्तानी लिएको छ। निर्माण व्यवसायी महेन्द्र घिमिरेले बाँकी दुई करोड २९ लाख रुपियाँ भुक्तानी लिन बाँकी रहेको बताउनुभयो।
आफूले निर्माणका लागि तोकिएको समयभन्दा एक महिनापहिले नै काम सम्पन्न गरे पनि सम्झौता अनुसारको रकम भुक्तानी हुन नसक्दा मर्कामा परेको घिमिरेले गुनासो गर्नुभयो। अन्य योजनामा निर्माण व्यवसायीले समयमा काम सम्पन्न गरेनन् भनेर आरोप लाग्ने तर समयभन्दा अगाडि काम सम्पन्न गर्दा पनि भुक्तानी नपाएर भौँतारिँदै हिँड्नुपर्ने अवस्था आएको घिमिरेको भनाइ छ।
नगरपालिकाका योजना अधिकृत विनोद मरासिनीले सङ्घीय सरकारको ६० र नगरपालिकाको ४० प्रतिशत लगानीमा पार्क निर्माण गरिएको जानकारी दिनुभयो। सङ्घीय सरकारबाट आउनुपर्ने रकम नआएका कारण निर्माण व्यवसायीलाई भुक्तानी गर्न नसकिएको मरासिनीको भनाइ छ। उहाँले नगरपालिकाले ४० प्रतिशत रकम निर्माण व्यवसायीलाई भुक्तानी गरिसकिएको जानकारी दिनुभयो। उहाँका अनुसार नगर प्रमुख अहिले सोही कामका लागि काठमाडौँमा भएको र रकम स्वीकृत भएको भन्ने सूचना आएकाले केही दिनभित्रैमा रकम भुक्तानी हुने र पार्क हस्तान्तरण हुने उहाँको दाबी छ। पार्क हस्तान्तरण भएपछि कुनै निजी संस्थालाई टेन्डर गरी सञ्चालन गर्न दिने योजना बनाएको मरासिनीले बताउनुभयो । पार्कमा भ्युटावर, बाल उद्यान, हरियाली दुबो, पोखरी, मनोरञ्जनका साधन राखिएको छ ।