रमेश विकल रवि चालिसेको नामबाट चित्रको सिर्जना गर्नु हुन्थ्यो। उहाँको खास नाउँ रामेश्वर शर्मा चालिसे हो। उहाँले साहित्यमा अलग्गै, कलामा अलग्गै नाम राख्नुभएको थियो। उहाँ धेरै वटा वाद्यवादनमा पनि पारङ्गत हुनुहुन्थ्यो।
भनिन्छ, उहाँ हार्मोनियम, बाँसुरी, भायोलिन, सितार र तबलामा पारङ्गत हुनुहुन्थ्यो। आफँैले लेखेका थुप्रै नाटकमा पनि निर्देशन गर्नुहुन्थ्यो। नाटक र सङ्गीतमा चाहिँ के नामले उहाँलाई पुकारिन्थ्यो, कतै अभिलेखन भएको देखिँदैन तर त्यस बखत धेरै नाम राख्ने प्रचलन थियो। हरेक जसो विधामा समान दक्षता राख्नुहुने विकलले मूलतः साहित्यमा चाहिँ महारथ नै हासिल गर्नुभएको थियो।
धेरै समयसम्म उहाँको कलाको भने चर्चा हुन पाएन। कलाको चर्चा गर्ने अहिले पनि खासै चलन चाहिँ छैन। उहाँका कथा, उपन्यास आदि साहित्यिक फाँटको विशाल धरोहरलाई कलाका साथ जोडेर चर्चा परिचर्चा हुन पाएको भए यसले एउटा अलग्गै इतिहास खडा हुन सक्थ्यो होला। विदेशमा यस्ता प्रशस्त उदाहरण छन्।
सन् १९५० मा शारदा पत्रिकामा पहिलो लघुकथा ‘गरिब’ प्रकाशन गरी साहित्यिक क्षेत्रमा पदार्पण गर्नुभएका विकलका अनगिन्ती यथार्थपरक कथा र उपन्यास छन्। अहिले उहाँका छोरा विजय चालिसे, स्वयं सिद्धहस्त साहित्यकार हुनुहुन्छ, उहाँकै सक्रियतामा ‘रमेश विकल साहित्य प्रतिष्ठान’ स्थापना भएको छ। प्रतिष्ठित साहित्यकार रोचक घिमिरेले अगुवाइ गरिरहनुभएको यो संस्थाले साहित्यका थुप्रै कार्यक्रमसमेत गरिसकेको छ। आउँदा दिनहरूमा रमेश विकलको यो कलाको पाटोलाई विश्लेषणत्मक अभिलेखनमा कस्तो प्रकारले ल्याउने छ, यो चाहिँ हेर्न बाँकी नै छ।
आधारभूत संरचना निर्माण भइसकेको यो प्रतिष्ठानमा उहाँका बारेमा धेरै वस्तु (कलासहित) सङ्गृहित र प्रदर्शित छन्। यसैबाट पनि उहाँबारे धेरै कुरा थाहा लाग्दछ। सङ्गीतमा पनि त्यत्तिकै लगाव राख्नुहुने विकल कलाकारको नजिक हुन पुग्दा कलाहरू बढी मात्रामा सिर्जना हुन गएको देखिन्छ। नखुलेका, खुल्न नसकेका कला, सङ्गीत वा अन्य विधाका फाँटहरू बिस्तारै बिस्तारै खुल्दै जाला।
कलाको सन्दर्भमा उहाँबारे थोरै अभिलेखन भएको छ। धेरै खोजखबर भएको देखिँदैन। धेरै कुरा स्पष्ट छैनन्। तथापि उहाँ स्वअध्ययनबाट नै कला सिर्जना गर्न थाल्नुभएको कुरा स्पष्ट देखिन्छ। सुरुमा मूर्धन्य कलाकार आनन्दमुनि शाक्य र चन्द्रमान सिंहको सम्पर्कमा उहाँ पुग्नुभयो। थोरबहुत उहाँहरू जस्ता कलाका महारथीबाट केही सिक्नु पनि भयो होला तर शाक्य र सिंहको कलागत शैलीले थोरै पनि प्रभाव पारेको चाहिँ देखिँदैन। यसपछि गोविन्दनारायण ज्यापूसँग उहाँ सम्पर्कमा पुग्नुभयो। पछिल्लो कालमा भने कलाकार केके कर्माचार्यबाट कलाका आधारभूत कुरा सिक्नु भयो। यो कुरो उहाँका कलागत शैली हेरेर चाल पाइन्छ। उहाँको रेखाचित्रबाट यो कुरा अझ स्पष्ट झल्कन्छ।
मूलतः रवि चालिसेका कला तीन विधामा उपलब्ध छन्। व्यक्तिचित्र, दृश्यचित्र अनि क्युक स्केचका रूपमा हालसम्म उपलब्ध भएका चित्र। चित्रकलाको यी तीन वटै उपविधालाई तुलनात्मक रूपमा हेर्दा क्युक स्केचको पाटो अझ सबल भएर देखा पर्दछ। कुनै कुनै क्युक स्केच त शक्तिशाली रेखाहरूको बनोटले निकै अब्बल पनि छन्।
जीवनकालमै रवि चालिसेका चित्र कहिल्यै सार्वजनिक भएको देखिएन। देहावसान भएको लगभग छ वर्षपछि मात्र उहाँका चित्र सार्वजनिक हुन पुगे। यी चित्रमा झट्ट हेर्दा उहाँका भावना बढी मात्रमा उद्वेलित भएर पोखिएका छन्। त्यसै पनि मनका भावलाई ओल्टाइपल्टाई गरेर अक्षरसँग खेलिबस्ने विकल कलामा रवि भएर उदाउँदा पनि उहाँको यो रहर सेलाएको देखिँदैन। उहाँ पूर्णतः अभिव्यञ्जनावादी कलाकार होइन, यथार्थवादी कलाकार पनि होइन।
यथार्थ र नैसर्गिक रूपमा दृश्यचित्र वा व्यक्तिचित्र बनाउँदा बनाउँदै अलि अस्वाभाविक बन्न जाँदा अलिकति स्वैर काल्पनिकता, अलिकति अभिव्यञ्जना अनि थोरै प्रभाववादी जस्ता देखा परेका हुन्। यसर्थ उहाँको कलाबारे भन्नु पर्दा उहाँको आफ्नै पाराको ‘युनिक’ कलागत शैली छ भन्दा बढी उपयुक्त हुन जान्छ।
उहाँको कलाको खास विशेषता भनेको गहन संलग्नता र ठोस अवधारणका साथ कलालाई पस्कने क्रममा भएको स्वस्फूर्त उपज हो। उहाँका दृश्यचित्रहरू (जनजीवनका चित्रहरू) मा रूपहरू राम्रासँग मिल्दा नमिल्दै पनि समष्टिगत रूपमा चित्रपटमा देखिएको संयोजन, पात्रहरूबिच रहेको सङ्गठित प्रस्तुति आदिमा भने उहाँको पकड राम्रो देखा पर्दछ। यसैले यस बेला थोरै रूपमा भए पनि उहाँका यही सोच, परिकल्पना र कला शिल्पीलाई टटोल्न ज्यादा सान्दर्भिक पनि देखिन्छ।
पहिलो एकल कला प्रदर्शनी उहाँको देहावसान भएको झन्डै छ वर्षपछि अर्थात् सन् २०१४, मार्च ९ देखि १४ सम्म नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको कलादीर्घामा भएको थियो। उहाँको जन्म चाहिँ सन् १९२८, नोभेम्बर १४ मा काठमाडौँको आरुबारीमा भएको थियो। देहावसान चाहिँ सन् २००८ मा भएको थियो। सीता भवनको त्यो विशाल कक्षमा भएको त्यस बखतको उहाँको चित्र प्रदर्शनी धेरै भावकले मात्र अवलोकन गरेका थिएनन्, एउटा ऐतिहासिक कला प्रदर्शनीको रूप पनि बन्न गएको थियो तर त्यसै बखत उहाँका कलाबारे खासै चर्चा परिचर्चा हुन पाएन।
यहाँ प्रदर्शित व्यक्तिचित्रहरू ‘कपी वर्क’ नै हुन् कि त काल्पनिक हुन् तर बढो रमाइलो ढङ्गले अर्कै पाराको चरित्र र विशेषताहरू पनि परिलक्षित भएका देखिन्छन्। मधुरो–धमिलो स्पष्ट नभएको जस्तो, नपारेको जस्तो देखिँदामा उहाँका चित्रहरू भाव र भावना मात्र छन् जस्तो देखिन्छ। यसो भने होइन, सर्जकको निष्कपट, स्वच्छ सफा मनको कल्पना गर्दा चाहिँ कलाभित्र रहेको शिल्प रचना, प्रविधि र रङको बहाव धेरै कुरा छन्। यसलाई अलि गहिरिएर हेर्नैपर्ने हुन्छ। यसरी उहाँका चित्रहरू हेर्दा कला इतिहासले बोकेको एउटा निश्चित कालखण्डको सम्झना आउँछ।
विश्वकला इतिहासमा उन्नाइसौँ शताब्दीतिर थोरै प्रयोगात्मक कला देखिन थालेको थियो। अलिकति कलाकार स्वयं स्वतन्त्र हुन खोज्नु, सामाजिक मान्यता थोरै भए पनि भत्काउन खोज्नु, आफ्नो एक अलग्ग पहिचान खोज्नु जस्ता सोच, अवधारणा विकसित हुँदा कलाको रूप अलि फरक ढङ्गबाट देखिन गएको थियो।
यो आधुनिक कलाको पूर्वसन्ध्या पनि थियो। यस बेलाका कलाहरू कलाका रूपलाई यसरी नै धमिल्याउँदै, रूपहरूलाई भाँच्दै, अपूरो बनाए जस्तो गर्दै, रेखा र रङलाई पनि हल्का प्रकारले पोती कलाको सिर्जना गर्ने गर्दथे। बाह्य चर्मचक्षुले देखिने परिदृश्यलाई छोड्दै अन्तरमनका भावलाई उजिल्याउने कोसिस यस बेलाको कलाकारमा थियो। नभन्दै यसको केही समयपछि आधुनिक कलाको जन्म पनि हुन गएको देखिन्छ। यही पूर्वसन्ध्याको कलाको प्रकृतिलाई रवि चालिसेका चित्रमा भेट्न सकिन्छ ।
उदाहरणका लागि उहाँको एउटा व्यक्तिचित्रलाई नै लिऊँ न – एउटा बाबाजी जस्तो देखिने व्यक्तिको चित्र छ, जुन सुरु भएर सकिएको जस्तो पनि देखिँदैन। सेता सेता आँखा, जुन स्वभावतः नैसर्गिक होइन, गम्भीर भाव र दुःखले भरिएको मन, चोटको आहत खपेर मौन हुन परेको मुखाकृति आदि भावकले स्पष्ट अनुभव गर्न सक्छन्। यस्तै थुप्रै व्यक्तिचित्र उहाँबाट सिर्जना भएका देखिन्छन्।
पहेँलपुर वस्त्रका साथ ध्यानी साधु, जनजातिको स्वरूप आउने गरी विशेष खालको सुहाउँदो गरगहनाका साथ बनाइएका महिला, आँखा चिम्म गरेर ध्यानमा बसेकी बाहुनी थरकी महिला, उनको पहिरन र पहिचान झल्कने गरी बनाइएका महिलाको चित्रले कसैलाई काखा र कसैलाई पाखा बनाउने उहाँमा सोच देखिँदैन।
ढाका टोपी लगाएको पुरुष, सम्भ्रान्त महिला आदि कसैलाई पनि नछुटाएर बराबरीको हिसाबमा उहाँले विषयको चयन गरेको देखिन्छ। उहाँले सोची सम्झी यस्ता चित्र बनाउनुले उहाँको सोच र अवधारणामाथि गौरव नै गर्नुपर्ने हुन्छ। दृश्यचित्रमा पनि यसरी नै विविधता छाएको देखिन्छ।
दृश्यचित्रमा रुखहरू बन्दै गर्दा पनि यसैबिच महिला केटाकेटी उहाँको मनको उपजलाई, भावनालाई समायोजन गरेका छन्। कतै नेपाली घरहरू, विकट पहाडमा देखिने दिनचर्या, सुनसान तर सौन्दर्यको अद्भुत हुन पुगेका हरिया पहाड, निला नदीनाला, ढुङ्गा, बगर, खहरे खोला, हिमाल, जलासय, नाउ आदि सबै जसो अवयवलाई समेट्ने उहाँको लालसाले गर्दा पनि उहाँका दृश्यचित्रमा समेत विविधता देखिन्छ। यही सरलता, सहजता र विविधता नै उहाँको कलाको मूल विशेषता हो।