• १३ साउन २०८१, आइतबार

अछामका सीमा नाकाहरुमा रोकिए विदेशी पर्यटक

blog

सीमामा रोकिएका विदेशी पर्यटक ।

शिवराज ढुंगाना 

मंगलसेन, भदौ २९ गते । पर्यटकीय क्षेत्र रामारोशनमा लामो अवधिसम्म बस्ने अनुमति नभएपछि विदेशीलाई अछामका विभिन्न नाकामा रोकिएको छ । अनुमति नआउँदासम्म अछाम प्रवेश गर्ने मुख्य नाका चौखुट्टे, बेलखेत र अछाम प्रवेश गरिसकेकालाई रामारोशन, जयगढमा रोकिएको छ ।  

विभिन्न देशबाट रामारोशनका लागि आएका १४ जनालाई अछाम प्रवेश गर्ने पश्चिमी नाका चौखुट्टेमा प्रहरीले रोकेको छ । यस्तै, पूर्वी नाका बेलखेतमा बिहीबारबाट पाँच भारतीय र बाँकी अन्य देशका मानिसलाई अछाम प्रहरीले जिल्ला प्रवेश गर्न दिएको छैन । 

जिल्ला प्रशासन कार्यालय र अछाम प्रहरीले आधिकारीक निकायबाट विदेशीलाई रामारोशनमा एक महिना बस्ने अनुमति खोजिरहेको छ । विभिन्न देशका गरेर दुई हजार जना विदेशी रामारोशनमा पुग्ने भनिएपछि स्थानीय प्रशासनले त्यसको आधिकारिकता खोजेर विदेशीलाई रोकेको हो । 

४० जना भन्दा बढी विभिन्न देशका व्यक्तिहरु भने रामारोशन पुगिसकेको बताइएको छ । इजरायल, क्यानडा, स्पेन, अमेरिका, थाइल्याण्ड, स्वीडेन, रसिया, भारत, जर्मन साउथ कोरिया, अष्ट्रेलिया लगायतका देशबाट पर्यटक आएका छन् ।

आइतबार रामारोशनमा पुगिसकेका केही विदेशीलाई बुझ्दा दुई हजारभन्दा बढी व्यक्ति रामारोशन पुग्ने भनेपछि स्थानीय प्रशासनले त्यसको आधिकारिता खोजेको छ । उनीहरुले रामारोशनमा घुम्ने, गीत गाउने, बाजा बजाउने, योग, ध्यान गर्ने भनेको सुरक्षा निकायको भनाइ छ । 

प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार विभिन्न देशका ठूलो संख्यामा विदेशी आएर महिना दिन बस्ने भन्ने सूचना आफूले पाएको जानकारी दिनुभयो । “दुई हजारभन्दा बढी विदेशी एक महिनासम्म रामारोशनमा बस्ने भन्ने कुरा आएको छ ।” प्रजिअ पोखरेलले भन्नुभयो । 

विदेशीलाई त्यहाँ महिना दिन बस्ने अनुमति नभएका कारण नाकामा रोकिएको बताइएको छ । “जंगलको ठाउँ छ, त्यति ठूलो संख्यालाई सुरक्षाको कुरा पनि उठ्छ, त्यसैले हामीले आधिकारिकता खोजेका हौं” प्रजिअ पोखरेलले भन्नुभयो । जिल्ला प्रशासन कार्यालयले रामारोशन गाउँपालिकालाई लिखित जानकारी मागेकोमा कुनै निकायबाट अनुमति नलिएको भन्दै गाउँपालिकाले पत्र पठाएको छ । 

विना जानकारी एकै पटक धेरै विदेशी आएकाले आफूहरुले सुदूरपश्चिम प्रदेशको सम्बन्धित मन्त्रालयसँग समन्वय गरिरहेको रामारोशन पर्यटन विकास समिति, अछामका कार्यकारी निर्देशक गंगा कुँवर बुढाले जानकारी दिनुभयो । “आवश्यक समन्वय गर्न र सुरक्षाका लागि स्थानीय प्रशासनमा निर्देशन गरिदिन भनेर हामीले प्रदेशलाई पत्र पठाएका छौं, के आउँछ हामी कुरिरहेका छौं” बुढाले भन्नुभयो । 

रामारोशनमा ध्यान, योग र रमाइलोका लागि विभिन्न देशका व्यक्ति आएको भन्ने आफूले जानकारी पाएको गाउँपालिका अध्यक्ष मानबहादुर साउदले बताउनुभयो ।  विदेशीको आधिकारिकताका लागि सुदूरपश्चिम सरकार र रामारोशन पर्यटन विकास समितिसँग आफ्नो समन्वय भइरहेको अध्यक्ष साउदको भनाइ छ । रामारोशन क्षेत्रमा पुगिसकेका विदेशीहरु भने खुला ठाउँमा त्रिपाल टाँगेर र स्थानीय खर्कमा बसिररहेका छन् ।