काठमाडौं, भदौ २९ गते। नेकपा(एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्रीको चीन भ्रमणमा नेपाल–चीन विद्युत व्यापारको विषयमा छलफल गर्नुपर्ने बताउनुभएको छ। शुक्रबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले नेपालको विद्युत व्यापार भारतसँग निर्भर रहँदा भारतले दबाबमा राख्नसक्ने भन्दै चीनसँग पनि व्यापार गर्नुपर्ने बताउनुभयो।
उहाँले चीनसँग विद्युत व्यापार गर्ने सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डको भ्रमणको बेलामा छलफल गर्नुपर्ने बताउनुभयो। त्यस्तै बिआरआई परियोजनालाई पनि अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो। उहाँले प्रधानमन्त्रीले अमेरिका हुँदै चीन जानु उपयुक्त नहुने पनि बताउनुभयो। त्यसैगरी चीनसँग ३/४ वटा नाका खोल्नुपर्ने पनि उहाँले बताउनु भयो।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भ्रमणका बेलामा प्रधानमन्त्रीले देशको राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमिकतालाई असर नगर्ने गरी काम गर्नुपर्ने बताउनुभयो। उहाँले नेपाली भूमिको सम्बन्धमा पनि कूटनीतिक रूपमा स्पष्ट रूपमा कुरा गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्रीको भ्रमणपछि तेल र रेलको समस्या समाधान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, ‘‘देशको राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमिकतालाई असर नगर्ने गरी राम्रो काम गर्नुहोस्। कोहीसँग हाम्रो सम्बन्ध मित्रराष्ट्रसँग यो सँग र त्यो सँग ढल्किने र पल्किने काम गर्नु हुँदैन हामीले भनेकै छौँ। हामी सबैसँग मिलेर काम गर्न चाहन्छौँ। भ्रमण गर्दाखेरी नेपाललाई हित हुने कामका लागि राम्रो गरेर आउनुस् भन्ने सुझाव दिएका छौँ। प्रधानमन्त्रीले कूटनीतिक रूपमा यो हाम्रो भूमिका बारेमा भारत र चीनसँग पनि संवाद गरेर नेपालको भूमिका बारेमा स्पष्ट कुरा गर्नु हुनेछ। भारतजाँदा तेलको कुरा गर्ने, चीन जाँदा रेलको कुरा गर्ने प्रधानमन्त्री थिए। तेलको पनि, रेलको पनि सबै समस्या समाधान हुनेगरी प्रधानमन्त्रीले कुरा गरेर आउनु हुनेछ भन्ने विश्वास लिएका छौँ।’
नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले प्रधानमन्त्रीले यस भ्रमणका क्रममा नेपाल–चीन नाका खोल्ने विषयमा निर्णय हुने बताउनुभयो। उहाँले व्यापारको विषयमा पनि छलफल हुने बताउनुभयो। त्यस्तै देशको राष्ट्रियतालाई ख्याल गर्दै अन्य छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धलाई पनि सुमधुर, सन्तुलित रूपमा राख्ने हिसाबले चिनियाँ पक्षसँग छलफल र सम्झौता हुने बताउनुभयो।
उहाँले भन्नुभयो – ‘चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउनु भएको बेलामा हामीले नाका खोल्ने बारेमा, व्यापारको बारेमा, केही ठुलाठालु परियोजनाको बारेमा २० बुँदे हस्ताक्षर भएको थियो। उहाँहरूको पनि चासोको विषय भनेको बिआरआई परियोजना हो। हाम्रो देशको राष्ट्रियतालाई पनि ख्याल पुर्याउँदै अरु छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धलाई पनि सुमधुर, सन्तुलित रूपमा राख्ने हिसाबले चिनियाँ पक्षसँग यसपटकको भ्रमणको बेलामा महत्वपूर्ण विषयमा छलफल हुनेछ। व्यापार, साझेदारको विषयमा गम्भीर छलफल भएर निर्णय हुने आशा गर्न सकिन्छ।’’
त्यस्तै नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीको चीन भ्रमणको बेलामा सीमा सम्बन्धी समस्या समाधान गर्ने विषयमा पनि छलफल हुने बताउनुभयो। नेपालको चुच्चे नक्साको सन्दर्भमा पनि चिनियाँ पक्षसँग छलफल हुने र प्रधानमन्त्रीले उनीहरूलाई सो कुराको बोध गराउने उहाँले बताउनुभयो।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीलाई नेपालको चुच्चे नक्साको कुरा नटुङ्ग्याई चीन भ्रमण नजान सुझाव दिनुभयो। उहाँले हङकङ ट्रान्जिटमा नेपाल एयरलाइन्सले प्यासेन्जर बोक्न नपाएको भन्दै सो समस्या समाधान गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो।
सांसद शाहीले हङकङस्थित महावाणिज्य दूतावासले धेरै रकम कोठाभाडा बापत तिर्नुपरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो।