• ३० वैशाख २०८२, मङ्गलबार

सहिद र बेपत्ता परिवारको घरघरमा पुगे माओवादी

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पार्टीको तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको शुभारम्भ गर्नुहुँदै । फाइल तस्विर ।

सिराज खान 

नेपालगन्ज, भदौ २९ गते । नेकपा माओवादी केन्द्रले ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ भन्ने मूल नाराका साथ सुरु गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत विभिन्न कार्यक्रम बाँकेमा पनि चलिरहेको छ । 

माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्रप्रसाद पाण्डेका अनुसार भदौ १६ गतेदेखि जिल्लाका ८१ वटै वडाबाट सुरु गरिएको सो अभियान अन्तर्गत वडाहरूमा विभिन्न कार्यक्रमहरू भइरहेका छन् । उहाँले सो अभियान अन्तर्गत अहिले सहिद र बेपत्ता परिवारका घरघरमा पुगेर भेट्ने तथा अभियानमा जोड्ने कार्य तीव्र गतिमा चलिरहेको जनाउँदै सहिद र बेपत्ता परिवारसँग अन्तरक्रिया भइरहेको बताउनुभयो । 

संयोजक पाण्डेका अनुसार जिल्लाका विभिन्न स्थानमा रहेका सहिद परिवार र बेपत्ताका परिवारको सुखदुख सुन्ने र उनीहरूको समस्या समाधान गरेर अगाडी बढ्ने कार्य अहिले भइरहेको छ । माओवादी केन्द्र बाँकेका सचिव डिल्ली बरालले विभिन्न कारणले विगतमा सहिद र बेपत्ता परिवारसँग नियमित जोड्न नसकिएकोमा अहिले उहाँहरूको घरघरमा पुग्दा उहाँहरूले भव्य स्वागत गरेर दुखसुख बाँडिरहेको बताउनुभयो । 

बेपत्ता परिवारले बेपत्ता भएकाहरूको बारेमा अन्तिम जानकारी गराउनु पर्ने माग पनि गरेका छन् । सोही प्रकारले अहिले तीजको समय रहेकोले माओवादी निकट महिला सङ्गठनहरू र जनसांस्कृतिक महासङ्घले अभियान अन्तर्गत नै वडादेखि पालिकासम्मको सम्मेलन र तीज मिलन कार्यक्रमहरू गरिरहेका छन् । 

माओवादी केन्द्र बाँकेका संयोजक पाण्डेले रूपान्तरण अभियानकै क्रममा हालसम्म माओवादी छोडेर विभिन्न पार्टीमा गएका तथा अन्य गरेर २०० भन्दा बढीले माओवादीमा प्रवेश गरेको बताउनुभयो। उहाँले अहिले टोल-टोल र वडा-वडामा विभिन्न जनवर्गिय सङ्गठनको प्रशिक्षण तथा भेलाहरू भइरहेको बताउनुभयो । 

रूपान्तरण अभियानका लागि बाँकेको इन्चार्ज बनाएर पठाइनुभएका लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुल बहादुर केसीले रूपान्तरण अभियान बाँकेमा निकै उत्साहजनक तरिकाले चलिरहेको जनाउँदै यो अभियानले यहाँ पार्टीलाई धेरै बलियो बनाउने देखिएको बताउनुभयो । 

यसअघि अभियान सफल पार्नका लागि जिल्लाको विस्तारित बैठक, पालिकाका बैठकहरू तथा विभिन्न जनवर्गिय सङ्गठनका बैठक र भेलाहरू आयोजना गरेर प्रशिक्षण दिने कार्य पुरा गरिसकिएको माओवादी केन्द्र बाँकेले जनाएको छ । अभियानको नेतृत्व गर्नका लागि माओवादी केन्द्रले बाँकेको कोहलपुरमा केन्द्रीय सदस्य दामा शर्मा, नेपालगन्जमा लुम्बिनीका पूर्वमुख्यमन्त्री कुल बहादुर केसी र जिल्ला संयोजक नरेन्द्र पाण्डे, बैजनाथमा केन्द्रीय सदस्य सन्त कुमार चौधरी, राप्तीसोनारीमा प्रदेश उपाध्यक्ष दुर्गा चौधरी र नरैनापुरमा सल्लाहकार ओम प्रकाश सुवेदी चन्द्रकान्ता लगायतलाई खटाएको छ ।