• १३ साउन २०८१, आइतबार

मनासलु आरोहणका लागि दुई सय ६६ जनाले लिए अनुमति

blog

गुणबहादुर रोका

सुलीकोट, भदौ २९ गते । गोरखाको चुमनुब्री गाउँपालिका–१ मा रहेको सामागाउँमा रहेको मनासलु आरोहणका लागि दुई सय ६६ जनाले लिए अनुमति लिएका छन् । यो शरद ऋतुका लागि २३ समूहबाट २०८ जना पुरुष र ५८ जना महिलाले आरोहणको अनुमति लिएको पर्यटन विभागको तथ्याङ्क छ । 

हिमाल आरोहणको सिजन सुरु भएसँगै मनासलु बेसक्याम्पमा चहलपहल बढेको छ । मनासलु हिमालमा डोरी टाङने समूहले गत भदौ १३ गते विभागबाट अनुमति पाएपछि शरद ऋतुमा हिमाल आरोहीहरूका लागि अनुमति लिने बाटो खुलेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताउनुभयो । 

विभागका अनुसार मनासलु हिमाल आरोहणका लागि सलामी दस्तुरबाट मात्रै दुई करोड ९८ लाख रुपैयाँ राजश्व सङ्कलन भएको जनाएको छ । 

आरोहणको लागि कामदारहरू मनासलु बेस क्याम्प पुगिसकेको छन् । मनासलु चुचुरोमा डोरी टाङने काम सकेपछि आरोहण सुरु हुन्छ । आरोहण दलका सहयोगी र सदस्य बेसक्याम्प पुगेर टेन्ट टाँग्ने लगायत आरोहीलाई बस्ने ठाउँ बनाउन व्यस्त  छन् ।

८,१६३ मिटर उचाइको मनासलु किलर माउन्टेनको रूपमा पनि परिचित छ । चुमनुब्री गाउँपालिका – १ सामागाउँमा रहेको मनासलु आरोहणको लागि गत वर्ष पनि चार सय बढीले अनुमति पाएका थिए । यस वर्ष पनि शरद ऋतुका लागि अनुमति लिन आउने आरोहीहरू बिस्तारै बढ्ने बताइएको छ ।