लुम्बिनी प्रदेश ब्युरो
बुटवल, भदौ २८ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले भदौ १६ गतेदेखि सुरु गरेको तीनमहिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ लुम्बिनी प्रदेशमा जारी रहेको छ। नेकपा (माओवादी केन्द्र) का लुम्बिनी प्रदेश कमिटी अध्यक्ष सुदर्शन बरालका अनुसार प्रदेशका १२ वटै जिल्लामा रूपान्तरण अभियान जारी रहेको छ। नेताहरू गाउँ गाउँमा पुगेर जनतासँग छलफल गरिरहनुभएको छ। जनताका आधारभूत आवश्यकता र चाहना बुझ्ने काम भइरहेको छ।
घोराही समाचारदाताका अनुसार दाङमा जनतासँग सम्बन्ध विस्तार गर्ने अभियान अन्तर्गत हरेक वडामा पार्टीको बैठक बस्ने, सदस्यता नवीकरण गर्ने, नयाँ सदस्य थप्ने, पार्टीसँग रिसाएर बसेका नेता तथा कार्यकर्तालाई फर्काउने र सरकारी कार्यालयमा जनताको काममा सहजताका लागि सहजीकरण गर्नेलगायतका कार्य भइरहेका छन्।
नेकपा (माओवादी केन्द्र) दाङका सचिव विश्वराज आचार्यका अनुसार जनताका समस्या बुझ्ने र पार्टीप्रति आकर्षित गर्ने उद्देश्यले सुरु भएको अभियान प्रभावकारी बन्दै गएको छ। तीनमहिने अभियान अन्तर्गत गाउँ गाउँमा विकास निर्माणसँगै सरसफाइ र जनचेतनामूलक कार्य भइरहेका छन्। निर्वाचनपछि जनतासँग प्रत्यक्ष जोडिएर कुनै कार्यक्रम हुन सकेका थिएनन्। अहिले नेताहरू वडा वडामा खटिएर जनताका कुरा सुन्ने र पार्टी र सरकारले गरेका कामका बारेमा जनतालाई बुझाउने काम भइरहेका छन्। जसले गर्दा पार्टी र नेताप्रति जनतामा भएको भ्रमसमेत चिर्ने काम अभियानले गरेको छ। लामो समयपछि पार्टीले जनतासँग जोडिने अभियान चलाएपछि कार्यकर्तामा पनि खुसी छाएको घोराही उपमहानगरपालिका–१५ का प्रकाश चौधरीले बताउनुभयो। नेपालगन्ज समाचारदाताका अनुसार बाँकेमा पनि ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ विभिन्न कार्यक्रमसाथ चलिरहेको छ।
नेकपा (माओवादी केन्द्र) बाँकेका संयोजक नरेन्द्रप्रसाद पाण्डेले दिनुभएको जानकारी अनुसार भदौ १६ गते एकै पटक जिल्लाका ८१ वडाबाट सुरु गरिएको सो अभियान अन्तर्गत वडामा विभिन्न कार्यक्रम चलिरहेका छन्। तिजको समय रहेकाले माओवादी निकट महिला सङ्गठन र जनसांस्कृतिक महासङ्घले वडादेखि पालिकासम्मको सम्मेलन र तिज मिलन कार्यक्रम गरिरहेको छ। अभियान अन्तर्गत अहिले सहिद र बेपत्ता परिवारका घर घरमा पुगेर भेट्ने तथा अभियानमा जोड्ने कार्य तीव्र गतिमा चलिरहेको छ।
रुपन्देही समाचारदाताका अनुसार अभियान अन्तर्गत पार्टी नेता तथा कार्यकर्ताले रुपन्देहीका १६ वटै स्थानीय तहमा पुगेर जनतासँग छलफल अन्तव्रिर्mया गरिरहेका छन्। नेकपा (माओेवादी केन्द्र) का स्थायी कमिटी सदस्य गणेशमान पुनका अनुसार जनताका आधारभूत आवश्यकता र जनजीविकाका पक्षमा छलफल चलाइएको छ। युवाका न्यूनतम आवश्यकता, चाहना तथा एजेन्डाबारे पनि छलफल भइरहेका छन्। अभियान अन्र्तगत जनचाहना बुझ्ने र न्यूनतम आवश्यकताबारे अन्तव्रिर्mया गर्ने काम भइरहेको छ। पार्टीका रुपन्देही संयोजक निर्मल जिसीले रुपन्देहीका १५६ वडामध्ये १०२ वडामा छलफल अन्तर्वि्रmया भइसकेको छ। अर्घाखाँची समाचारदाताका अनुसार सङ्गठित कार्यकर्तादेखि केन्द्रीय सदस्यहरू आफ्नो जिम्मा लिएर गाउँमा सङ्गठन निर्माणमा व्यस्त भएका छन्। नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक राजेन्द्र भुसालका अनुसार जिल्लास्तरमा, पालिकास्तरमा र वडास्तरमा कार्यविभाजन गरी नेताहरू गाउँ छिरेका छन्। पार्टीका केन्द्रीय सदस्य गोविन्द केसीले रूपान्तरण अभियानपछि आएका गुनासालाई सम्बोधन गरी सुधारिएको माओवादी निर्माण गरिने बताउनुभयो।
तम्घास समाचारदाताका अनुसार नेकपा (माओवादी केन्द्र) को तीनमहिने विशेष रूपान्तरण अभियान गुल्मी जिल्लाको ९३ वटै वडामा सञ्चालन भएको छ। अभियानमा केन्द्रीय नेतासहित, प्रदेश र जिल्लाका नेताहरू ९३ वटै वडाका टोल टोलमा खटिएका छन्। नेकपा (माओवादी केन्द्र) गुल्मीका सचिव अशोक थापाका अनुसार दलका नेताहरू सहरकेन्द्रित हुने र जनताको समस्या नबुझ्ने आरोप लाग्ने गरेको समयमा अभियानले पार्टी र सरकारले गरेका कार्यका बारेमा जनताको प्रतिक्रिया लिने र सरकारले गरेका कार्यका बारेमा जनतालाई बुझाउने अवसर दिएको छ।
कपिलवस्तु समाचारदाताका अनुसार कपिलवस्तुको अभियान अन्तर्गत बैठक, भेला सम्पन्न भएका छन्। पार्टी स्थायी समिति सदस्य महेश्वरजङ्ग विश्वकर्माले रूपान्तरण अभियानले ग्रामीण क्षेत्रमा पार्टीले गरेका कामको प्रचार गरी जनमत बढाउन उल्लेखनीय भूमिका खेल्ने बताउनुभयो। नेकपा (माओवादी केन्द्र) कपिलवस्तु जिल्ला संयोजक विष्णु बेल्बासेले जिल्ला तथा नगरस्तरीय बैठक भेला सम्पन्न गरी वडा स्तरमा कार्यक्रम सञ्चालन भएको बताउनुभयो।
प्युठान समाचारदाताका अनुसार नेकपा (माओवादी केन्द्र) ले सुरु गरेको रूपान्तरण अभियानले जिल्लामा चहलपहल बढेको छ। जिल्लाका ६४ वटै वडामा तीनमहिने अभियान अन्तर्गतका कार्यक्रम प्रायः दैनिकजसो भइरहेका छन्। नेकपा (माओवादी केन्द्र) प्युठानका जिल्ला संयोजक नमराज अधिकारीले तीनमहिने कार्यक्रमले जिल्लामा पार्टी सदस्य ५० प्रतिशत वृद्धि गर्ने लक्ष्य रहेको बताउनुभयो।
तानसेन समाचारदाताका अनुसार पाल्पामा अभियान अन्तर्गत जिल्लाका १० वटै पालिका तथा ८१ वटै वडामा अभियान सञ्चालन भएको छ।
नेकपा (माओवादी केन्द्र) पाल्पाका संयोजक राजेन्द्र विश्वकर्माका अनुसार अभियान अन्तर्गत पार्टी कमिटीको बैठक बस्ने, जनतासँग श्रममा जोडिने, पार्टी सदस्य तथा शुभेच्छुकसँग भेटघाट र गुनासो सुन्ने काम भइरहेको छ। अभियानले माओवादीलाई नयाँ ऊर्जा मिल्ने र पार्टीको सङ्गठन मजबुत बन्ने पार्टीका नेताहरूले बताएका छन्। अभियान अन्तर्गत माओवादीका पार्टीको भ्रातृ तथा शुभेच्छुक सङ्गठनलाई चलायमान बनाउन सहयोग पुग्ने छ। नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्चार्ज कृष्णध्वज खड्काले भ्रष्टाचारविरुद्ध सरकारले चालेको अभियानलाई सशक्त बनाउन तीनमहिने अभियानले सहयोग पुग्ने बताउनुभयो।