गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २६ गते । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गए राति आकस्मिक निधन भएपछि पार्टी महासचिव शङ्कर पोखरेल नेतृत्वको टोली भ्रमणका सबै कार्यक्रम रद्द गरी आजै नेपाल फर्कने भएको छ । भदौ २८ गतेसम्म चीन भ्रमणमा रहको सो टोली आकस्मिक रूपमा आज फर्कन लागेको भ्रमण टोलीमा रहेका प्रेस चौतारी नेपालका उपाध्यक्ष राजेश राईले जानकारी दिनुभयो ।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा एमाले महासचिव पोखरेल नेतृत्वमा पार्टीका नेताहरूसहित टोली चीन भ्रमणमा रहेको छ । आज छिङहाईको सिनिङ हुँदै छेन्दु भएर नेपाल फर्किने कार्यक्रम रहेको राईले बताउनुभयो ।
भ्रमण टोलीमा एमाले नेताहरू राजेन्द्र गौतम, डा. राजन भट्टराई, निरज आचार्यलगायतको टोली चीनमा छ । टिकट पाएको अवस्थामा भ्रमण दलको सबै सदस्य आजै फर्किने निर्णय भएको नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले जानकारी दिनुभएको राईले बताउनुभयो । सबैको टिकट व्यवस्थापन नभएमा महासचिव पोखरेल एक्लै भए पनि फर्कनु हुने राईले बताउनुभयो । एमालेले आजै ११ बजे सचिवालय बैठक पनि बोलाएको छ ।