कपुरकोट गाउँपालिका तरकारीका लागि प्रख्यात छ। यहाँ बेमौसमी तरकारी खेती, जडीबुटी, फलफूल र मसलाबाली बृहत् रूपमा उत्पादन हुने गर्छ। कपुरकोटमा उत्पादित वस्तु बेच्न बजारको व्यवस्था र यातायातको पहुँच छ। कपुरकोट गाउँपालिका सल्यान, रोल्पा र दाङ जिल्लाको सङ्गमस्थल हो। कर्णाली प्रदेशको पूर्वी प्रवेशद्वार मात्र नभई लुम्बिनी प्रदेशको पूर्वी रुकुम र रोल्पा जोड्ने पालिकासमेत हो, कपुरकोट।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का तर्फबाट विजयी गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ, दुर्गाबहादुर पुन। प्रस्तुत छ, अध्यक्ष पुनसँग गोरखापत्रका सल्यान समाचारदाता प्रतीक इच्छुक शर्माले गर्नुभएको कुराकानी :
कपुरकोट गाउँपालिकाको अवसर र सम्भावना के के छन् ?
कपुरकोटलाई कृषि पर्यटन प्रवर्धनको सम्भावना र अवसरका रूपमा लिन सकिन्छ। बेमौसमी तरकारीको कारोबार हुने कपुरकोट हाटबजार सञ्चालनमा छ। यसबाट कृषकले राम्रो मूल्य प्राप्न गर्ने अवसर मिलेको छ। कपुरकोट ब्रान्डको रूपमा यहाँको तरकारी बेच्न सकिने सम्भावना पनि देखिन्छ। यहाँ राष्ट्रियस्तरको अदुवा बाली अनुसन्धान केन्द्र हुनु, वनस्पति उद्यान केन्द्र हुनुलाई पनि अवसरका रूपमा लिन सकिन्छ।
पालिकाको मुख्य समस्या के के हुन् र कसरी समाधान गर्ने योजना छ ?
समृद्ध पालिका बनाउने सुरुवात भए पनि यसले पूर्णता पाउन अझै धेरै कार्य गर्न बाँकी छ। शैक्षिक क्षेत्रको विकास गर्न उच्च शिक्षा अध्ययन गर्नका लागि राम्रो क्याम्पस हुन नसक्नु, पालिकाभित्र स्वास्थ्य उपचारका लागि राम्रो अस्पताल नहुनु, कृषकलाई सिँचाइ सुविधा पु-याउन नसक्नु, घर घरमा स्वच्छ खानेपानी पु-याउन नसक्नु हाम्रो मुख्य समस्याको विषय रहेको छ। यसको समाधानका लागि विशेष योजनाका साथ अघि बढ्ने प्रयास गरिएको छ।
पालिकाको विकासका लागि सङ्घीय सरकार र प्रदेश सरकारसँग के कसरी समन्वय गर्नुभएको छ ?
पालिका आफैँले मात्र प्राप्त स्रोत र साधनबाट नागरिकको आवश्यकता अनुरूप सेवा प्रवाह गर्न कठिन छ। यसका लागि सङ्घ र प्रदेशसँग समन्वय गरेर काम गर्न आवश्यक छ। यसो गर्दा मात्र पालिकाको विकासमा सहयोग मिल्छ। सोही कुरालाई ध्यानमा राखेर सङ्घ र प्रदेश सरकारलाई पटक पटक भेटेर लिखित तथा मौखिक रूपमा पालिकाका विभिन्न समस्यामा ध्यानाकर्षण गराइएको छ। तर पनि सङ्घ र प्रदेशबाट पालिकाको आवश्यकता पहिचानका आधारमा जुन साथ र सहयोग हुनु पथ्र्यो, त्यसमा कतै कमी हो कि जस्तो अनुभूति भएको छ।
पालिकामा तपाईंका खास योजना के के छन् ?
पालिकाको आफ्नै पहल र अन्य सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा सम्पादन गर्न सकिने कार्यलाई ध्यानमा राखेर आफ्नो कार्यकालमा प्राथमिकताका साथ केही योजनालाई अघि बढाएको छु। आफ्नो कार्यकालमा नागरिकलाई सुशासनको पूर्ण प्रत्याभूति दिलाउनेदेखि लिएर अँध्यारोमुक्त कपुरकोट बनाउने, खरको छानामुक्त कपुरकोट बनाउने, १५ शय्याको अस्पताल स्थापना गरी सञ्चालनमा ल्याउने, क्याम्पस स्थापना गरी सञ्चालन गर्ने, कृषि उपजको उचित मूल्यसहित निर्यातको सहज पहुँचको व्यवस्था, सवै वडा कार्यालयसम्म कालोपत्रे बाटो बनाउने कार्यको थालनीका कार्यलाई योजनाका साथ अघि बढाइएको छ।
स्थानीय तहले विकास निर्माण र सेवा प्रवाहलाई कसरी अघि बढाइरहेको छ ?
जनताको सरकारले जनताका बिचबाट सेवा प्रवाह गर्नु पर्छ भन्ने मान्यतासाथ अघि बढेका छौँ। नागरिकको हितलाई ध्यानमा राखेर वडाबाट सामाजिक सुरक्षा भत्ता वितरण, योजनाको सम्झौता, बैङ्क खाता सञ्चालन, योजना फरफारकका लागि फाइल पेस गर्ने काम भएको छ। स्वास्थ्य शिविर सञ्चालन, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको घरमै स्वास्थ्य परीक्षण, प्राथमिक उपचार र उचित परामर्श, सार्वजनिक बिदाको दिनमा स्वास्थ्य सेवा प्रवाह जस्ता कार्य भएका छन्।
निर्वाचित भएको एक वर्षको अवधिमा के कस्ता चुनौती भोग्नुभयो ?
जनताका धेरै अपेक्षालाई प्राथमिकीकरण गरेर सम्पादन गर्ने क्रममा कतिपय मागलाई सम्बोधन गर्न नसक्नु, सङ्घीय र प्रदेश सरकारबाट विनियोजन भएको समानीकरणको बजेटको समेत सुनिश्चितता नहुनु, कतिपय ससर्त अनुदानका रूपमा प्राप्त बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने चरणमा कटौती हुनु, विभिन्न खाले ठुला विपत्का घटनाको सामना गर्नु जस्ता कार्यले स्थानीय सरकारको गतिमा चुनौती भोग्नु परेको थियो।
विकास निर्माणमा जनसहभागिता कत्तिको पाउनुभएको छ ? जनसहभागिता जुटाउन के कस्ता योजना छन् ?
विकास निर्माणमा जनसहभागिता अपरिहार्य विषय हो तर पनि जनश्रम गर्ने संस्कारको कमी हुँदै गएको तितो यथार्थ हो। सोही कुरालाई ध्यानमा राखेर हामीले कपुरकोट जागरण अभियान सञ्चालन गरेका छौँ। अहिले पालिकाभित्रका सम्पूर्ण टोल विकास संस्थाले यसलाई महङ्वका साथ अघि बढाइराखेको अवस्था छ। विभिन्न जनश्रमको माध्यमद्वारा सरसफाइ, बिग्रिएको संरचना निर्माण, सामाजिक जागरण, शैक्षिक जागरणलगायत विभिन्न कार्यमा संलग्न भइराखेको अवस्था छ। अब सञ्चालन गरिने योजनामा समेत टोल विकास समितिको सहभागिता गरिने छ ।
पालिकामा बेरुजु र सार्वजनिक खरिदको अवस्था के कस्तो छ ? बेरुजु घटाउन कत्तिको सफल हुनुभएको छ ?
गाउँपालिकामा बेरुजुको अवस्था वर्षैपिच्छे थपिँदै गएको देखिन्छ तर अब यसलाई क्रमशः शून्य बेरुजुमा झार्नु पर्छ भन्ने सोचका साथ गाउँ सभाको १३ गाउँ अधिवेशनबाट निर्णय पारित गरी कार्यान्वयनमा अघि बढेका छौँ। समितिले कार्य प्रारम्भ गरिसकेको छ। पालिकाको सार्वजनिक खरिद प्रक्रियालाई अत्यन्तै पारदर्शी र विधिसम्मत ढङ्गले लैजानु पर्छ भनेर सम्भव भएसम्मका सम्पूर्ण खरिद कार्यलाई ई–बिडिङको माध्यमबाट अघि बढाउने काम भएको छ। अबको हाम्रो अर्जुनदृष्टि भनेको शून्य बेरुजु र काममा पारदर्शिता रहेको छ।