• १ जेठ २०८२, बिहिबार

बजेट अभावमा सडक विस्तारको काम अनिश्चित

blog

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, भदौ २६ गते । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका लागि सरकारले पर्याप्त बजेट नछुट्याएपछि सडक विस्तारको काम रोकिने देखिएको छ । 

गत आर्थिक वर्ष यस सडक विस्तारका लागि एक अर्ब १९ करोड रुपियाँ निकासा गरेको सङ्घीय सरकारले चालु आर्थिक वर्ष ५४ करोड रुपियाँ मात्रै विनियोजन गरेको छ । बजेट अभावका कारण चालु आर्थिक वर्ष यो सडक विस्तारको काम रोकिने सम्भावना बढेको हो । आव २०८०÷८१ का लागि नेपाल सरकारले २० करोड ४० लाख र दातृ निकायको ऋणबाट ३२ करोड ६० लाख रुपियाँ व्यवस्थापन गरेको छ । 

चालु आर्थिक वर्षको पहिलो महिनामा नै कुल बजेटको ३९ प्रतिशत रकम खर्च भएपछि अरू ११ महिनामा काम गर्न बजेट अभाव भएर बिचैमा काम रोकिने हो कि भन्ने चिन्ता आयोजना र अन्य सरोकारवाला निकायलाई परेको छ । 

सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाका लेखा अधिकृत खड्गबहादुर थापाले सडक विस्तारका लागि चालु आवमा विनियोजन भएको रकममध्ये हालसम्म ३९ प्रतिशत अर्थात् २० करोड ९६ लाख रुपियाँ खर्च भइसकेको जानकारी दिनुभयो । उहाँले अरनिको राजमार्गको साँगादेखि धुलिखेलसम्मको ठेक्का पाएको लामा कन्स्ट्रक्सन प्रालिलाई दस करोड ५३ लाख र सूर्यविनायकदेखि साँगा भन्ज्याङसम्मको ठेक्का पाएको आशिषकुमार श्रेष्ठ÷बन्धन÷भगवती जेभीलाई मोबिलाइजेसनबापत दस करोड ४३ लाख रुपियाँ भुक्तानी गरिएको बताउनुभयो । 

लेखा अधिकृत थापाका अनुसार लामा कन्स्ट्रक्सन प्रालिले सडक विस्तारको कामबापतको आठ करोड ३३ लाख भुक्तानीका लागि साउन २२ गते कार्यालयमा बिल पेस गरे पनि भुक्तानी दिन सकिएको छैन । लेखा अधिकृत थापाले दुई वटा निर्माण कम्पनीले राम्रोसँग काम गरेको खण्डमा एक महिनाको अवधिमा करिब २५ करोड रुपियाँभन्दा बढीको भुक्तानीका लागि बिल पेस हुने भएकाले सडक निर्माणको कामलाई नरोकियोस् भन्नका लागि सरकारसँग दुई अर्ब रुपियाँ बजेट माग गरिएको बताउनुभयो । अहिले आयोजना कार्यालयले सडक विस्तारका लागि नेपाल सरकारको आन्तरिक स्रोतबाट दिइएको रकम जतिको बजेट सकिएपछि दातृ निकायबाट दिइएको रकमलाई मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबिआइएस) संशोधन गरेर दोस्रो र तेस्रो चौमासिकको बजेटलाई पहिलो र दोस्रोमा ल्याउन विभाग र मन्त्रालयलाई अनुरोध गरेको छ । 

सूर्यविनायक–धुलिखेल–खुर्कोट–सिन्धुली–बर्दिबास सडक आयोजनाका इन्जिनियर माधव पौडेलले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारको काम तीव्र गतिमा भए पनि पर्याप्त बजेट विनियोजन नभएकाले थप बजेटका लागि पहल भइरहेको बताउनुभयो । उहाँले निर्माण व्यवसायीले पेस गरेको बिलको भुक्तनी दिन नसकिएको बताउनुभयो । सरकारले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका लागि थप बजेट सुनिश्चित नगरेका कारण आयोजनाले सडक विस्तारको कामको रेखदेखका लागि काभ्रेपलाञ्चोक र भक्तपुर खण्डमा दैनिक ज्यालादारीमा राखेका १५ जना सुपरभाइजर र चौकीदारलाई कामबाट हटाएको छ । 

विभिन्न कार्यव्रmमको सिलसिलामा काभ्रे आउनुभएका अर्थमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बजेट अभावका कारण अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारको काम नरोकिने बताए पनि हालसम्म औपचारिक रूपमा बजेट व्यवस्थापन नभएकाले ढुक्क हुने अवस्था भने छैन । 

साँगादेखि धुलिखेलसम्मको आठ दशमलव पाँच किलोमिटर सडक निर्माणका लागि लामा कन्स्ट्रक्सनसँग भ्याटसहित चार अर्ब पाँच करोड ६४ लाख र सूर्यविनायकदेखि साँगासम्मको सात दशमलव पाँच किलोमिटर सडक निर्माणका लागि आशिषकुमार श्रेष्ठ÷बन्धन÷भगवती जेभीसँग भ्याटसहित तीन अर्ब ८८ करोड ९३ लाख रुपियाँमा ठेक्का सम्झौता भएको छ ।