सन्तोष सुवेदी
कास्की, भदौ २५ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आत्महत्या रोकथामको मुख्य उपाय सचेतना भएको बताउनुभएको छ । आत्महत्या रोकथामका लागि नीति निर्माताहरू तथा सरोकारवालाबिच सोमबार भएको छलफल कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
‘‘‘एउटै, यही कारणले मानिसले आत्महत्या गरिरहेका छन् भन्ने यकिन छैन, त्यसभित्र विभिन्न कारणहरू छन् । आत्महत्या न्यूनीकरण र निरुत्साहित गर्ने मुख्य काम सचेतनाले गर्छ’ उहाँले भन्नुभयो ।
गण्डकी प्रदेशभित्र दैनिक २ देखि ३ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्क छ । आत्महत्या एउटा मानसिक रोग भएको बताउँदै मुख्यमन्त्री पाण्डेले आत्महत्या कम गर्न, मानिसलाई यसतर्फ निरुत्साहित गर्न उपचार गराउने र सचेतना जगाउने रहेको चर्चा गर्नुभयो ।
आत्महत्या न्यूनीकरणको क्षेत्रमा काम गर्ने सङ्घ संस्थासँगको सहकार्यमा यसको रोकथाम र निरुत्साहित गर्न प्रदेश सरकारले पनि कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभयो ।
‘‘मानसिक रोगको उपचार गर्ने छुट्टै अस्पताल तत्काल प्रदेशको साधन स्रोतबाट बनाउन नसकिएला तर अस्पतालहरूमा मानसिक रोगको उपचार गर्ने युनिट राखेर सेवा दिनुपर्छ’ उहाँले भन्नुभयो । प्रदेश सरकारले आफ्नो साधन, स्रोत र क्षमताले भ्याएसम्म आत्महत्या निरुत्साहित गर्ने, मानसिक रोगको सहज उपचारको व्यवस्था गर्ने उहाँले बताउनुभयो ।
विकसित देशमा पनि आत्महत्याको घटना धेरै हुनेगरेको बताउँदै मुख्यमन्त्री पाण्डेले आत्महत्या गरिबीका कारण मात्र नभएको बताउनुभयो । आत्महत्याका घटना, यसका कारण पहिचान गरेर सरोकारवाला सबैको सहकार्यमा गण्डकी प्रदेशभित्र आत्महत्या न्यूनीकरणको कार्यक्रम सञ्चालन गरिनेमा उहाँले जोड दिनुभयो । ‘आशा जगाऔँ, जीवन बचाऔँ’ नारासहित विश्व आत्महत्या रोकथाम दिवस २०२३ आइतबार र सोमवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।