• १३ साउन २०८१, आइतबार

कृषि स्नातक स्थानीय तहमा

blog

काठमाडौँ, भदौ २५ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रत्येक स्थानीय तहमा कृषि तथा पशु विज्ञानमा स्नातक गरेका एक/एक जना जनशक्ति उपलब्ध गराउने भएको छ । 

आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको बुँदा नम्बर ९० मा प्राविधिक ज्ञान उपलब्ध गराउन प्रत्येक स्थानीय तहमा कृषि स्नातक उपलब्ध गराउने उल्लेख भएबमोजिम कृषि मन्त्रालयले जनशक्ति उपलब्ध गराउनका लागि स्थानीय तहमा कृषि स्नातक प्राविधिक परिचालन कार्यविधि २०८० कार्यान्वयनमा ल्याइएको छ । 

स्थानीय तहमा कृषि तथा पशुपन्छी विकास कार्यक्रमको कार्यान्वयनमा प्राविधिक सहयोग, प्रविधि प्रसार, आवश्यक समन्वय र सहजीकरणका लागि स्थानीय तहमा करारमा कृषि स्नातक प्रविधि परिचालन गर्ने कृषि मन्त्रालयले जनाएको छ । 

कृषि स्नातक प्राविधिक हुनका लागि कृषि विज्ञानतर्फ मान्यताप्राप्त विश्वविद्यालय वा शैक्षिक संस्थाबाट कृषि विज्ञानमा स्नातक उत्तीर्ण भएको हुनुपर्ने कार्यविधिमा उल्लेख छ । पशुपन्छी विज्ञानतर्फ मान्यताप्राप्त शैक्षिक संस्थाबाट पशु चिकित्सा विषयमा बिभिएस्सी अथवा एएच/बिभएस्सी वा सोसरहको स्नातक तह उत्तीर्ण तथा नेपाल पशु चिकित्सक परिषद्मा दर्तावाल पशु चिकित्सक हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।  

कृषि स्नातकको करार सम्झौता आवको असार मसान्तसम्म एक वर्षको हुने कार्यविधिमा उल्लेख छ तर स्रोत सुनिश्चितताका आधारमा करार सम्झौतालाई निरन्तरता दिन पनि सकिने बताइएको छ । कृषि स्नातकका लागि सङ्घीय कृषि मन्त्रालयले स्थानीय तहहरूलाई ससर्त अनुदान बजेट उपलब्ध गराएको छ । कार्यविधि अनुसार सेवा करार सम्झौता गरिएको कृषि स्नातकको मासिक पारिश्रमिक अधिकृतस्तर छैटौँ तहको सुरु स्केलसरह हुने बताइएको छ । 

कृषि स्नातकले कृषि तथा पशुपन्छी विकाससम्बन्धी विभिन्न क्रियाकलापको सञ्चालन तथा सहजीकरण, नियमित प्रतिवेदन, सरोकारवालासँगको समन्वय, योजना तर्जुमा प्रक्रिया, तथ्याङ्क सङ्कलन तथा अध्ययनलगायत कार्य गर्नुपर्ने कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले बताउनुभयो । कार्यविधि अनुसार सेवा करार गरी परिचालन गरिएको कृषि स्नातक प्राविधिक पालिकाको प्रमुख प्रशासकीय अधिकृतको सुपरिवेक्षणमा रहेर काम गर्नु पर्छ । स्थानीय तहमा खटिएका कृषि स्नातक प्राविधिकले स्वीकृत वार्षिक कार्ययोजना अनुसार मासिक कामको प्रगति विवरण प्रत्येक महिनाको २ गते प्रशासकीय अधिकृतलाई बुझाउनुपर्ने हुन्छ ।