• ९ जेठ २०८१, बुधबार

‘निजी विद्यालयले शिक्षामा गरेको लगानीको कदर भएन’

blog

राष्ट्रिय निजी तथा आवाशीय विद्यालय एशोशिएसन नेपाल बाँके समितिको नवौं जिल्ला अधिवेशनको उदघाटन समारोहमा सहभागी अतिथिहरु । तस्बिर : सावित्री गिरी

साबित्री गिरी

कोहलपुर, भदौ २३ गते । निजी विद्यालयले गुणस्तरीय शिक्षाका लागि पर्याप्तता लगानी गरेको तर राज्यले सोअनुसार कदर नगरेको वक्ताहरूले बताएका छन् । विद्यालयको अवस्था सुधार, गुणस्तर वृद्धि तथा शिक्षकको क्षमता विकासलगायतका सवालमा निजी विद्यालय अब्बल हुँदा समेत कदर नगरेको उहाँहरूको गुनासो छ ।  

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल बाँके समितिको नवौँ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्ने वक्ताहरूले राज्यले सरकारी विद्यालयलाई काखा र निजी विद्यालयलाई पाखा गर्न नहुने सुझाव दिनुभयो । 

नेशनल प्याब्सन बाँकेका अध्यक्ष श्याम कुवरको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालका राष्ट्रिय अध्यक्ष पाण्डव हमालले सरकारको निजी विद्यालयप्रतिको व्यवहार नितान्त विभेदकारी भएको आरोप लगाउनुभयो ।  सरकारले अघि सारेको शिक्षा विधेयक यथास्थितिमा पारित गर्न खोजे आफूहरूलाई मान्य नहुने उहाँको भनाइ छ । 

पूर्व अध्यक्ष कर्णबहादुर शाहीले निजी विद्यालयले पनि घोकन्ते शिक्षाभन्दा जीवनोपयोगी शिक्षा दिन आवश्यक रहेको बताउनुभयो । उहाँले गुणात्मक शिक्षाका लागि ठुलो धनराशि बाहिरिएको बताउँदै फेरि पनि सरकारले त्यस्तैखालको शिक्षा नीति ल्याउन खोजेको आरोप लगाउनुभयो । 

केन्द्रीय उपाध्यक्ष सुबोधकुमार डाँगीले राज्यले आफ्नो सम्पत्तिमाथि आँखा लगाएको आरोप लगाउनुभयो । राज्यले निजी विद्यालयलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार दुवै परिवर्तन गर्न आवश्यक रहेको उहाँको सुझाव छ । 

कार्यक्रमलाई समापन गर्दै जिल्ला अध्यक्ष श्याम कुवरले गुणस्तरीय शिक्षाका लागि आफूहरूले थालेको प्रयासलाई आगामी दिनमा पनि सशक्त बनाउनुपर्ने बताउनुभयो । 

एनप्याब्सन बाँकेका उपाध्यक्ष चिरन चन्दले सहजीकरण गरेको कार्यक्रममा प्याब्सन बाँकेका यामबहादुर रावत, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बाँकेका रेखा धिताल, शिक्षक महासङ्घ बाँकेका पवन यादवलगायतले धारणा राख्नुभयो । बन्दसत्रले नयाँ कार्यकालका लागि नयाँ कार्य समिति चयन गर्नेछ ।