• १३ साउन २०८१, आइतबार

बाजुराको चिनोबाली लोप हुने अवस्थामा

blog

स्वामिकार्तिकमा उत्पादन भएको चिनो खेती । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, भदौ २३ गते । बाजुराका विभिन्न ठाउँमा फलाइने पछिल्लो समय चिनोबाली लोप हुँदैगएको छ । बाजुराको हिमाली, स्वामिकार्तिक, जगन्नाथ, बुढीनन्दा, बडिमालिका, बुढीगङ्गा त्रिवेणी गौमुल, खप्तड छेडेदहलगायतका केही ठाउँमा चिनो खेती लगाइने गरिन्छ ।

बाजुराका प्रत्येक स्थानीय तहमा सडक सञ्जालको पहुँच पुगेसँगै ती गाउँबस्तीमै चामल पुग्न थालेपछि चिनो खेती पनि बिस्तारै हराउँदै गएको हो । गाउँबस्तीमा सडकको पहुँच पुग्नु, घर–घरमा चामल पुग्नु, चिनो कुट्न गाह्रो हुने र यो चामलको भातजस्तो स्वादिलो पनि नहुने हुनाले चिनो खेती बिस्तारै घट्दैगएको यहाँका स्थानीयको भनाइ छ । 

बाजुराको हिमाली क्षेत्रमा पर्ने हिमाली, स्वामिकार्तिक र जगन्नाथ गाउँपालिकामा परापूर्वकालदेखि नै चिनोको खेती लगाउने गरेको पाइन्छ । सामान्यतया चिनोकै नामले चिनिने यस बालीको धानजस्तो बोट र कोदोजस्तो दाना हुने हुनाले कतै–कतै धान कोदो पनि भन्ने चलन छ । यो बाली धानको विकल्पको रूपमा लगाउने गरिन्छ ।

चिनोको दाना सुगालगायत अन्य चराहरूले मन पराउने हुनाले यसलाई ‘चरी अन्न’ पनि भन्ने चलन छ । विशेषगरी कर्णाली प्रदेशका हिमाली जिल्लामा खाद्यान्न बालीका रूपमा खेती गरिदैआएको यस बालीको वनस्पतिका नाम पेनिकम मिलिएसिएम रहेको छ । 

नेपालको उच्च पहाडी भेगमा करिब तीन हजार ५०० मिटर उचाइसम्म वर्षा याममा यसको खेती गरिन्छ । चिनो कुट्न गाह्रो हुने र यो चामलको भातजस्तो स्वादिलो नहुने हुनाले यसको खेती र उपयोगिता घट्दैगएको स्थानीय ज्येष्ठ नागरिकको भनाइ छ । 

उसो त यो बाली छोटो समयमा तयार हुन्छ । बाली लगाउँदा कम पानी कम मल भए पनि हुन्छ । पछिल्लो समय यो बाली हराउँदै गएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताउनुभयो ।

पहिला बाजुराका अधिकांश ठाउँमा चामलको पहुँच थिएन । त्यतिबेला यहाँका स्थानीयले चामलको विकल्पको रूपमा पनि यो खेती गर्नेगरेका थिए । अहिले घर आँगनमै चामल पुग्न थालेपछि चिनो हराउँदै गएको हो । 

बाहिर चिप्लो हुने र ओखलमा मुसले कुट्न पनि गाह्रो हुनेभएकाले स्थानीयहरूले यो खेती लगाउन छाडेको जैशीले बताउनुभयो । पछिल्लो समय यसको औचित्य बुझेपछि स्वामिकार्तिकको जेरामा चिनो खेती गर्न सुरु गरिएको छ । कृषि ज्ञान केन्द्रले चिनोको खिर बनाएर दिएको र स्थानीयले पनि त्यसको स्वाद पाएपछि बल्ल चिनो बाली संरक्षणमा लागेका बताइन्छ । 

चैतमा लगाएको जेठ, असार र असारमा लगाएको असोज–कात्तिक गरेर दुई पटक खेती लिन मिल्ने यो बाली किसानका लागि उपयोगी छ । चिनोमा फेनोल्स, फाइटेट्स नाम गरेका क्यान्सर निरोधक रसादिहरू (फाइटोकेमिकल्स) र क्याल्सियम, म्याग्नेसियम, पोटासियम, फोस्फरस, सोडियम, म्यान्गानेज र आइरनजस्ता अक्सिकरण निरोधक खनिज लवणहरू यसमा पाइन्छ ।

रोग निरोधक

चिनोले क्यान्सर, हाडजोर्नी दुख्ने, कलेजोसम्बन्धी रोग, रक्तनली साँघुरिएर हुने हृदयाघातलगायत अन्य मुटुरोहरू, माइग्रेन तथा मिर्गौलाको पत्थरीजस्ता रोगहरू हुनबाट बचाउने स्थानीयको बुझाइ छ । चिनोमा पाइने फोस्फरस तत्त्वले शरीरका ग्रन्थिहरूको विकास एवम् पाचन प्रक्रियामा मद्दत गर्ने विज्ञको भनाइ रहेको सूचना अधिकारी जैशीले बताउनुभयो ।

मानव स्वास्थ्यका लागि चिनो निकै उपयोगी रहेकाले यसको संरक्षण तथा प्रवर्द्धन गर्न अहिले गाउँपालिकाले यहाँका स्थानीयलाई चिनो खेतीप्रति उत्प्रेरित गर्दैआएको स्वामिकार्तिक गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो ।

उहाँले गाउँपालिकाको जेरा वाइमा चिनो खेती लगाउन सुरु गरेको र त्यो खेती निकै राम्रो रहेको बताउनुभयो । यो भन्दापछि यो ठाउँमा उत्पादन गरेको चिनो देशका विभिन्न ठाउँमा चिनाउने गरेर उत्पादनमा जोड दिदैजाने उहाँले बताउनुभयो ।