• १३ साउन २०८१, आइतबार

हात्तीबाट धानबाली जोगाउन खेतमै जाग्राम

blog

फाइल तस्बिर

अविनाश चौधरी

धनगढी, भदौ २३ गते । कैलालीको कैलारी गाउँपालिका–७ भुइयाँफाँटामा जङ्गली हात्तीले धानबालीमा क्षति गर्न थालेपछि किसान खेतमै जाग्राम बस्न थालेका छन् । 

हात्तीबाट धानबाली जोगाउन उनीहरू रातभर खेतमै जाग्राम बस्न थालेका हुन् । आइतबार राति खेतमा आएको हात्तीको ठुलो झुन्डले मोहना नदी पारी रहेको कगलहरमा धानबाली नष्ट गरेको किसानले जनाएका छन् । 

दुधुवा नेशनल पार्कबाट ठुलो सङ्ख्यामा आएको हात्तीको झुन्डले कयौँ किसानको धानबालीमा नोक्सान गरेको स्थानीय कृषक फुलराज चौधरीले जानकारी दिनुभयो । करिब दुई बिघासम्म धानखेतीमा हात्तीले क्षति गरेको उहाँको भनाइ छ । हात्तीले धानबाली खानुका साथै कुल्चेर क्षति गरेको किसानले बताएका छन् । 

जङ्गली हात्तीको झुन्ड खेतमा पसेपछि गाउँभरिका किसान रातभर होहल्ला गर्दै हात्ती धपाउने काम गरेको कृषक चौधरीले जानकारी दिनुभयो । सो क्षेत्रमा दुधुवा नेशनलपार्कबाट बसन्ता करिडोरमा जङ्गली हात्तीको ओहोरदोहोर हुनेगर्छ ।

ओहोरदोहोरको क्रममा हात्तीले बर्सेनि कृषि बालीमा नोक्सान गर्दैआएको किसानले जनाएका छन् । धानबालीलाई हात्तीले नोक्सान गर्न थालेपछि गाउँलेहरू चिन्तित भएका छन् । धान पाकेर बाली नभित्र्याउँदासम्म अब ढुक्कसँग बस्न नपाइने किसानको भनाइ छ । सो क्षेत्रका जनताले धान र गहुँबाली दुवै सिजनमा जङ्गली हात्तीको आतङ्क झेल्दैआएका छन् ।