• १३ साउन २०८१, आइतबार

पोखरा विमानस्थलबाट पहिलो व्यावसायिक उडान

blog

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रुकको विमानबाट भुटान जान लागेका यात्रुलाई बिदाइ गरिँदै । तस्बिर: गोरखापत्र

फडिन्द्र अधिकारी

लेखनाथ, भदौ २३ गते । सञ्चालन भएको आठ महिनापछि पहिलो पटक शनिवार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक उडान भएको छ । ड्रुक एयरको जहाज भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान पौने सात बजे पोखरा आएको थियो । 

तीन यात्रु लिएर आएको एक सय ५० यात्रु क्षमताको ड्रुकको त्यो जहाजमा पोखराबाट ४२ पर्यटक लिएर भुटान फर्किएको छ । ड्रुक भुटानको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी हो । पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट यसले दश अन्तर्राष्ट्रिय गन्तव्य र तीन आन्तरिक विमानस्थलमा उडान भर्दै आएको छ । यसले काठमाडौँमा पनि उडान गर्ने गरेको छ । 

ड्रुकको विमान बिहान पौने ७ बजे अवतरण गरी यात्रु लिएर पौने ८ बजे फर्किएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो चोटि यात्रुहरू विदेशका लागि उडेका छन् । विमानस्थलले सुरु भएको आठ महिनापछि अन्तर्राष्ट्रिय उडानबाट आम्दानी गर्दैछ । 

विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीले विमानस्थलबाट शनिवार भएको उडानले पहिलो पटक आम्दानी गरेकाले यसलाई पहिलो व्यावसायिक उडान मानिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “तीन यात्रु लिएर आएको जहाज ४२ यात्रु लिएर फर्किएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो चोटि यात्रु विदेशका लागि उडेको र विमानस्थलले पनि आम्दानी गरेकाले यसलाई पहिलो व्यावसायिक उडान मानेका छौँ ।”

यहाँ पहिलो वर्ष अन्तर्राष्ट्रिय उडानमा पार्किङ, ल्यान्डिङ लगायतका शुल्क नलाग्ने व्यवस्था गरिएको छ । यही कारणले विमानस्थल कर मात्रै आम्दानी भएको हो ।“अन्तर्राष्ट्रिय उडानमा यात्रुले प्रतिव्यक्ति तीन हजार रुपियाँ विमानस्थलकाे कर तिर्नुपर्छ,” सुवेदीले भन्नुभयो ।

युरोपेली देशका पर्यटकलाई लैजानका लागि यो विमान चार्टर गरिएको हो । केही दिनअघि काठमाडौँ आएका ती पाहुना शुक्रवार बिहान हेलिकप्टरबाटै कुरिनटार ओर्लिएका थिए । त्यसअघि काठमाडौँबाट ती पाहुनाले सगरमाथा क्षेत्रको पर्वतीय यात्रा गरेका थिए । कुरिनटारमा ओर्लिएका उहीहरूले त्यहाँ त्रिशूलीमा र्याफ्टिङ गरेका थिए । 

यसअघि चीनको छेन्दुबाट सिचुआन एयरलाइन्सको जहाज आएको थियो । पोखरामा भएको ड्रागन बोट रेसमा सहभागी खेलाडी र अतिथिलाई लिएर सिचुआनको जहाज आएको थियो । सिचुआनको जहाज फर्किदा रित्तै थियो । गएको जनवरी १ मा विमानस्थल उद्घाटन भए पनि यो अहिलेसम्म केही चार्टर विदेशी उडान र आन्तरिक उडानमै सीमित छ ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन झन्डै २२ अर्ब रुपियाँ लगानी भएको छ ।