• ८ मंसिर २०८१, शनिबार

कवितामार्फत स्वतन्त्रताको आराधना

blog

विषयवस्तुको विविधता हुँदाहुँदै पनि मूल रूपमा कवि सुष्मा दाहालले आफ्नो पहिलो कविता सङ्ग्रह ‘मध्यान्तर’मा नेपाली समाजमा महिला हुनुको नियतिभित्र लुकेका सूक्ष्म पहेलीलाई मुखरित गर्नुभएको छ । पूर्वी पहाड तेह्रथुममा जन्मी हुर्कनुभएकी सुष्माको मध्यान्तर विसं २०७९ मा प्रकाशित पचास वटा गद्य कविताको सङ्ग्रह हो । सुष्माका कविताले प्रत्यक्ष वा परोक्ष रूपमा स्वतन्त्रताको आराधना गरेको पाइन्छ । नेपाली समाजमा सुष्मा जस्ता पढेलेखेका र पेसा व्यवसायमा संलग्न महिला दोहोरोतेहेरो भूमिकामा हुन्छन् । सुष्मा आफैँ शिक्षण कर्मभित्र जागिरे जीवन बिताउनु हुन्छ, परिवारको हेरचाह गर्नुहुन्छ र सार्वजनिक वृत्तमा आएर साहित्य सिर्जना तथा अभियानमा संलग्न हुनुहुन्छ । यी बहुल भूमिकाहरूले आफ्नो अस्तित्वमा स्वतन्त्रताको यथेष्ठ अभ्यास हुन नपाएको प्रतिव्रिmया स्वरूप सृजनात्मक विद्रोहका रूपमा कविता लेख्नुहुन्छ । त्यस्तो विद्रोहमा कतै प्रतिबद्धता, कतै कुण्ठा र कतै नैराश्यको प्रस्फुटन भएको पाइन्छ । 

रजस्वला नारी शरीरको प्रकृति हो । परम्परागत सङ्कथनले यो प्रकृतिलाई सहजतापूर्वक बुझ्दैन । सुष्माले प्रथम रजस्वलालाई जीवनको उर्वर समयको सुरुवात भन्दै छोरीलाई शुभकामना दिनुभएको छ । ‘पहिलो महिनावारी’ शीर्षकको यो कविता स्वतन्त्रता प्रेमको एक उदाहरण हो । वर्गीय असमानताको दूरी अन्यायोचित रूपमा फराकिलो भएको समाजमा अति विपन्न समुदायको सङ्कटग्रस्त दैनिकीलाई व्यक्त गर्दै सुष्मा वर्ग विभेदयुक्त आर्थिक प्रणालीबाट समाज स्वतन्त्र होस् भन्ने कामना गर्नुहुन्छ । ‘दिलमा अट्नेहरू’ कविताबाट तलका हरफहरू यो कामनाका प्रमाण हुन् :

असाध्यै प्रेम त म उनीहरूलाई पो गर्छु

जसको बिहान बेलुकी छाक छुट्टिँदैन

गर्मी, जाडो, दिन, रात छुट्टिँदैन

मौसम जति बदलिए पनि आङको झुत्रो बदलिँदैन । (३२)

‘अदृश्य चिता’ कवितामा सुष्माले सपना र अभीप्साको आराधना गर्नुभएको छ । सपनाहरू विकराल रूपमा विघटित भए भने उहाँ लेख्नुहुन्छ, “कस्ने छु आफ्नै कोमल हातहरूले आफ्नै घाँटी” (४८) । यस्तो अभिव्यक्ति यही समाजभित्र सार्वजनिक वृत्तको खोजी गरिरहेका महिलाको प्रतिनिधि आवाज हो । कतिपय महìवाकाङ्क्षी मान्छेहरू सपनाको मृत्युमा आफ्नै भौतिक मृत्युलाई जोड्छन् । 

नारी स्वतन्त्रताको विषय उठ्नेबित्तिकै मातृविम्ब र महिला ‘प्रिकर्सर’ सान्दर्भिक भएर आउँछन् । पितृसत्ताले पितृविम्बको खोजी गर्छ भने मातृसत्ताले मातृविम्बको खोजी गर्छ । ‘नारीशक्ति र यथार्थता’ शीर्षकको कवितामा सुष्माले गार्गी, मैत्रेयी, राजेन्द्रलक्ष्मी, वृषभानुदेवी, वसन्तावती आदिलाई ‘प्रिकर्सर’ मान्नुभएको छ । चाखलाग्दो कुरा, यी सबै महिला प्रिकर्सरहरू सुष्माले भारत वर्ष र नेपालको इतिहासबाट लिनु भएको हो ।

घर्किसकेको विगत, घसिँ्रदै गरेको वर्तमान र अनिश्चित भविष्यसहित आफ्नै गन्तव्य हराएको व्यक्तिको भोगाइ ‘मध्यान्तर’ हो भन्ने आशय सुष्माले ‘गोरेटो हराएपछि’ भन्ने कवितामा व्यक्त गर्नुभएको छ । आफ्नै अस्तित्वप्रति सचेत र पढालेखा तर पेसासँग असन्तुष्ट महिलाको प्रतिनिधि स्वरका रूपमा यसलाई बुझ्न सकिन्छ ।

वर्गीय असमानताकै जगमा मानिसको स्वतन्त्रता कुण्ठित हुन्छ । वर्गीय असमानता यस्तो जग हो, यसले मानिसको मृत्युको कारणलाई दुःखदायी बनाउनुका साथै मरिसकेपछिको मृत्यु संस्कारलाई पनि टिठलाग्दो बनाउँछ । वर्गीय हैसियतको भिन्नता अनुसार नै मृत्यु पनि वर्गीय हुन्छ भन्ने आशय सुष्माको ‘विभेद’ शीषकको कविताले बोकेको छ । उहाँ लेख्नुहुन्छ :

न कात्रो मिल्छ न जल्ने चिता

मिल्दैन सबलाई समाधि पनि समान

न मिल्छ आगो न मिल्छ पानी

मृत्युको पनि हुन्छ अचेल यहाँ मानहानि (१२१)

पितृसत्तात्मक सोचले महिलालाई एक विशेष प्रकारको ढाँचाभित्र हेर्ने, देख्ने र बुझ्ने गर्छ । छोरी भएपछि त्यो ढाँचाभित्र उपयुक्त हुन विशेष सोमत र लक्षणको अपेक्षा गरिन्छ । ‘आमा म आतङ्ककारी बन्छु’ भन्ने कविताको सुरुमा नै सुष्मा छोरीको अस्तित्व “औपचारिक बलात्कारबाट सुरु भएको रहेछ” भन्छिन् (१०६) । छोरीको पहिलो रुवाइबाट नै ‘लाक्षणिक विभेदहरू’ सुरु हुने उहाँको कथन छ । उहाँ अगाडि लेख्नुहुन्छ, “जब म तोते बोल्दै ताते सर्न थाल्छु-सर्तका लक्षणरेखा कोरिसक्छ दुनियाँ” (१०६) । समाजले निर्माण गरिदिएको संरचनाभित्र नारीले आफ्नो स्वतन्त्रताको चाहनालाई कुँज्याउनु पर्ने बाध्यता छ । यो बाध्यतालाई सुष्मा यसरी चित्रण गर्नु हुन्छ ‘मेरो नाक अरूले चाहे जस्तो हुनु पर्छ - मेरा हातपाउ अरूले सोचे जस्ता हुनु पर्छ ।’ (१०९)

नारी शरीरमाथिको बलात्कार, शोषण र दमनको चौतर्फी आतङ्कबाट वाक्क भएर सुष्मा लेख्निु हुन्छ, “हँुदाहुँदा मेरा अङ्गहरू नै मेरो अवसानको कारण बन्दारहेछन् ।” (१०८) । यो कवितामा सुष्मा नारी मुक्ति र स्वतन्त्रताको सपना पूरा नभएकोमा आफू रिभल्भर बोकेर विकृति विसङ्गति र महिला हिंसाविरुद्ध आतङ्ककारी बन्न आमासँग अनुमति माग्नु हुन्छ । उहाँको यो उद्घोष स्वतन्त्रता प्रेमको भावनाले रञ्जित छ । 

सुष्माले आफ्नो कविता सङ्ग्रह मध्यान्तरमा नारी, मजदुर, किसानलगायत भुइँमान्छेहरूको स्वतन्त्रता प्रेमलाई कतै आव्रmोश, कतै चेतावनी र कतै अनुनय विनयका शैलीमा प्रस्तुत गर्नुभएको छ । युगान्तकारी परिवर्तनका बावजुद मजदुरको जीवनशैलीमा सकारात्मक फेरबदल नआएको सत्यलाई सुष्माले ‘ऊ एक मजदुर’ कवितामा यसरी लेख्नुभएको छ ः

उसका नाउँका सिदा पानीले भरिएर

कमण्डलुहरू सुनका बने

उसको एउटा पेट, एउटा आङ

एउटा छानो कहिल्यै भरिएन

ऊ श्रमिक रहिरह्यो, ऊ मजदुर रहरिह्यो (८५) ।

मध्यान्तर कवितासङ्ग्रहमा सुष्माले नारी स्वतन्त्रता र वर्गीय समानताका बारेमा मात्र होइन, अन्य विषयमा पनि कविता लेख्नुभएको छ । पे्रमसम्बन्धी चोखा अनुभूतिसहित उहाँका केही शक्तिशाली कविता छन् । पुस्तागत सङ्व्रmमण उहाँका कवितामा पाइने अर्काे विशेषता हो । सडक सञ्जाल विस्तार हुनुपूर्वको समय र सडक सञ्जाल विस्तार भइसकेपछिको समयका फरक फरक स्पन्दन र दिनचर्या सुष्माका थुप्रै कविताका विषय हुन् । अतीत अनुराग अन्तर्गत केही निकै चोखा विम्बहरू समातेर सुष्माले 

पूर्वको पहाडी गाउँघरका केटाकेटीको ग्रामीण दैनिकीलाई निकै राम्ररी चित्रण गर्नुभएको छ । यसको उदाहरण उहाँको ‘प्रिय विगत’ नामको कविता हो । 

यसरी कवि सुष्मा दाहालको पहिलो कविता सङ्ग्रहका रूपमा मध्यान्तरले लोभलाग्दो गरी समय चेतना र ग्राम्य विम्बको सुमधुर लय समातेको छ । विम्ब छनोट र विम्ब बुनोटमा ग्रामीणतालाई आधार बनाएर धेरै ठाउँमा मौलिकता देखाउनु भएकी सुष्माका कविताले कतिपय ठाउँमा परिष्कारको माग राख्छन् ।