नवराज श्रेष्ठ
रामेछाप, भदौ २२ गते । रामेछापको जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिकामा बागमती प्रदेश सरकारका विभिन्न आयोजना अलपत्र अवस्थामा छन् । पटक पटक म्याद थप भएर पनि काम सम्पन्न नभएपछि प्रदेश सरकारको लगानी रहेका आयोजना अलपत्र बनेका हुन् । मन्थली नगरपालिका–२, भुत्याहा खोला किनारमा सामाजिक विकास मन्त्रालयको छ करोड ५७ लाख ९२ हजार ८८० रुपियाँको लगानी रहेको बहुउद्देश्यीय कभर्ड हल लामो समयदेखि अलपत्र अवस्थामा छ । २०७८ पुस महिनामै निर्माण सम्पन्न भई हस्तान्तरण हुनुपर्ने यो कभर्ड हलको काम लामो समयदेखि रोकिएको छ ।
मन्थली नगरपालिका–१, सानीमदौमा तीन वर्षअघि निर्माण सुरु भएको चिस्यान केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन । बागमती प्रदेश सरकारको पाँच करोड र मन्थली नगरपालिकाको दुई करोड १० लाख रुपियाँको लगानीमा निर्माण सुरु गरिएको यो चिस्यान केन्द्र निर्माण सम्पन्न भई परीक्षणसमेत भइसकेको भए पनि अझै सञ्चालन भने हुन सकेको छैन । यो चिस्यान केन्द्र पाँच सय मेट्रिक टन क्षमताको छ । सदरमुकाम मन्थली बजारबाट मन्थली–८, चिसापानी र मन्थली–९, पुरानागाउँ जोड्ने मन्थली–चिसापानी–पुरानागाउँ सडकको अवस्था पनि उस्तै छ । सम्झौता अनुसार यो सडक १८ महिनाअघि नै कालोपत्रे भइसक्नुपर्ने हो । यो सडक २०७८ पुस २५ गते कालोपत्रे सम्पन्न गर्ने गरी कान्छाराम कन्स्ट्रक्सनले २०७७ साल असार २६ गते ठेक्का सम्झौता गरेको थियो ।
बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको १७ करोड ८८ लाख ६१ हजार ८८० रुपियाँ लगानीबाट मन्थली–८, जखनीटारदेखि मन्थली–९, पुरानागाउँ जोडिने कुल ७.३६ किलोमिटर सडकको नाला तथा कालोपत्रे गर्ने ठेक्का कान्छाराम कन्स्ट्रक्सनले पाएको थियो । ठेक्का सम्झौता भएर काम सुरु भएको तीन वर्षभन्दा बढी समय भए पनि सडकमा कालोपत्रेको काम सकिएको छैन । निर्माण कम्पनीले विभिन्न बहाना बनाएर काम रोक्दै र सञ्चालन गर्दै पटक पटक म्याद थप गरिरहेको छ । यो सडक आयोजना सम्पन्न गर्न निर्माण कम्पनीले पाएको गत असारसम्मको म्याद पनि कटिसकेको छ ।
वर्षापछि बन्द भएको काम सुरु भएन
स्थानीयवासी, स्थानीय सरकारलगायत सरोकारवाला निकायको पटक पटकको ताकितापछि निर्माण कम्पनीले गत आर्थिक वर्षको अन्तिम समयतिर यो सडकमा कालोपत्रे गर्ने काम थालेको थियो । वर्षा लागेपछि कालोपत्रे बिछ्याउन सुरु गरेको निर्माण कम्पनीले चिसापानीको साबिक वडा नं. ३ देखि वडा नं. ५ सम्मको सडकमा कालोपत्रे गरेको छ तर वर्षा हुन थालेपछि गत असार २३ देखि बन्द भएको काम अहिलेसम्म सुरु हुन सकेको छैन । कालोपत्रे गर्ने भनेर काम थालिएको यो सडक अझै अचकल्टो अवस्थामा रहेको मन्थली नगरपालिका–९, पुरानागाउँका राज श्रेष्ठले बताउनुभयो । “बल्ल बल्ल सुरु भएको सडक कालोपत्रेको काम असारदेखि रोकिएको छ । २०७८ सालको पुसमै कालोपत्रे भइसक्नुपर्ने सडकको बाँकी काम पूरा गर्न सरोकारवाला निकाय गम्भीर देखिँदैन,” उहाँले भन्नुभयो ।
सडक कालोपत्रेको काम चाँडै सम्पन्न गर्नु पर्छ भन्नेमा निर्माण कम्पनी गम्भीर नदेखिएको मन्थली नगरपालिका–८, चिसापानीका वडाध्यक्ष गोपाल श्रेष्ठले बताउनुभयो । “जति ताकिता गर्दा पनि सडक कालोपत्रेको काम सक्ने विषयमा निर्माण कम्पनी गम्भीर देखिएन, काम रोकिएको विषयमा यसअघि नै दुई÷दुई पटक वडा कार्यालयले कारणसहितको जानकारी माग गरिसकेको छ, अहिले असोजको पहिलो हप्ताबाट काम सुरु गर्ने भन्ने जानकारी आएको छ,” उहाँले भन्नुभयो ।
कोरोना सङ्व्रmमणको जोखिमलगायतका कारण देखाउँदै यो सडक कालोपत्रे गर्ने अन्तिम पटकको समय २०७९ असारसम्म थप भएको थियो । काम सक्नुपर्ने समय २०७९ असारसम्म भए पनि २०७९ चैतसम्म काम सम्पन्न गर्ने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको थियो । विभिन्न कारणले समयमा काम सम्पन्न गर्न नसकिएकाले अब चाँडै काम सुरु गर्ने तयारी भइरहेको निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सनका प्रतिनिधि विनोद बुढाथोकीले बताउनुभयो । पटक पटक म्याद थप हुँदा पनि सडक कालोपत्रेको काम नसकिए पनि चिसापानी र पुरानागाउँका जनता सडकको काम सम्पन्न गर्न निर्माण कम्पनी, स्थानीय सरकार र सरोकारवाला निकाय पनि गम्भीर नबनेको भन्दै आव्रmोशित भएका छन् ।