• १२ फागुन २०८०, शनिबार

समृद्ध र सुन्दर मटिहानी बनाउँछौँ

blog

महोत्तरी जिल्लाको १५ स्थानीय तहमध्ये मटिहानी नगरपालिकाले धार्मिक नगरीका रूपमा पहिचान बनाएको छ । साबिकको मटिहानी, धिरापुर, मझौरा विष्णुपुर र सिमरदही गाउँ विकास समिति मिलेर बनेको यस नगरपालिकामा नौ वटा वडा छन् । कुल ३६ हजार १३६ जनसङ्ख्या रहेको यसको क्षेत्रफल २९.०२ वर्गकिलोमिटर छ । पूर्वमा धनुषाको तुल्सीयाही, पश्चिममा जलेश्वर नगरपालिका, उत्तरमा पिपरा गाउँपालिका र दक्षिणमा भारत विहारको मधवापुर रहेको छ । यो नगरपालिकाले संस्कृत शिक्षा र धार्मिक पर्यटनको हिसाबले विकसित हुनुका साथै भौतिक पूर्वाधारको विकासले पनि गति लिएको देखिन्छ । यस नगरपालिकाले गरेको विकास निर्माण कार्य एवं भावी योजनालगायतको विषयमा केन्द्रित रहेर नगर प्रमुख हरिप्रसाद मण्डलसँग गोरखापत्रका जलेश्वर समाचारदाता महेशकुमार दासले गर्नुभएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ः

तपाईंलाई नगर प्रमुखमा दोस्रो पटक मटिहानीका मतदाताले जिताउनुको कारण के होला ?

पहिलो पटक निर्वाचित भएपछि जनताका अधारभूत कुरालाई चुनौतीका रूपमा लिएर काम गरेको थिएँ । नगरपालिकालाई सुन्दर र समृद्ध पालिका बनाउने प्रयास गरे । जुन ठुलो चुनौती नै थियो । जनताको आवश्यकतालाई बुझेर नै काम गरे । बजेट पनि त्यति धेरै थिएन । सन्तुलित बजेटलाई प्रभावकारी ढङ्गले जनताको मन जित्ने राम्रा काम गरेँ त्यहि भएर होला दोस्रो चुनावमा निर्वाचित गराएको महसुस भएको छ । 

दोस्रो पटक निर्वाचित भएपछि के के कामहरू गर्नुभयो ? 

पहिलो कार्यकालमा गर्न नसकेको कामलाई निरन्तरता दिने प्रयास गर्नुका साथै समग्र विकास कार्यलाई निरन्तरता दिने प्रयास गरेको हु । अधुरा रहेको कामलाई पूरा गर्ने अभिभारा जनताले दिएर नै दोस्रो पटक सेवा गर्ने अवसर दिएकाले सोही अनुरूप बाँकी कामलाई निरन्तरता दिने प्रयास गर्दै छु । सडक, शिक्षा, स्वास्थ्य जनताका आधारभूत कुरा मोडेलका रूपमा काम गरिरहेको छु । गर्न नसक्ने कामलाई पनि जिरो बजेटको आधारमा पनि सन्तुलित रूपमा काम गरिरहेको छु । वडाहरूको के आवश्यकता छ त्यसलाई पहिचान गरेर काम गरेको छु । नगरका धार्मिक पर्यटन, ऐतिहासिक, पौराणिक धरोहरको संरक्षण संवर्धनको प्रयास भरपुर रूपमा गरेको छुु । यहाँका मठ, मन्दिर तलाउलाई सौन्दर्यीकरण, हिन्दु तथा मुस्लिमको धरोहरलाई प्रचारप्रसारको काम गरिरहेको छु । नगर पूर्वाधारविहिन थियो तर अब भने यो पालिका नमुना बनाउने प्रयास जारी छ ।  

यो एकवर्षे कार्यकालमा स्वास्थ्य, शिक्षा र कृषिमा के कस्ता काम भएका छन् त ?

स्वास्थ्य, कृषि र शिक्षा क्षेत्रलाई नै केन्द्रित गरेर अहिलेसम्म धेरै काम गरेको छौँ । स्वास्थ्यतर्फ दुई वटा वडामा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएका छौँ । सुत्केरीका लागि पालिकाको बर्थिङ सेन्टरसम्म र नजिकको अस्पतालसम्म बिरामी लैजानका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छौँ । मेयरसँग समुदाय स्वास्थ्य सेवा कार्यव्रmम अन्तर्गत हरेक शुक्रबार स्वास्थ्य चौकीभन्दा बाहिर टोल टोलमा स्वास्थ्य जाँच गर्नुका साथै औषधी उपचार सेवा पु-याउने काम गरेका छौँ । प्रत्येक स्वास्थ्य चौकीमा महिनाको दुई दिन गर्भवती र बच्चाको जाँचका लागि ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रदान, गर्भमा रहेको बच्चा र आमाको स्वास्थ्यका लागि क्याल्सियम चक्की र प्रोटोकल अनुसार आठ पटक गर्भ जाँच गराउन प्रोत्साहित गर्ने कार्यक्रमहरू गरिरहेका छौँ । 

यस्तै शिक्षा क्षेत्रको विकासका लागि कक्षा ११ पढ्ने छात्रालाई साइकल वितरण गर्नुका साथै पालिकाको नौ वटै वडामा अभिभावक शिक्षा चलाइरहेका छौँ । भौतिक पूर्वाधारमा सात विद्यालयमा भवन कक्षाकोठा निर्माण भइरहेको छ भने करिब सात वटा विद्यालय तथा मदर्साहरूमा शौचालय तथा धाराहरू जडान गरिएको छ । बालविकासका बच्चालाई प्रोत्साहित गर्न विद्यालय शैक्षिक अवस्था सुधार र शुव्रmबारका दिन ‘फ्री बुक डे’ कार्यक्रम सञ्चालनमा ल्याएर अतिरिक्त व्रिmयाकलापमा विद्यार्थीलाई सहभागी गराउने कार्य भइरहेको छ । शिक्षातर्फ नै प्राविधिक अध्ययन गर्ने विद्यार्थीलाई जोडकोषमा आधारित कार्यक्रम अन्तर्गत ल्यापटप वितरण कार्यव्रmम पनि राखेका छौँ । 

यसै गरी हाम्रो पालिका धान र गहुँमा निर्भर हुने पालिका भएकाले उन्नत जातको गहुँ र धानको बिउ वितरण गरेका छौँ भने मखान खेती र त्यसको बजारीकरणको सामग्री वितरण गर्ने कामहरू भएको छ । आँपको बिरुवा निःशुल्क वितरण, साना सिँचाइ ट्युबेल जडानको कामहरू गरिरहेका छौँ, कृषकलाई पम्पिङसेट मोटर, विषादी छर्किने मेसिन वितरणलगायतका कार्यक्रम दोस्रो विशेष प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । यसका साथै ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्ने नीति अन्तर्गत ८५ वर्ष नाघेका वयोवृद्धलाई गर्मीबाट जोगाउन पङ्खा र झुल वितरणसमेत गरेका छौँ । 

मतदातासँग निर्वाचनका बेला गरिएका प्रतिबद्धता कति पूरा गर्नुभयो ?

दोस्रो कार्यकालका लागि निर्वाचनको प्रचारप्रसारकै व्रmममा मैले भनेकै थिएँ । विगतमा नभएको कामलाई निरन्तरता दिनुका साथै जिल्लाकै नमुना पालिका बनाउने वाचा गरेको थिएँ । त्यो वाचा पूरा गर्ने प्रयास गर्दै छु । अझै पनि चार वर्ष बाँकी छ, मतदातालाई भनेको एक/एक प्रतिबद्धता पूरा गरेर देखाउँछु । 

पहिलो कार्यकालभन्दा दोस्रो कार्यकालमा के भिन्नता पाउनुभयो र कस्ता कस्ता चुनौती देखा परेको छ ? 

पहिलो कार्यकाल मेरो लागि नयाँ अनुभव थियो । एकदमै चुनौती नै थियो तर मलाई एउटा कुराले धेरै नै सहयोग ग¥यो । म विगतमा सञ्चारकर्ममा लागेको कारण पालिकाको धेरै समस्या र चुनौतीसँग अवगत थिएँ । त्यहि भएर काम गर्न सजिलो भयो । जनताले चाहेको कुरा नजिकबाट देखेको र उहाँहरूको चाहना बुझेर काम गर्दै जाँदा सजिलो भयो । पहिलो कार्यकालमा पनि चुनौती नभएको होइन तर गर्न खोजे हरेक चुुनौतीको सामना गर्न सकिन्छ भन्ने विश्वास कै कारण सफल भएँ । दोस्रो कार्यकाल मेरो लागि एउटै पदमा काम गर्दा केही भिन्नता पाइन । जनताले चाहेको कुरा जबसम्म पूर्ण रूपमा गर्न सकिँदैन तबसम्म चुनौती रहिरहने छ । 

नगरपालिकामा आन्तरिक स्रोतसाधन के के छन् ? त्यसको परिचालन कसरी भइरहेको छ ? 

त्यति धेरै आन्तरिक स्रोतसाधन छैन । जे छ त्यसलाई नै प्रयोग गर्दै छौँ  । नगरपालिकासँग एक थान स्काभेटर, एक थान वारुणयन्त्र, तीन थान ट्याक्टर र दुई थान सवारीसाधन छ । ट्याक्टर फोहोर सङ्कलनलगायतको काममा प्रयोग भएको छ भने वारुणयन्त्र आगलागी नियन्त्रणमा । अरू साधन आवश्यकता अनुसार प्रयोग र परिचालन भइरहेको छ । 

सङ्घ र प्रदेश सरकारबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको थियो, सहयोग पाउनुुभएको छ कि छैन ? 

सङ्घ र प्रदेश सरकारसँग जुन खालको अपेक्षा गरेका छौँ, त्यो पक्कै पनि पूरा भएको छैन । विनियोजित बजेट प्राप्त भयो तर सङ्घ र प्रदेशबाट ठुलो योजना र दीर्घकालीन योजनाहरू पाएका छैनौँ । सानोतिनो योजना पाइराखेकै छौँ । ठुलो र दीर्घकालीन योजनाहरू ल्याउन ध्यानाकर्षण गराउने काम गरिरहेका छौँ । 

आगामी चार वर्षमा के कस्ता काम गर्ने योजना छ ?

आगामी चार वर्षमा विशेषगरी सबैभन्दा बढी कृषि, शिक्षा र भौतिक पूर्वाधारमा केन्द्रित भएर काम गर्ने योजना छ । मटिहानीलाई धार्मिक पर्यटन विकास दृष्टिकोणले र संस्कृत शिक्षाको हबका रूप दिने योजना छ ।  

तपाईंको दोस्रो कार्यकाल सकुन्जेल मटिहानीलाई कस्तो स्वरूप दिनुहुने छ ।  मेरो यो दोस्रो कार्यकाल सकुन्जेल समृद्ध र सुन्दर मटिहानी बनाउने र ग्रामीण क्षेत्र भए पनि यसलाई मिनी सहरको स्वरूप दिने प्रबल इच्छा छ ।