भैरहवा समाचारदाता
भैरहवा, भदौ २२ गते । रुपन्देहीको भैरहवास्थित जिल्ला भीम अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन अभाव भएको छ । कुकुरले टोकेर उपचारका लागि दैनिक ३० देखि ४० जनासम्म बिरामी आउने गरेको भीम अस्पतालमा भ्याक्सिन उपलब्ध छैन । सरकारीस्तरबाट निःशुल्क उपलब्ध गराइने उक्त भ्याक्सिन अस्पतालमा एक हप्तादेखि सकिएको हो । भ्याक्सिन नपाउँदा विपन्न वर्गका बिरामीलाई समस्या भएको छ ।
अस्प्तालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नुरुल होदाले आवश्यकता अनुसार भ्याक्सिन उपलब्ध गराउन महामारी तथा रोग नियन्त्रण महाशाखासमक्ष माग गरिएको जानकारी दिनुभयो । उहाँले खरिद प्रव्रिmया असहज भएकाले महाशाखाबाट उपलब्ध हुन नसकेको बताउनुभयो । अहिले यो समस्या मुलुकभरि नै भएको उहाँको भनाइ छ ।
अस्पताल प्रशासनका अनुसार विगत तीन महिनादेखि नै रेबिजविरुद्धको भ्याक्सिन अभाव भएको हो । भदौ महिना सुरु भएपछि २८० भायल एन्टिभेनम भ्याक्सिन आएकामा १५ गते नै सकिएको हो । कहिलेकाहीँ कुकुरले टोकेर उपचार गर्न आउने बिरामीको सङ्ख्या एक सयभन्दा धेरै हुने गर्छ । अस्पतालको इमर्जेन्सी कक्षकी प्रमुख सविता शर्माले रेबिजविरुद्धको भ्याक्सिन सकिएकाले उपचारार्थ आउने बिरामीलाई उपलब्ध गराउन नसकिएपछि बाहिरको औषधी पसलमा किन्न बाध्य भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “एन्टिरेबिज भ्याक्सिन सकिँदा निम्न आर्थिक अवस्थाका बिरामी आर्थिक समस्यामा परेका छन् । कतिपय बिरामीले भ्याक्सिन नपाइएको भन्दै झगडा गर्दा व्यवस्थापन गर्न समस्या हुने गरेको छ ।” उहाँका अनुसार कुकुरले टोकेको एक जना बिरामीलाई तीन पटकसम्म भ्याक्सिन लगाउनु पर्छ । एक भायल भ्याक्सिनको निजी पसलमा छ सय रुपियाँभन्दा धेरै मूल्य पर्छ ।
आर्थिक वर्ष २०७९/८० मा कुकुरको टोकाइबाट उपचारका लागि भीम अस्पतालमा आएका बिरामीको सङ्ख्या तीन हजार ७९३ थियो । छाडा कुकुरले सर्वसाधारणलाई साँझ बिहानको समयमा लखेटी लखेटी टोक्ने गरेको छ । घरपालुवा कुकुरले समेत टोकेर उपचार गराउन आउने बिरामी पनि अस्पतालमा उत्तिकै भेटिन्छन् ।