• २० असोज २०८१, आइतबार

राधाकृष्ण रथयात्राको उल्लास

blog

विराटनगर समाचारदाता

विराटनगर, भदौ २२ गते । श्रीकृष्ण जन्माष्टमीका अवसरमा हरेक वर्ष भव्यताका साथ आयोजना हुने रथयात्रा यस वर्ष पनि उल्लासका साथ सम्पन्न भएको छ । बिहानैदेखि विराटनगरका बस्तीमा झाँकीहरू प्रदर्शन गरेर रथयात्रालाई थप उल्लासमय बनाउँदै दिउँसो ३ः३० बजे तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा आरम्भ गरिएको थियो । रथयात्रामा सहभागी हुन विगतमा जस्तै यस पटक पनि हजारौँ श्रद्धालु भक्तजन विराटनगरको सडकमा उपस्थित भएका थिए । 

विक्रम संवत २०२४ सालदेखि हुँदै आएको रथयात्राको यो ५५ औँ संस्करण हो । हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा गर्ने प्रचलनलाई निरन्तरता दिइएको छ । विसं. १९८८ तिर खाटमा भगवान् कृष्ण र राधाको मूर्ति राखेर नगर परिक्रमा गराउने प्रचलनपछि २०२४ सालबाट रथयात्रामा परिणत भएको इतिहास छ । त्यसअघि खटयात्राका रूपमा यो उत्सव मनाइने गरिएको रथयात्रा मुल समितिले जानकारी दिएको छ । 

यस धार्मिक उत्सवमा यस पटक नेपाल र भारतबाट हजारौँ श्रद्धालु सहभागी भए । आयोजकले रथयात्रमा पाँच लाख मानिस सहभागी हुने जनाएको थियो । विशेष प्रकारले साजसज्जा गरी भगवान् राधाकृष्णको मूर्ति राखिएको आकर्षक रथलाई डोरीले तानेर नगरको १० किलोमिटर क्षेत्रमा परिव्रmमा गराइएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरूले रथ तान्ने व्यवस्था मिलाइएको थियो भने सुरक्षाका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो । 

रथयात्रा अवलोकन गर्न देशका विभिन्न नगरपालिका र उपमहानगरपालिकाबाट मेयरहरू विराटनगरमा निम्त्याइएको थियो । छिमेकी भारतका सहरबाट पनि मेयरहरू रथयात्रा अवलोकन गर्न विराटनगर आउनुभएको थियो । रथयात्रा अवलोकन गर्न काठमाडौँका मेयर बालेन साह, धरानका मेयर हर्क साम्पाङ, भरतपुर नगरपालिकाका मेयर रेनु दाहाल आउने प्रचार गरिए पनि अन्तिम समयमा उहाँहरू भने अनुपस्थित रहनुभयो । 

राधाकृष्ण मन्दिर तीनपैनीबाट दिउँसो ३ः३० बजेदेखि सुरु भएको रथयात्रा नगरका विभिन्न ४३ स्थानमा रोकेर पूजा गर्ने सुविधा दिइएको थियो । विगतमा ट्राफिक चोकबाट जनआन्दोलन चोकतर्फ मोडिने रथलाई यस पटक करिब एक किलोमिटर दक्षिणतर्फ रहेको रोडशेष चोकसम्म विस्तार गरिएको थियो । रोडशेष चोकबाट बसपार्क, जनआन्दोलन चोक, भृकुटी चोक, बरगाछी चोक, दुर्गा चोक हुँदै राधाकृष्ण मन्दिरमै पुगेर समापन गर्ने गरिएको थियो । 

हिन्दु धर्मावलम्बीले विशेष रूपमा मनाउने र उल्लास प्रकट गर्ने विराटनगरको रथयात्रामा अन्य धर्मावलम्बीहरूको पनि उत्तिकै सहभागिता रहने गरेको छ । रथयात्रालाई थप आकर्षक बनाउन सयौँ झाँकी प्रदर्शन गरिएको थियो । दर्जनौँ भजन मण्डली, धार्मिक सम्प्रदायहरूको झाँकी, लाखे नाच, कृष्ण भगवान्को प्रतीक बनाएर प्रदर्शन गरिएको थियो । रथयात्रालाई लक्षित गरेर विभिन्न समूहले विराटनगरका विभिन्न स्थानमा पिउने पानी वितरण गरेका थिए भने गाडीबाट प्रसाद वितरण गर्ने व्यवस्था आयोजक समितिले मिलाएको थियो ।  यसैबिच रथयात्राका क्रममा हुनसक्ने अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न खटिएको प्रहरीले शङ्कास्पद गतिविधि गर्ने ३८ जनालाई पक्राउ गरेको जनाएको छ । यद्यपि रथयात्रा शान्तिपूर्ण रूपमा सम्पन्न भइरहेको प्रहरीले जनाएको छ ।