• ९ मंसिर २०८१, आइतबार

भदौ २७ देखि नाटक ‘ह राम पण्डित’ मञ्चन

blog

गोरखापत्र समाचारदाता

काठमाडौं, भदौ २० गते । नाट्य आलेख तथा निर्देशन बारत लिम्बूको नाटक ‘ह राम पण्डित’ मञ्चनको तयारी रहेको छ। दैलो प्रोडक्सनको प्रस्तुति र भैरव अर्याल पुरस्करा गुठीको सहकार्यमा तयार भएको नाटक आउँदो भदौ २७ देखि असोज १३ गतेसम्म शिल्पी थिएटर, गोठाले नाटकघरमा मञ्चनको तयारी भएको हो। 

हास्यव्यङ्गका बादशाह मानिनु हुने स्व.भैरव अर्यालले लेख्नुभएको काउकुती, जय भुँडी, इतिश्री निबन्ध संग्रहभित्रको निबन्धकै आधारमा नाटक तयार पारिएको निर्देशक लिम्बूले बताउनुभयो। मानिस मरेपछि उसले जीवनमा गरेका कामको आधारमा उसको मृत्युपछि स्वर्ग वा नरकमा स्थायी रुपले जानुपर्ने कुरा हिन्दु धर्ममा आधारित लोक विश्वासमा आधारित नाटक रहेको छ। 

‘‘मानिस मरेपछि पनि कसरी उसको पाप र धर्मको लेखाजोखा हुन्छ, क–कसले यो काममा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका खेल्छन् यो प्रणालीमा कसरी मृतकले विशेष गरी चित्रगुप्तको कार्यालयमा प्रशासनिक रुपमा जे जस्ता झमेलाको सामना गर्छ यिनै कुरालाई नाटकमा प्रस्तुत गरिएको छ,’’ निर्देशक लिम्बुले भन्नुभयो। विशेष गरी नेपाली समाजमा सर्वसाधारणले सरकारी कार्यालयका कर्मचारीहरुबाट साना तिना कुरामा पनि ठूला समस्या र झन्झट व्यहोर्छन्। नजराना, घुस, रिसवत जस्ता चिज नदिएसम्म कुनै काम बन्दैन, कर्मचारीहरुको हप्काइ खानुपर्छ। 

त्यसैगरी, चित्रगुप्तको कार्यालयमा पुगेको मृतकले पनि चित्रगुप्त कार्यालयको कारिन्दालाई क्राइभेन कोसेली दिन नसक्दा उसको नामको तहकिकात नहुनु र धर्म र पाप कुनै नगरी मरेको आरोपमा उ पृथ्वीमै फर्कनु परेको रोचक तथ्य यस नाटकले उजागर गर्छ। 

नाटकमा  श्रवण राना मगर, बिकास जोशी, सविर चुराउटे, सविन कट्टेल, मिल्सन राई, सन्तोष गिरी, रोशन लोहोरुङ राई, उज्वल राई, सम्झना राई, छितिज सन्तोष माझीलगायतले अभियन गर्नुभएको छ।