• ५ जेठ २०८१, शनिबार

शिक्षाको गुणस्तर बढाउन व्यावहारिक ज्ञान आवश्यक

blog

कार्यक्रममा सहभागी भएका अतिथिहरु । तस्बिर : विन्दु थापा

बिन्दु थापा 

पाल्पा, भदौ २० गते । शिक्षा क्षेत्रको गुणस्तर विकासका लागि शिक्षकको व्यवस्थापनमा लगानी गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । 

मानव बेचबिखनविरुद्धको १७ औँ राष्ट्रिय दिवसको अवसरमा निबन्ध लेखन प्रतियोगितामा सहभागी वक्ताले सो कुरामा जोड दिएका हुन् । ‘सामाजिक न्याय र आर्थिक सशक्तीकरण, मानव बेचबिखनको निर्मूलन’ शीर्षकमा प्रतियोगिता भएको थियो । 

कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले गुणस्तरीय शिक्षाको विकास र प्रवर्धनका लागि बाल शिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षालाई थप जीवनोपयोगी र व्यावसायिक शिक्षाको रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले आजको शिक्षामा व्यावहारिक ज्ञानको आवश्यकता भएको भन्दै अबको शिक्षालाई परिवर्तन गर्नुपर्ने र घरमा गरिने कामधन्दा विद्यालयमा पनि सिकाउनुपर्ने, आदर सम्मान र सत्कारका कुराहरू सिकाउनुपर्ने प्रत्येक हप्ताको एक दिन यस्ता किसिमका ज्ञान सिकाउनु पर्नेमा जोड दिनुभयो । 

तानसेन नगरपालिकाका कार्यवाहक नगर प्रमुख यादवसिंह कार्कीले मानव बेचबिखन एक अपराध मात्र नभएर मानव अधिकार मर्यादा तथा मानिसको स्वतन्त्रपूर्वक बाच्न पाउने अधिकारको पनि गम्भीर उल्लङ्घन भएकाले यस्ता किसिमका घटनालाई निर्मूलीकरण गर्न निबन्ध प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्कीले अब विद्यालयमा समसामयिक विषयवस्तु उठान गर्दै यस्ता ज्ञानवर्धक कुराको प्रतियोगिता गर्नुपर्ने बताउनुभयो । कार्कीले माध्यमिक शिक्षामा आधारभूत प्राविधिक ज्ञान र सीपसहितको शिक्षा प्रदान गरी विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा सीपमा स्वरोजगार हुनसक्ने जनशक्ति तयार गर्नेगरी नमुना कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्कीले भन्नुभयो, ‘सामुदायिक विद्यालयका साथै संस्थागत विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकलाई प्रविधिमैत्री सीप विकास, शिक्षण कला, क्षमता विकास र असल अभ्यास शिक्षण सिकाइ आदानप्रदानका कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।’ 

तानसेन नगरपालिका शिक्षा शाखा प्रमुख कोपिला न्यौपाने, शिक्षक शेषनारायण चालिसेले शिक्षाको गुणस्तर बढाउन यस्ता कार्यक्रमको आवश्यकता रहेको बताउनुभयो ।  

प्रतियोगितामा तानसेन नगरपालिका भित्रका २३ विद्यालयका प्रतियोगी सहभागी भएका थिए । पाँचसय शब्द नघटाई लेखन गराइएको प्रतियोगितामा जनप्रिय विद्यालयका निशान्त भुसाल प्रथम, सेन क्यापितानियो आदर्श तिवारी द्वितीय, जनता माध्यमिक विद्यालयका संस्कृति खनाल तृतीय र रिभर भ्याली बोर्डिङ स्कुलका प्रवेश बस्याल सान्त्वना स्थान हासिल गर्नुभयो ।

प्रथम हुनेले ५ हजार नगद, प्रमाणपत्र र मेडल प्राप्त गर्नुभयो । द्वितीय हुनेले ४ हजार नगद, प्रमाणपत्र, तृतीयले ३ हजार र सान्त्वना हुनेले २ हजार नगद र प्रमाणपत्र प्राप्त गर्नुभयो ।