• ३० वैशाख २०८२, मङ्गलबार

३४ हजारभन्दा बढी बिरुवा रोपियो

blog

गुल्मीको विभिन्न स्थानमा विरुवा रोपिदै । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, भदौ २० गते । गुल्मीका विभिन्न स्थानमा ३४ हजारभन्दा बढी बिरुवा रोपिएको छ ।  गत असार १५ गतेदेखि हालसम्म जिल्लाका सामुदायिक वन क्षेत्र तथा राष्ट्रिय वन क्षेत्रमा विभिन्न कार्यक्रम अन्तर्गत ३४ हजार ९०९ बिरुवा रोपिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी मुना शर्माले जानकारी दिनुभयो ।

सूचना अधिकारी शर्माका अनुसार डिभिजन वन कार्यालयबाट वितरण गरिएका बिरुवाहरू जिल्लाका विभिन्न स्थानमा २८.३८ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरिएको छ । खयर, खोटेसल्ला, तेजपात, चिउरी, पैयुँ, गुलमोहर, टुनी, लप्सी, अमला, निमारो, हर्रो, बर्रो, बेल, बाँस, खयरलगायतका बिरुवा रोपण गरिएको छ । 

धुर्कोट गाउँपालिका–५ मा रहेको सम्मान राष्ट्रिय वन क्षेत्रमा कूल ३.०८ हेक्टर क्षेत्रफलमा पाँच हजार दश सङ्ख्यामा खयर, खोटेसल्ला, तेजपात, चिउरी, पैयुँ, गुलमोहर, टुनी, लप्सी, अमलाका बिरुवा रोपण गरिएको छ । मालिका गाउँपालिका–१ मा रहेको तिखेचुली सामुदायिक वनमा कूल १ हेक्टर क्षेत्रफलमा एक हजार ६०० सङ्ख्यामा निमारो, अमला, टुनी, हर्रो, बर्रो लप्सीलगायतका बिरुवा रोपण गरिएको छ । 

मुसिकोट नगरपालिका–४ मा रहेको पैयाढीक सामुदायिक वनमा ०.५६ हेक्टर क्षेत्रफलमा ८०० तेजपातका बिरुवा रोपण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । सत्यवती गाउँपालिका–२ मा रहेको सिद्ध गुफा सामुदायिक वनमा १.४ हेक्टर क्षेत्रफलमा दुई हजार २४० सङ्ख्यामा चिउरी, अमला, बेल, बाँसका बिरुवा रोपण गरिएको छ । 

सोही वडाकै रानीवन सामुदायिक वनमा १.२९ हेक्टर क्षेत्रफलमा दुई हजार १६९ सङ्ख्यामा चिउरी, अमला, खयरलगायतका बिरुवा रोपण गरिएको छ । सोही गाउँपालिकाकै वडा –४ मा रहेको रिप देउराली सामुदायिक वनमा १.७ हेक्टर क्षेत्रफलमा दुई हजार ७२० सङ्ख्यामा चिउरी र अमलाका बिरुवा रोपण गरिएको छ । 

रुरुक्षेत्र गाउँपालिका–१ मा रहेको भ्यू पाइन्ट सार्वजनिक क्षेत्रमा ०.८५ हेक्टर क्षेत्रफलमा एक हजार ६०० सङ्ख्यामा अमलाका बिरुवा रोपण गरिएको छ । सोही गाउँपालिकाकै वडा –४ मा रहेको भालुखोला सामुदायिक वनमा ०.८५ हेक्टर क्षेत्रफलमा एक हजार ३६० सङ्ख्यामा अमला, बाँस, खयरका बिरुवा रोपण गरिएको छ । 

छत्रकोट गाउँपालिका–३ मा रहेको छत्रदेवी हरियाली सामुदायिक वनमा १.६५ हेक्टर क्षेत्रफलमा दुई हजार ६४० सङ्ख्यामा तेजपात, बाँस, अमलाका बिरुवा रोपण गरिएको छ । सोही वडाकै शृङ्गार सामुदायिक वनमा ०.८५ हेक्टर क्षेत्रफलमा एक हजार ३६० सङ्ख्यामा तेजपात र बाँसका बिरुवा रोपण गरिएको सूचना अधिकारी मुना शर्माले जानकारी दिनुभयो । त्यस्तै, मालिका गाउँपालिका, रेसुङ्गा नगरपालिका र सत्यवती गाउँपालिकाका विभिन्न स्थानमा १५ हेक्टर क्षेत्रफलमा १३ हजार ४१० सङ्ख्यामा ओखरका बिरुवा लगाइएको छ । 

वनको उत्पादन बढाउन, आर्थिक महत्वका बिरुवा रोपणसँगै वनमा आर्थिक सुधार कायम गर्न वृक्षारोपण गरिएको बताउँदै उहाँले बाढीपहिरो नियन्त्रण गर्न यसरी विभिन्न स्थानमा वृक्षारोपण गरिएको उल्लेख गर्नुभयो । त्यस्तै, नागरिकको मागअनुसार निःशुल्क बिरुवा वितरण गरी वृक्षारोपण धेरैभन्दा धेरै होस् भन्ने चाहना राखिएको उहाँले बताउनुभयो ।