सिराज खान
नेपालगन्ज, भदौ २० गते । नेपालगन्ज २० गायत्रीनगरकी ३८ वर्षीया मनकुमारी नेपालीको जन्मेदेखि नै दुवै खुट्टा कमजोर, सानो र नचल्ने हुँदा हिँडडुल गर्न सक्नु भएको छैन ।
हिँडडुल गर्न नसक्ने भएपछि उहाँको अधिकांश समय घरको कोठामै बित्नेगरेको छ । दिसा–पिसाब गर्न जान पनि नेपालीलाई आफन्तको सहयोग चाहिन्छ । अपाङ्गताका कारण वर्षौवर्षदेखि घरको कोठा र आँगनमा मात्रै सीमित हुनुभएकी मनकुमारीलाई घर बाहिर पनि आउन–जान सहज होस् भनेर कतार च्यारेटि नेपालले ट्राइसाईकल (तीन पाङ्ग्रे हाते साइकल) प्रदान गरेको छ ।
नेपालीले पहिलो पटक तीन पाङ्ग्रे हाते साइकल पाएपछि आँखाबाट खुसीको आँसु झार्दै अब आफू पनि अरूजस्तै बजार, आफन्तको घर र अन्य ठाउँमा जानसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘म पनि अरूजस्तै बजार र आफन्तको घरसम्म हाते साइकल चलाएर जान पाउँला भन्ने कल्पना गरेको थिएन । तर आज मेरो सपना र कल्पना दुवै पूरा भएको छ ।’
तीन पाङ्ग्रे हाते साइकल पाएपछि मनकुमारीको अनुहार र हाउभावै नै बेग्लै देखिएको थियो । खुसीको चमक उहाँको आँखा र अनुहारमा प्रस्ट देख्न सकिन्थ्यो । उहाँले यस्तो पीडा संसारमा कसैले पनि भोग्नु नपरोस् भन्ने कामना गर्दै यो गुन लगाउने सबैप्रति सधैँ आभारी रहने प्रतिबद्धता जनाउनुभयो ।
सोहीप्रकार नेपालगन्ज २० गायत्रीनगरकै अर्का अपाङ्गता भएका ५५ वर्षीय विष्णुबहादुर तामाङको पनि अनुहारमा चमक र खुसी देखिन्छ । उहाँले पनि सोही अवसरमा ट्राइसाईकल पाउनुभयो । २०४१ मा नेपालगन्ज बिपीचोक नजिकै सडक दुर्घटनामा परेर दुवै खुट्टामा गम्भीर चोट लाग्दा हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका उहाँको पनि अधिकांश समय घरमै बित्नेगरेको थियो ।
उहाँले पनि मनकुमारीसँगै तीन पाङ्ग्रे हाते साइकल पाउनु भएपछि फेरि पुरानो दिन फर्किने आशा पलाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘२०४१ मा ममाथि ठुलो बज्रपात भयो । दुर्घटनामा परेपछि जीवन नै समाप्त भएकोजस्तो लाग्यो, सधैँ बाहिर हिँड्ने मानिस घरभित्र कैद हुनुपर्यो । अहिले आएर हाते साइकल पाएपछि खुसी लागेको छ । अब म पनि अरूजस्तै मन लागेको ठाउँमा जान्छु ।’
कतार च्यारेटिले मनकुमारी र विष्णु तामाङजस्तै बाँकेका ६ पालिकाका ३० जना अपाङ्गता भएका महिला र पुरुषलाई तीन पाङ्ग्रे हाते साइकल वितरण गरेको छ । नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका र खजुरा गाउँपालिकाका ३० जना महिला–पुरुषको छनोट गरेर ट्राइसाइकल वितरण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।