राजु लामिछाने
रुकुमपश्चिम, भदौ २० गते । रुकुमपश्चिममा सर्पको टोकाइबाट एक सुत्केरी महिलाको ज्यान गएको छ । चौरजहारी नगरपालिका–१३ की २२ बर्षीया विनीता विष्टको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो ।
मंगलबार दिउँसो घरनजिकै बारीमा गाईबस्तुलाई घाँस काट्नेक्रममा विष्टलाई सर्पले टोकेको थियो । सर्पले टोकेपछि उहाँलाई गाउँकै घरेलु उपचारले ठीक हुने झारफुक गरेर राखिएको थियो ।
आज बुधबार बिहान २ बजे नवजात शिशुको जन्म दिनुभएकी विष्टलाई रक्तस्राव समेत भइरहेको थियो । उहाँलाई उपचारका लागि बिहान ५ बजे चौरजहारी अस्पताल ल्याइएको र उपचारको क्रममा मृत्यु भएको चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सर्पको विष शरीरमा फैलिएको थियो भने रक्तस्राव पनि रोकिएको थिएन । समयमै अस्पतालमा ल्याएको भए उहाँको ज्यान बचाउन सकिने अवस्था रहेको प्रशासक गिरीले उल्लेख गर्नुभयो । अन्तिम अवस्थामा मात्र सुत्केरीलाई अस्पताल ल्याइएको थियो ।
सर्पले टोकेपछि व्यथा नलाग्दै बच्चा जन्मेको थियो । अस्पतालका अनुसार बच्चा जन्मने समयावधि पनि कात्तिक महिनामा रहेको थियो । समय नपुगेर जन्मेको नवजात शिशुको अहिले अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको छ । शिशुको शरीरमा पनि सर्पको विष फैलिएकाले एन्टिस्नेक भेनममार्फत उपचार सुरु गरिएको चिकित्सकको भनाइ छ । बच्चाको अवस्था पनि गम्भीर रहेको छ ।
रुकुमपश्चिममा बर्सेनि सर्पदंशका बिरामीले उपचार अभावमा ज्यान गुमाउँदै आइरहेका छन् । चौरजहारी अस्पतालका अनुसार गत साउन महिनामा पनि सानीभेरी गाउँपालिकाका एक बालकको सर्पको टोकाइबाट मृत्यु भएको थियो ।
कर्णाली प्रदेशको रुकुमपश्चिमलाई सरकारले विषालु सर्प नपाइने जिल्लाको सूचिमा राखेका कारण सर्पदंशबिरुद्ध लगाइने एन्टीस्नेक भेनम सरकारी कोटाबाट पाइँदैन । सर्पदंशबिरुद्धको खोप अत्यन्तै महँगो हुने र सरकारीस्तरबाट यस जिल्लामा सप्लाई नहुने भएकाले समयमै उपचार नपाउँदा बिरामीको ज्यान जाने अवस्था छ । सर्पले टोकेका बिरामीलाई जिल्ला बाहिर सुर्खेत, नेपालगन्ज पठाउँदा कतिपय बिरामीको बाटोमा नै ज्यान जानसक्ने जोखिम समेत हुनेगरेको स्वास्थ्यकर्मीको भनाइ रहेको छ ।