• ९ मंसिर २०८१, आइतबार

अभिनेत्री गौरी मल्लको ‘धिन ताका नाका धिन’ सार्वजनिक

blog

काठमाडौं, भदौ २० गते । अभिनेत्री गौरी मल्लको तीज गीत ‘धिन ताका नाका धिन’ सार्वजनिक भएको छ । मङ्गलबार साँझ काठमाडौँमा एक कार्यक्रमबीच गीत सार्वजनिक भएको हो ।

सार्वजनिक समारोहमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, वरिष्ठ अभिनेत्रीद्वय वसुन्धरा भुसाल, मिथिला शर्मा लगायतका कलाकारहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्नुहुँदै वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले मानिसहरू कुर्सीका लागि लड्ने गरेको र आफूले पाएको कुर्सी किन छोड्नु भनेर कुर्सीमा बसेको भन्दै राजनीतिक दल र नेताहरूप्रति व्यङ्ग्य गर्नुभयो । उहाँले आफूले मिथिला शर्मा र गौरी मल्ललाई नाट्यश्वेरीका दुई छोरीहरूको रूपमा लिएको बताउनुभयो ।

वरिष्ठ अभिनेता श्रेष्ठले उहाँहरू दुवैको अभिनय, नृत्य, व्यवहारमा पोख्त रहेको उल्लेख गर्नुभयो । उहाँले आफू जन्मिएको ६ महिनामै आमा बितेकाले आमाको माया थाहा नपाएको बताउनुभयो । उहाँले अरूका आमाले आफ्ना छोराछोरीलाई गरेको माया देखेर आफूले आमाको माया थाहा पाएको अनुभव सुनाउनुभयो । उहाँले आफूले अन्तरजातीय विवाह गरेकाले आफ्नो पितासँग आँखाले बोलेको अनुभव सुनाउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै वरिष्ठ अभिनेत्री वसुन्धरा भुसालले गौरी मल्ल बहुप्रतिभाशाली भएको बताउनुभयो । कार्यक्रममा बोल्नुहुँदै वरिष्ठ अभिनेत्री मिथिला शर्माले भित्री मनमा अझै पुरानो याद आइरहने बताउनुभयो । उहाँले गौरी मल्ल लेखेर र भनेर नभई आफ्नो व्यवहारबाट कर्तव्य पूरा गरेको जानकारी दिनुभयो ।

वरिष्ठ अभिनेत्री गौरी मल्लले आफ्नो देशभन्दा ठुलो अरू केही नहुने जिकिर गर्नुभयो । आफ्नो देशमा हुँदा निर्धक्कताको बोध भइरहने बताउनुभयो । उहाँले आफूलाई लेख्न, पढ्न र गाउन सानैदेखिको चाहना भएको बताउनुभयो ।

अभिनेत्री मल्लकै स्वर शब्द र सङ्गीतमा रहेको सो गीतमा मल्लसँगै अभिनेत्री मिथिला शर्मालगायत चर्चित कलाकार फिचर्ड छन् । गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । सो म्युजिक भिडियोको निर्देशन सन्तोष राजवाहकले गर्नुभएको हो । म्युजिक भिडियो गौरी मल्ल च्यानलबाट सार्वजनिक गरिएको छ ।