• ९ जेठ २०८१, बुधबार

शिक्षामा सुधार गर्दै गाउँपालिका

blog

गणेश पौडेल 

पर्वत, भदौ २० गते । पर्वतको जलजला गाउँपालिकाले विद्यालय सुधारका लागि वार्षिक कार्ययोजना बनाएर काम थालेको छ । वार्षिक कार्ययोजना अनुरूप विद्यार्थी, शिक्षक र अभिभावकलाई लक्षित गरी शिक्षा क्षेत्र सुधार योजना बनाएको हो । 

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार पहिलो चरणमा शिक्षकलाई अभिमुखीकरण, विद्यार्थीसँग अन्तव्र्रिmया र अभिभावक शिक्षा कार्यव्रmम सम्पन्न गरेको छ । शैक्षिक गुणस्तर नहुँदा शिक्षाका लागि गाउँ छाडेर हिँड्ने अभिभावकको सङ्ख्या बढ्न थालेपछि गाउँपालिकाले शैक्षिक सुधारलाई पहिलो प्राथमिकता दिएको हो । 

विद्यार्थीलाई अनुकूल वातावरण निर्माण गर्दै उनीहरूको सिकाइमा थप सहजीकरणका लागि ‘अभिभावक शिक्षा’ को खाँचो देखिएकाले जलजलामा रहेका ४७ वटै सामुदायिक विद्यालयका अभिभावकलाई शिक्षा दिन लागिएको अध्यक्ष आचार्यले बताउनुभयो । सूचना र प्रविधिको बढ्दो प्रयोग, शिक्षा क्षेत्रमा भइरहेका परिवर्तन, समयको माग अनुसार बालबालिकाप्रति गर्नुपर्ने व्यवहार, बालबालिका र विद्यालयप्रति अभिभावकको दायित्वलगायतका विषयमा जानकारी दिएर अभिभावकलाई थप जिम्मेवार बनाउन लागिएको उहाँको भनाइ छ । 

जिल्लाको पैयुँ गाउँपालिकाले कक्षामा विद्यार्थी टिकाउन कक्षा ६ का विद्यार्थीको दिवा खाजाको व्यवस्थापन आफैँले गरेको छ । गाउँपालिकाले यस आर्थिक वर्षमा पैयँु गाउँपालिकामा सञ्चालित १० सामुदायिक विद्यालयका १५५ जना विद्यार्थीका लागि खाजाको व्यवस्थापन गर्ने निर्णय गरेको हो । 

नेपाल सरकारले कक्षा ६ सम्मका विद्यार्थीलाई प्रदान गर्दै आइरहेको दिवा खाजा यही शैक्षिक सत्र २०८० देखि कक्षा ६ सम्मका विद्यार्थीलाई कटौती गरी कक्षा ५ सम्मलाई मात्र उपलब्ध गराउने निर्णय गरेको थियो । सरकारको निर्णयले कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थी मारमा परेको हुँदा गाउँपालिकाले सङ्घीय सरकारको व्यवस्थापन हुन नसकेको खण्डमा पालिकाले आफैँ बेहोर्ने गरी उक्त निर्णय गरेको हो । 

गाउँपालिकाका अध्यक्ष तोरण मल्लले सामुदायिक विद्यालयमा पढ्ने अधिकांश विद्यार्थी विपन्न परिवारका भएकाले पहिलो चरणमा ६ कक्षाका विद्यार्थीलाई खाजा खुवाउने निर्णय गरिएको हो । उहाँका अनुसार आगामी वर्ष अन्य कक्षामा पनि विस्तार गर्न छलफल भइरहेको बताउनुभयो । 

जिल्लाको महाशिला गाउँपालिकाले आफ्नो पालिकाभित्र रहेका विद्यालयमा १० कक्षाका विद्यार्थीका लागि आवासीय कक्षा सञ्चालन गर्दै आएको छ । १० कक्षामा पढ्ने विद्यार्थीलाई आवासी कक्षा सञ्चालन गर्दा एसइईमा राम्रो नतिजा आउने भएकाले यस्तो सुरुवात गरिएको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो । 

उहाँका अनुसार होस्राङ्दीको गोर्लाङधाम आधारभूत विद्यालयमा पूर्ण रूपमा आवासीय कक्षा सञ्चालन हुने गरेको छ भने गत वर्षदेखि दुई माध्यमिक विद्यालयमा आवासीय कक्षा सञ्चालन गरिएको हो । यस वर्षदेखि अन्य विद्यालयमा समेत आवासीय कक्षा सञ्चालन गर्ने गरी बजेट विनियोजन गरिएको उहाँको भनाइ छ । आवासीय कक्षा सञ्चालन गर्ने विद्यालयका तीन जना कर्मचारी र शिक्षकलाई ३५ प्रतिशत थप प्रोत्साहन भत्ता दिने गरेको अध्यक्ष भुसालले जानकारी दिनुभयो ।