• २ जेठ २०८२, शुक्रबार

शल्यक्रिया सेवा बन्द भएपछि सास्ती

blog

रवीन्द्र उप्रेती 

बर्दिबास, भदौ २० गते । प्रसूति सेवाका लागि मधेश प्रदेशमै उत्कृष्ट मानिएको बर्दिबास अस्पतालमा तीन सातादेखि यो सेवा प्रभावित भएको छ । अस्पतालकी सिनियर नर्स चण्डिका अधिकारीका अनुसार अस्पतालमा सामान्य अवस्थाका सुत्केरी सेवा सुचारु रहे पनि शल्यक्रिया (अपरेसन) गर्नुपर्ने अवस्थाका सेवा भने भदौ १ गतेदेखि नै बन्द भएको हो । 

अस्पतालले शल्यक्रिया सेवा बन्द गरेपछि निजी अस्पताल भने मालामाल भएका छन् । यही मौका पारेर एउटा निजी अस्पतालले शल्यक्रिया गरेर सुत्केरी गराएबापत डेढ लाख रुपियाँ माग गरेको खबर यहाँ चर्चाको विषय बनेको थियो । बर्दिबास अस्पतालले भने प्रसूतिसम्बन्धी सबै शल्यक्रिया निःशुल्क गर्दै आएकाले सेवा बन्द हुँदा सर्वसाधारण मर्कामा परेका हुन् । 

सिनियर नर्स अधिकारीका अनुसार साउन महिनामा अस्पतालमा दुई सय महिला सुत्केरी भएका थिए । त्यसमध्ये ८० महिलाको शल्यक्रिया गर्नु परेको थियो । पछिल्लो पटक शल्यव्रिmया गरिएका पाँच जना महिलामा इन्फेक्सन भएपछि यो सेवा बन्द गर्नुपरेको उहाँले बताउनुभयो । 

अस्पतालका डा. चन्द्रमणि खत्रीका अनुसार बिरामी सङ्व्रmमित हुन थालेपछि कारण पत्ता लगाउन शल्यक्रिया कोठाको पानी, श-या सबैको ‘स्वाब’ सङ्कलन गरी ल्याब टेस्ट गरिएको थियो । टेस्टमा जिवाणु देखिएपछि तत्कालका लागि शल्यक्रिया बन्द गरिएको हो । शल्यक्रिया कोठा पनि साँघुरो थियो । अहिले मर्मत गरेर कोठा फराकिलो पारिएको छ । सरसफाइलगायतका आवश्यक व्यवस्था मिलाइएकाले छिटै शल्यक्रिया सेवा सुचारु गरिने उहाँले बताउनुभयो । 

“मर्मतपछि जीवाणुको अवस्था पत्ता लगाउन शल्यक्रिया कोठाका स्वाब पुनः सङ्कलन गरी प्रादेशिक असपतालको ल्याबमा पठाउने तयारी भइरहेको छ,” डा खत्रीले भन्नुभयो, “७२ घन्टापछि परीक्षण रिपोर्ट प्राप्त हुन्छ । त्यसमा जीवाणु ‘नेगेटिभ’ देखिए शल्यक्रिया सेवा सुरु गर्छौं । नभए थप केही दिन पर्खनुपर्ने हुन्छ ।” बर्दिबास अस्पतालमा साउन महिनामा मात्रै ८० जना सुत्केरीसमेत हात खुट्टाका बिरामी गरी सय जनाको निःशुल्क शल्यक्रिया भएको थियो ।