• १ जेठ २०८२, बिहिबार

‘डोजरे विकास’ ले निम्त्यायो विनाश

blog

हेटौँडा समाचारदाता

हेटौँडा, भदौ २० गते  । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले डोजरे विकासले विनाश निम्त्याएको बताउनुभएको छ ।  प्रकोप पूर्वतयारी सञ्जाल नेपालको आयोजना एवं अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोगको आर्थिक प्राविधिक सहयोगमा मङ्गलबार हेटौँडामा भएको प्रदेशस्तरीय विपत् जोखिम न्यूनीकरण नीति कार्यान्वयन तथा सिकाइ कार्यक्रममा मन्त्री श्रेष्ठले ३० वर्षको अवधिमा पर्यावरणमैत्री विकास गर्नेतिर खासै चासो नदेखिएको बताउँदै विकास गर्ने नाममा भत्काउने काम मात्रै भएको धारणा व्यक्त गर्नुभयो । 

“तीनै तहको सरकारले डोजरे विकासलाई कडाइपूर्वक नियन्त्रण गर्नु पर्छ । भत्काइएका ठाउँको स्तरोन्नति हुनु पर्छ, थप भत्काउनेतिर हामी लाग्नु हुँदैन,” उहाँले भन्नुभयो । पर्यावरण विनाश र विकासका नाममा विनाश निम्त्याउने प्रमुख कारक तत्त्व डोजरे विकास रहेको मन्त्री श्रेष्ठको टिप्पणी छ । उहाँले बागमती प्रदेशमा पहिरोको उच्च जोखिम रहेको बताउँदै मन्त्रालयबाट विनियोजित बजेटबाट पहिरो पूर्वसूचना प्रणाली जडान गर्ने कार्यव्रmम बनाउने प्रतिबद्धता जनाउनुभयो । 

नेपाल सरकारका पूर्वसचिव केदार न्यौपानेले विपत् जोखिम न्यूनीकरण नीति कार्यान्वयनमा प्रदेश सरकारको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्दै विपत् हुनुअघि ९० प्रतिशत र विपत्पश्चात् १० प्रतिशत काम गर्नुपर्ने भए पनि वर्तमान समयमा उल्टो भइरहेको बताउनुभयो । प्रकोप पूर्वतयारी सञ्जाल नेपालका कार्यवाहक अध्यक्ष डा. राजु थापाले नेपालमा विपत्को परिदृश्य र विपत् व्यवस्थापन नीति विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।