बाबुराम कार्की
वराहक्षेत्र (सुनसरी), भदौ १९ गते । वराहक्षेत्र नगरपालिकाले नगर क्षेत्रमा रहेको एक मात्र क्याम्पस सप्तकोशी बहुमुखी क्याम्पसलाई कलेज बस उपलब्ध गराउने भएको छ । नगर प्रमुख रमेश कार्कीका अनुसार नगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ को वार्षिक बजेटमार्फत क्याम्पसलाई एउटा बस उपलब्ध गराउन ३२ लाख बजेट विनियोजन गरिएको हो ।
बस खरिदका लागि प्रत्येक वडाहरूबाट दुई दुई लाख गरेर २२ लाख र नगरपालिकाबाट १२ लाख रकम विनियोजन गरिएको नगर प्रमुख कार्कीले बताउनुभयो ।
“उच्च शिक्षा अध्ययनका लागि धरान, इटहरी, इनरुवा जानुपर्ने बाध्यतालाई हटाउन मधुवन, प्रकाशपुर, भरौल र चतराका विद्यार्थीहरूलाई क्याम्पस आउन सहज होस् भनेर क्याम्पसलाई अनुदानमा बस उपलब्ध गराउने निर्णय गरेका छौँ,” नगर प्रमुख कार्कीले भन्नुभयो ।
नगरपालिकाले बस अनुदानको लागि बजेट विनियोजन गरेपछि क्याम्पस प्रशासनले पनि बस खरिदको लागि प्रक्रिया अगाडि बढाएको छ । वडा नं ७ स्थित नगरपालिकामा रहेको एक मात्र बहुमुखी सामुदायिक क्याम्पसमा पूर्वमन्त्री सुनसरी क्षेत्र नम्बर ४ का माननीय ज्ञानेन्द्रबहादुर कार्कीको पहलमा भारतीय राजदूतावासको सहयोगमा एउटा बस सञ्चालनमा रहेको छ । थप एउटा बस क्याम्पसले भाडामा लिएर सञ्चालन गरिरहेको छ ।
२०६७ सालदेखि नगर क्षेत्रमै पहिलो स्नातक तहसम्म पढाइ हुने सप्तकोसी बहुमुखी क्याम्पस सञ्चालनमा आएको थियो । चक्रघट्टीमा रहेको क्याम्पसमा व्यवस्थापन र शिक्षा समूहमा अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुँदै आएको छ । नगरक्षेत्र, धनकुटा, भोजपुर र उदयपुर सम्मका विद्यार्थी पढ्न आउने गरेका छन् ।
शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर काम गर्दै आएका छौँ । नगरले सप्तकोशी बहुमुखी क्याम्पसमा प्राविधिक विषय सहितमा स्नातकोत्तर तहसम्मको क्याम्पस बनाउने योजना रहेको नगरप्रमुख कार्कीले बताउनुभयो ।