• १३ साउन २०८१, आइतबार

'टी टेस्टिङ' अनुसन्धान केन्द्र निर्माण

blog

प्रेम अधिकारी 

पशुपतिनगर(इलाम), भदौ १९ गते । देशकै पहिलो 'टी टेस्टिङ्' सहितको अनुसन्धान केन्द्र इलामको कन्याममा निर्माण भएको छ । विदेशी चिया पारखीलाई लक्षित गरी सूर्योदय नगरपालिका र कोशी प्रदेश सरकारको लागानीमा कन्याममा 'टी टेस्टिङ्' सहितको अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको हो । 

आर्थिक वर्ष २०७६-०७७ मा सुरु भएको टी टेस्टिङ् सेन्टरसहितको अनुसन्धान केन्द्रको निर्माण १३ करोड ६५ लाखको लागतमा सम्पन्न भएको सूर्योदय नगरपालिकाका इन्जिनियर आशिष सुवेदीले जानकारी दिनुभयो । उक्त टी टेस्टिङ सेन्टर सहितको अनुसन्धान केन्द्र निर्माणका लागि कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाले लगानी गरेका थिए । 

इन्जिनियर सुवेदीका अनुसार दुई चरणमा गरेर निर्माण सम्पन्न भएको हो । पहिलो चरणमा आर्थिक वर्ष २०७६-०७७ मा भवन निर्माणको काम आशिष/आशीर्वाद जे.भीले ठेक्का लिएको थियो । दोस्रो चरणमा भित्री डिजाइनसहितको काम सूर्योदय/फाल्गुनन्द जेभीले ठेक्का सम्झौता गरेको थियो । सुवेदीका अनुसार अब सेन्टरसम्म पुग्ने सडक कालोपत्रेसहितको थोरै काम बाँकी रहेकाले उक्त काम सक्नका लागि ठेक्का प्रक्रियामा छ । 

सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले आर्थिक वर्ष २०८०-०८१ मै टी टेस्टिङ् सहितको अनुसन्धान केन्द्र सञ्चालनमा आउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाँकी रहेका काम सम्पन्न गर्नासाथ केन्द्र सञ्चालनमा आउँछ ।”

सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले टी टेस्टिङ् सहितको अनुसन्धान केन्द्र निर्माणले सूर्योदयको मात्र नभई देशकै लागि गौरवको विषय भएको बताउनुभयो । उहाँले देशमै पहिलो पटक टी टेस्टिङ् सहितको अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको बताउनुभयो । नगरप्रमुख राईले उक्त स्थानमा चिया सङ्ग्राहलय, चिया टेस्टिङ, चिया बिक्री कक्ष, गेष्टहाउस र सभाहल रहेको जानकारी दिनुभयो । विदेशी चिया पारखीका लागि उक्त स्थानमा नगरले सुविधा सम्पन्न गेष्ट हाउस सञ्चालन गर्ने भएको छ । 

नगरप्रमुख राईले भन्नुभयो, “चियाको स्वाद चाख्न आउने चिया पारखी र चियाको अनुसन्धान गर्नका आउनेका लागि अब गर्विलो ठाउँ तयार भयो ।” नगरप्रमुख राईले उक्त केन्द्र निर्माणले नगरको आन्तरिक आम्दानीसमेत बढ्ने बताउनुभयो । उक्त केन्द्रमा दाम बढेको आधारमा स्वदेशी तथा विदेशी चिया पारखीले चिया खरिद गर्न सक्नेछन् । चियाको अनुसन्धान गर्न आउनेका लागि चियासम्बन्धी सबै जानकारी उक्त अनुसन्धान केन्द्रमा राखिनेछ । 

सूर्योदय नगरपालिकाको अधिकांश भूभाग चियाले ढाकेको छ, जसले गर्दा यस नगरलाई चियाको राजधानी भनिन्छ ।