शालिग्राम नेपाल
चितवन, भदौ १८ गते । चितवन राष्ट्रिय निकुञ्जभित्र कालोपत्रेसहितको सडक निर्माणका लागि काम अगाडि बढाइएको छ । भरतपुरको जगतपुर ध्रुवघाटदेखि माडीको वनकट्टा र माडी ठोरीको सडक दुवै क्षेत्रमा कालोपत्रे सडकसहित पुल निर्माणको प्रक्रिया अगाडि बढेको हो ।
वन तथा वातावरण मन्त्रलायले निकुञ्जभित्र भौतिक संरचना निर्माणका लागि वातावरण प्रभाव मूल्याङ्कन (इआइए) गर्नका लागि २०७९ साल असोज ४ गते अनुमति दिएको थियो । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय, वीरगन्जका प्रमुख ध्रुवकुमार झाले इआइएसँगै डिपिआर पनि निर्माण गर्न अनुमति माग गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “एकै पटक दुई वटा काम सम्पन्न गर्ने योजना रहेको छ । इआइएसँगै डिपिआर सम्पन्न गर्न सकेमा अर्को आर्थिक वर्षदेखि टेन्डर आह्वानमा जान सकिन्छ । इआइएका लागि अनुमति पाएका छौँ । पछि डिपिआर गर्न फेरि अनुमति माग्नुपर्ने, युनेस्कोले अवरोध गर्न सक्ने भएकाले एकै पटक काम सक्नका लागि प्रक्रिया अगाडि बढाएको हो । अब एक हप्ताभित्र डिपिआरका लागि अनुमति आउने निश्चित भएको छ ।”
डिपिआर निर्माण गर्दा ‘अन्डरपास’ र ‘फ्लाइओभर’ बनाउने क्षेत्र निर्धारण गरिने भएको छ । भरतपुरबाट माडी प्रवेश गर्दा चितवन राष्ट्रिय निकुञ्जको नौ किलोमिटर जङ्गल पार गर्नु पर्छ । कसराबाट वनकट्टासम्म (राप्ती–रिउ) कच्ची सडक छ । हाल कसरास्थित राप्ती नदीको पुलदेखि ध्रुवघाट हुँदै वनकट्टास्थित रिउ नदीको पुलसम्म जाने सडक कालोपत्रे बन्ने सम्भावना कम रहेको भन्दै विकल्पमा धु्रवघाटबाट वनकट्टासम्मको सडक अगाडि बढाउन लागिएको हो । यो सडक झन्डै चार किलोमिटर छोटो हुनेछ । वन तथा वातावरण मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पहिलेकै बाटो सञ्चालनमा ल्याउने गरी इआइए प्रतिवेदन तयार गर्न सहमति दिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जैविक विविधता संरक्षणका दृष्टिले ध्रुवघाट–वनकट्टा सडक उपयुक्त हुने भनेर इआइए गर्न सहमति दिएपछि सबै सरोकारवाला निकायले उक्त क्षेत्रको अनुगमन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “न्यूनतम विधि, प्रक्रिया पूरा गरेर वन्यजन्तुमैत्री सडक निर्माणका लागि निकुञ्ज बाधक छैन । वन्यजन्तु आवतजावत गर्ने क्षेत्रको जानकारीका लागि निकुञ्जले करिब २० जोडी क्यामरा राख्ने तयारी गरेको छ ।”
कसरा–वनकट्टा खण्डभन्दा चार किलोमिटर छोटो हुने, जैविक विविधतामा कम असर गर्ने भएकाले धु्रवघाट–वनकट्टालाई प्रस्ताव गरिएको उहाँले बताउनुभयो । निकुञ्जमा सडक कालोपत्रे नहुँदा यात्रा गर्न जोखिम र असहज हुँदै आएको छ । बाटोको विषयमा दर्जनौँ पटक स्थानीय जनप्रतिनिधि, प्रदेश तथा सङ्घीय सांसदले सरकारको ध्यानाकर्षण गराइसकेका छन् ।