• १४ पुस २०८१, आइतबार

निर्जीव मुढो भएँ (कविता)

blog

बस त्यहीँनिर चिप्लिएको हुँ म 

यस्तरी कि 

उठाउन कोही आएनन् अहिलेसम्म 

भिक्षु हुनलाई निस्किएको थिएँ 

घरबाट धरेर गेरुवस्त्र 

जसै ठोक्किए तिम्रो आँखामा

निशब्द चिप्लिएँ  

खै कस्तरी चिप्लिएँ भनुँ  

न उठ्न सकेँ 

न छुट्न सकेँ 

श्वास–प्रश्वास केही नभएको 

म त एकाएक  

निर्जीव मुढो भएँ । 


आकाशमा चराहरू उडिरहेका थिए 

नजिकै नदीमा माछाहरू पौडिँदै

खेलिरहेका थिए 

हरिया नागीहरूमा बुर्कुसी खेल्दै 

खरायोहरू दौडिरहेका थिए 

भिक्षु हुन्छु भनेर 

घरबाट निस्किएको म 

गेरुवस्त्रमै अहो ! 

तिम्रो आँखामा कस्तरी डुबेँ

न सुन्न सकेँ कुनै कोलाहल 

न देख्न सकेँ  कुनै दावानल 

न पिउन सकेँ कुनै हलाहल 

मदमस्त - मदहोस 

लागेर ‘भाङ’ एकोहोरिएको 

गँजडी जस्तो 

म त पुतली हुनु अगावै 

झुसिलकिरामै मरेँ ।  


उठाउँछु भनेर हिँडेको पृथ्वीलाई 

यो जञ्जालबाट 

बचाउँछु भनेर निस्किएको  

यो छलकपट र प्रपञ्चबाट 

जोगाउँछु भनेर कस्सिएको  

दुःखको यो अनन्त सागरबाट  

व्यभिचारबाट 

घात–प्रतिघात र अनाचारको 

ब्यापारबाट

खै कस्तरी चिप्लिएँ म आफैँ 

आफैँबाट  

न उठ्न सकेँ 

न छुट्न सकेँ 

न टुट्न सकेँ 

जसै ठोक्किए तिम्रो आँखामा

श्वास–प्रश्वास केही नभएको 

कठै !

म त एकाएक  

निर्जीव मुढो भएँ ।