काठमाडौं, भदौ १५ गते । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक छिट्टै संसदमा पेश गर्ने बताउनुभएको छ ।
मन्त्री बस्नेतले मन्त्रिपरिषद्ले आवश्यक निर्णय गरिसकेको उल्लेख गर्नुहुँदै सो विधेयक छिट्टै संसदमा पेश हुने बताउनुभएको हो । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको ‘नेपाल इभी तथा नेपाल पावर लाइट एण्ड इलेक्ट्रोनिक प्रदर्शनी’ कार्यक्रम उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सो जानकारी गराउनुभएको हो ।
ऊर्जा क्षेत्रको उत्पादन, पूर्वाधार विकास र निर्यात कार्यलाई थप व्यवस्थित बनाउनका लागि सरकारले सो विधेयक संसदमा पेश गर्न लागेको मन्त्री बस्नेतको भनाइ छ । उहाँले सो विधेयक चालु संसद अधिवेशनबाटै पारित गराउन प्रयास गर्ने भन्दै त्यसले विद्युत् क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री बस्नेतले सो विधेयकलाई चालु संसद् अधिवेशनबाटै पारित गराउने गरी सांसदहरुसँग औपचारिक÷अनौपचारिक ढङ्गले सरकारले छलफल गरिरहेको समेत बताउनुभयो ।
‘‘संसदमा हामी दर्ता गर्दैछौं । मन्त्रिपरिषद्ले संसदमा दर्ता गर्ने निर्णय गरिसकेको छ । त्यसकारण छिट्टै अब हामी विद्युत विधेयक संसदमा पेश गर्छौं । यही अधिवेशनबाट नै त्यसलाई अन्तिम रुप दिने हाम्रो प्रयास हुनेछ । त्यस अनुसार हामी संसदका सांसदहरुसँग पनि औपचारिक, अनौपचारिक छलफल गरिरहेका छौं ।,’’ मन्त्री बस्नेतले भन्नुभयो, ‘‘यो विधेयकले ऐनको रुप लिइसकेपछि अब ऊर्जा क्षेत्रको उत्पादन वृद्धि गर्नका लागि, प्रसारण लाइनलाई थप विस्तार र व्यवस्थित गर्नका लागि, वितरण प्रणालीलाई गुणात्मक बनाउनका लागि, गुणस्तरीय बनाउनका लागि र यसको निर्यातलाई व्यवस्थित गर्नका लागि मद्दत गर्नेछ । र यस क्षेत्रको विकासका लागि र विस्तारका लागि त्यो निकै महत्त्वपूर्ण हुनेछ अहिलेको विद्युत् विधेयक भन्ने हामीले विश्वास लिएका छौं ।’’
त्यस अवसरमा मन्त्री बस्नेतले सरकारले मुलुकको समृद्धि, विद्युतको आन्तरिक खपत र वातावरणीय प्रदूषणलाई न्यूनीकरण गर्दै लैजान पनि विद्युतीय सवारी साधनहरुको प्रयोग गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको स्पष्ट पार्नुभयो ।