• ८ मंसिर २०८१, शनिबार

यू–१६ क्रिकेट कप्तान तिवारी सम्मानित

blog

मनरासिसवा नगरपालिकामा क्रिकेटर अभिषेक तिवारीलाई सम्मान गरिँदै । तस्बिर : गोरखापत्र

रवीन्द्र उप्रेती

बर्दिबास, भदौ १४ गते । यू–१६ क्रिकेटका कप्तान अभिषेक तिवारीलाई महोत्तरीको मनरासिसवा नगरपालिकाले सम्मान गरेको छ । नगरप्रमुख मोहन पाण्डेले नगरपालिकाको नयाँ प्रशासनिक भवनमा बुधबार आयोजित एक समारोहबीच खादा लगाई ५१ हजार रुपियाँ र कदरपत्रसहित कप्तान तिवारीलाई सम्मान गर्नुभएको हो । मनरासिसवा नगरपालिका ८ स्थित सहराम कप्तान तिवारीको जन्म स्थल र पुर्ख्यौली थलोसमेत हो । 

सानै उमेरमा क्रिकेटको माध्यमले आफ्नो मुलुक र जन्मथलोको नाम उच्च राख्न पुर्‍याएको योगदानको कदर गर्दै तिवारीलाई सम्मान गरेको नगरप्रमुख पाण्डेले बताउन भयो । ‘‘यो सम्मानले प्रतिभावन खेलाडीको मनोबल उच्च बनाउनुका साथै अरूका लागिसमेत प्रेरक र अनुकरणीय हुने विश्वास लिएका छौ’’ नगरप्रमुख पाण्डेले भन्नुभयो ।

आफ्नो पुर्ख्यौली थलोमा पाएको सम्मानप्रति हर्ष र आभार प्रकट गर्दै कप्तान तिवारीले अब यू–१९ को तयारीमा जुटेको जानकारी गराउनुभयो । उहाँले हरेक सफलताको पछाडि जननी र जन्मभूमिको स्नेह र आशीर्वाद रहने गरेको अनुभव सुनाउनुभयो । 

जन्मभूमिमा पाएको सम्मानले विभोर हुनु भएका कप्तान तिवारीले भन्नुभयो , ‘‘यो सहयोग र सम्मानले मलाई गौरवान्वित पार्नुका साथै हौसलासमेत थपेकोले नरपालिका, नगर प्रमुखलगायत सम्पूर्ण नगरवासीप्रति आभार प्रकट गर्दछु ।’’ कप्तान तिवारीले यू–१६ अन्तर्गत अन्तर्राष्ट्रिय स्तरको ४ वटा प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्नुभएको छ ।