• २० असोज २०८१, आइतबार

झुलनोत्सवका गीतले जनकपुरधाम गुन्जिँदै

blog

झुलनोत्सवमा सजाइएका जानकी मन्दिरका झुला । तस्बिर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, भदौ १३ गते । यतिबेला साँझ पर्नेबितिक्कै जनकपुरधामका मठमन्दिरमा बर्खा ऋतुमा गाइने लोकगीत कजरी गुञ्जिएको छ । झुला पर्वका अवसरमा यहाँका मठमन्दिरमा कजरीसँगै पावस, मल्हार, बारहमासा र झुलाजस्ता लोकगीत गाउने चलन छ । 

साउन शुक्ल तृतीया तिथिबाट आरम्भ हुने झुला महोत्सवमा विभिन्न देवीदेवतालाई झुलामा झुलाई आस्था र भक्तिभाव प्रकट गर्ने गरिन्छ । जनकपुरधामको जानकी मन्दिरसँगै यहाँ रहेका अन्य मठ र कुटीमा रामसीता र राधाकृष्णको प्रतिमा झुलामा राखी लोक तथा शास्त्रीय गायन गर्दै नरनारीहरू भगवानको पूजा आराधना गर्ने गर्दछन् । 

‘यस क्षेत्रमा बर्खायामका बेला मनोरञ्जक विधिमार्फत सामूहिक आनन्द प्राप्त गर्ने सांस्कृतिक र सामाजिक अभ्यास छन् । जसमध्ये झुला अर्थात् झुलनोत्सव भक्ति, आनन्द र मेलजोलको दृष्टिले सबैभन्दा महत्त्वपूर्ण मानिने जानकी मन्दिरका महन्थका उत्तराधिकारी रामरोशन दास वैष्णवले बताउनुभयो । 

उहाँका अनुसार जनकपुरधाममा सीताराम प्रतिमालाई १५ दिनसम्म झुलाउने यो परम्पराले साधुसन्त र गृहस्थलाई समेत एउटै व्यावहारिक पथमा जोडेको छ । रामायण कालको ९९ वटा राशलीलामध्ये झुलनोत्सवलाई पनि प्रमुख मानिने गरिन्छ । 

मिथिला क्षेत्रमा यस पर्वलाई विशेष रूपमा मान्नेगरेकाले यतिबेला देवीदेउता झुलाउने झुलासहित यहाँका मन्दिर पनि सजाउने गरिन्छ । साँझ पर्नासाथ जनकपुरधामका अधिकांश मठमन्दिरमा झुलाका गीतहरू गुञ्जिनेगरेको महन्थका उत्तराधिकारी दासले बताउनुभयो ।”

साउन शुक्ल तृतीया तिथिबाट सुरु भएको झुला महोत्सवको पूर्णिमासम्म मनाउने गरिन्छ । साउन महिनामा कृषि कार्यको समाप्तिपछि फुर्सदमा रहेका सर्वसाधारणले नयाँ लुगा लगाउने र शृङ्गारपटार गर्ने तथा थरीथरीका भोजन गर्ने गरेको दर्शनार्थीहरुको भनाइ छ ।