• ८ जेठ २०८१, मङ्गलबार

एसिया कप क्रिकेट

नेपाललाई स्तर नाप्ने अवसर

blog

फाइल तस्बिर ।

काठमाडौं, भदौ १२ गते । एसिया कप क्रिकेटका उद्घाटन खेलमा बुधबार नेपालले विश्व नम्बर एक प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ । पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो ३:१५ बजे सुरु हुने खेलमा नेपाल पाकिस्तानविरुद्ध सुखद नतिजा निकाल्ने दाउमा छ ।

नेपालले पाकिस्तानको सिनियर टोलीसँग खेल्न लागेको यो पहिलो पटक हो । नेपाल र विश्व नम्बर एक पाकिस्तानबीचको भिडन्तलाई अर्थपूर्ण रूपमा हेरिएको छ । नेपाललाई बलियो प्रतिद्वन्द्वीसँग स्तर नाप्ने अवसर हुनेछ । उपाधि दाबेदार पाकिस्तानलाई भने सहज प्रतिद्वन्द्वी नेपाललाई पन्छाउनु चुनौती हुनेछ । 

नेपाली टोलीका कप्तान रोहित पौडेलले एसिया कपलाई स्मरणीय बनाउने हिसाबले प्रदर्शन गर्ने बताउनुभएको छ । ‘‘हाम्रोलाई एसिया कप ठुलो अवसर र चुनौती हो । यसपटक हामीले राम्रो टोलीसँग उत्कृष्ट खेल खेल्नेछौँ । विश्वकै उत्कृष्ट टोली पाकिस्तान र भारतसँग खेल्ने हाम्रो सपना साकार भएको छ,’’ पौडेलले भन्नुभएको छ । 

नेपाली टोली कराँचीमा एक साता अभ्यास गरेर मुल्तान पुगेको छ । एसिया कप खेल्न सन्दीप लामिछानेले पनि मंगलबार नै टोलीमा आवद्ध हुनुभएको छ । सन्दीप सोमबारमात्र पाकिस्तान जानुभएको हो । 

नेपालीटोलीसँग खेल्न पाकिस्तान टोलीका लागि नौलो अनुभव हुनेछ । बलिया देशसँग खेलिरहेको टेस्ट टोली पाकिस्तान नेपालबारे मैदानमा जानकार छैन । एसिया कपमै युवा टोली नेपालसँग खेल्नु पाकिस्तानका लागि नयाँ चुनौती समेत हुनेछ । नेपाल एकदिवसीय वरीयताको १५औं स्थानमा छ । 

नेपालका प्रशिक्षक मोन्ट देसाईले नेपालले पछिल्लो समय विश्वकप लिग–२ का खेलहरुमा गरेको प्रदर्शन अविश्वसनीय रहेकोले एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्ने दाबी गर्नुभएको छ । त्यसैले विश्व क्रिकेटको महारथि पाकिस्तान र भारतसँग खेल्दा नेपालका लागि गुमाउनु र पाउनु भन्दा आफ्नो स्तर मापन गर्ने ठूलो अवसर छ । 

नेपालले समूहको पहिलो खेल पाकिस्तानसँग खेलेपछि अर्को खेल सेप्टेम्बर ४ तारिख भारतसँग श्रीलङ्कामा खेल्नेछ । एसिया कपमा नेपाल, भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । 

समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछ । सुपर चारको शीर्ष दुई टोलीबिच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरु श्रीलङ्कामा सञ्चालन हुँदैछ । भारतले पाकिस्तान गएर खेल्न अस्वीकार गरेपछि एसिया कपका खेल पाकिस्तान र श्रीलङ्कामा हुन लागेको हो । 

नेपाली टोली 

रोहित पौडेल (कप्तान), आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिस जीसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल ।

पाकिस्तान टोली 

बाबर आजम (कप्तान), शादब खान (उपकप्तान), अब्दुल्लाह शफिक, फखार जमान, हारिस रौफ, इफ्तिखर अहमद, इमाम उल हक, मोहम्मद हरिस, मोहम्मद नवाज, मोहम्मद रिजवान, मोहम्मद वासिम जुनियर, नसिम शाह, सलमान अली अघा, शाहिन शाह अफ्रिदी, साउद सकिल, उस्मा मिर र फहिम अशरफ ।