• १८ वैशाख २०८२, बिहिबार

अन्धकारमा नगरवासी

blog

शेरबहादुर राई
ओखलढुङ्गा, भदौ ९ गते ।
 नगरपालिका भन्ने बित्तिकै सडक, शिक्षा, सञ्चार, विद्युत सेवाले सुविधा सम्पन्न होला धेरैको सोचाई यस्तै हुन्छ । तर नगरपालिकाका नगरवासीनै वर्षौँदेखि अन्धकारमा बस्न बाध्य छन् । सिद्धिचरण नगरपालिका ओखलढुङ्गा सदरमुकामदेखि करिब एक घण्टा टाढाको गाउँमा अझै विद्युत पुग्न सकेको छैन ।

नगरपालिका–७ विगुटारको माथिल्लो क्षेत्रमा अझै विद्युत पुग्न नसकेको हो । ट्याम्के, ठाडे, चैते, गोर्जा भस्मे र पणेनी गाउँमा विद्युत सेवा नपुग्दा यहाँका नागरिकहरू अन्धकारमा बस्न बाध्य छन् । यस क्षेत्रमा तत्काल विद्युत विस्तार गर्न नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र ओखलढुङ्गाका प्रमुख ईश्वर कुमार श्रेष्ठलाई ध्यानाकर्षण गराइको वडा अध्यक्ष भलबहादुर कटवालले बताउनुभयो ।

विद्युत विस्तारका लागि स्थानीयको हस्ताक्षरसहितको ध्यानाकर्षण पत्र केन्द्र प्रमुख श्रेष्ठलाई बुझाइएको वडा अध्यक्ष कटुवालको भनाइ छ । चाँडै स्थानीयको माग सम्बोधन गर्ने गरी तयारी थालिकाएको केन्द्र प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । सिद्धिचरण नगरपालिकाकै केही गाउँहरूमा अझै पनि सडक र विद्युत सेवा पुग्न बाँकी छ ।