• ७ मंसिर २०८१, शुक्रबार

कालिञ्चोक मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने प्रयास भइरहेको छ

blog

बागमती प्रदेशको दोलखा जिल्लाका नौ स्थानीय तहमध्ये कालिञ्चोक गाउँपालिका एक हो । नौ वटा वडामा विभाजित दोलखाको उत्तरी भेगमा अवस्थित यो गाउँपालिका १३२.४९ वर्ग किलोमिटर रहेको छ । प्रसिद्ध धार्मिक तथा पर्यटकीय महत्त्वको स्थल कालिञ्चोक भगवतीको मन्दिर यहीँ छ । यो गाउँपालिका ‘दोलखाको गौरव, शिक्षा, स्वास्थ्य, कला र पौरख’ मूलमन्त्रसहित विकास निर्माण र सेवा प्रवाहमा अग्रसर छ । स्थानीय तहको दोस्रो निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट कालिञ्चोक गाउँपालिकाको अध्यक्षमा अर्जुनप्रसाद शिवाकोटी निर्वाचित हुनुभएको छ । यो अवधिमा गाउँपालिकामा भए-गरेका काम र आगामी योजनाबारे अध्यक्ष शिवाकोटीसँग गोरखापत्रका सुजन काफ्लेले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

निर्वाचित भएर आएको डेढ वर्ष हुनै लाग्यो । अहिलेसम्मका कामलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

निर्वाचित भएर आएको केही समय ऐन, नियम, कानुनबारे बुझ्दै, सिक्दै काम गरियो । पहिलो वर्ष भनेको सिकाइको वर्ष भयो तर पनि जनताका अपेक्षा र आवश्यकतालाई प्राथमिकता दिँदै सुशासन र जनमैत्री सेवा प्रवाहमा निकै महìवपूर्ण काम भएका छन् । गाउँ गाउँमा सिंहदरबारको नारा लिएर स्थानीयको अपेक्षा अनुरूपका योजना छनोट गरी शिक्षा, स्वास्थ्य, सडक, पर्यटन, खानेपानी र पूर्वाधार विकासका कार्यक्रम र योजना अगाडि बढाउँदै लगेका छौँ । 

यो अवधिमा भए गरेका महìवपूर्ण काम के के छन् ?

हामीले शिक्षालाई पहिलो प्राथमिकतामा राखेका छौँ । शैक्षिक प्रणालीलाई आधुनिक बनाउन गुणस्तर वृद्धिमा जोड दिइएको छ । विद्यालय सङ्ख्याभन्दा गुणस्तरलाई महìव दिएर विद्यालय समायोजन र दरबन्दी मिलान, विद्यार्थी खाजा, शिक्षक वृत्तिविकास, विद्यालयको भौतिक पूर्वाधार विकास, छात्रवृत्ति कार्यव्रmम जस्ता महत्त्वपूर्ण कार्यव्रmम ल्याइएको छ । हाम्रो गाउँपालिकामा धार्मिक तथा पर्यटकीयस्थल कालिञ्चोक भगवती मन्दिर पर्छ । पर्यटकीय दृष्टिले राम्रो सम्भावना भएको कालिञ्चोक मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न प्रयास गरिरहेका छौँ । कालिञ्चोक मन्दिरसँगै पर्यटकीयस्थलमा धार्मिकलगायतका पर्यटक देश, विदेशबाट आउने गरेका छन् । पर्यटकीय क्षेत्रको विकासका लागि स्थानीय सरकारको बजेटले मात्र सम्भव नभएकाले सङ्घीय र प्रदेश सरकारसँग पहल गरिरहेका छौँ । भौतिक पूर्वाधारतर्फ सात वटै वडामा सडकको पहुँच पु-याई छोटो समयमै स्वास्थ्य चौकीमा पुगेर सेवा लिने वातावरण बनाएका छौँ ।

चालु आर्थिक वर्षको बजेटको प्राथमिकतामा के के छन् ?

हामीले कृषि क्षेत्रमा विभिन्न योजना र कार्यक्रम बजेटमा समावेश गरेका छौँ । कृषि तथा पशुपन्छी क्षेत्रको विकास र प्रवर्धन गर्ने गरी कार्यक्रम अगाडि बढाएका छौँ । किसानलाई भैँसी वितरण गरेर दुध उत्पादन बढाएका छौँ । सबै वडामा सुविधासम्पन्न स्वास्थ्य चौकी निर्माण सम्पन्न गरी स्वास्थ्य सेवालाई थप प्रभावकारी रूपमा अगाडि बढाउने गरी योजना ल्याएका छौँ । हामीले  गएको एक वर्षमा साढे सात किलोमिटर सडक ढलान ग-यौँ । गाउँपालिकाको मुख्य सडक सुनखानी साङ्बा सडक कालोपत्रे गर्न सुरु गरेका छौँ । यो सडक निर्माण सम्पन्न भएसँगै जनतालाई सेवा लिन थप सहज हुने छ । 

सङ्घ र प्रदेश सरकारले विनियोजन गरेका बजेटबाट भएका विकास निर्माणका काममा कति सन्तुष्ट हुनुहुन्छ ?

सङ्घ र प्रदेश सरकारको बजेटबाट भएका काममा म खासै सन्तुष्ट छैन । कामको गुणस्तर पनि देखिँदैन । गाउँपालिकालाई अनुगमन र भुक्तानीको कुनै अधिकार हुँदैन । आवश्यकता र प्राथमिकताभन्दा पहुँचको आधारमा सङ्घ र प्रदेश सरकारबाट बजेट विनियोजन गरिएको हुन्छ । एउटै ठाउँमा पटक पटक बजेट विनियोजन गरिएको हुन्छ, त्यही कारणले पनि काममा दोहोरोपना हुने गरेको छ । प्रदेश सरकारले विकासको काममा स्थानीय सरकारसँग कुनै समन्वय गरेको पाइँदैन । यस कारण सङ्घ र प्रदेश सरकारले गर्ने विकासको नाममा बजेटको दुरुपयोग बढ्दै गएको छ । 

बाँकी कार्यकालमा सम्पन्न गर्नुपर्ने कार्यव्रmम र प्राथमिकता के के छन् ?

हामीकहाँ विकासका पूर्वाधारमा खानेपानी, सडक, पर्यटन र सिँचाइ नै हो । यसैमा हाम्रो प्राथमिकता रहने छ । सडकलाई कसरी १२ महिना चल्ने बनाउने, खानेपानीलाई कसरी राम्रो गर्ने भन्ने हाम्रो प्रयत्न हुने छ । सँगसँगै पर्यटनको पनि सम्भावना छ । हामी यस क्षेत्रलाई राम्रो पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने छौँ । यसबाट स्थानीय आर्थिक व्रिmयाकलाप वृद्धि गर्न सहयोग पुग्ने छ । कृषि, उत्पादन र बजारीकरणमा गाउँपालिकाले सहजीकरण गर्छ । 

गाउँपालिकाको मुख्य समस्या के के हुन् ?

गाउँपालिकाको मुख्य समस्या भनेको लापिलाङको पहिरो हो । वडा नं. ५ का करिब तीन सय घर पहिरोको जोखिममा छन् । तीन वर्षदेखि निरन्तर पहिरो गइरहेको छ । पहिरोपीडितलाई सामान्य राहत दिनेभन्दा अरू काम गर्न हाम्रो बजेटले भ्याइँदैन । सङ्घ र प्रदेश सरकारलाई पटक पटक बजेट माग गर्दा पनि हालसम्म दीर्घकालीन समस्या समाधान गर्ने कुनै निर्णय भएको छैन । अर्को मुख्य समस्या भनेको बाँदरको समस्या हो । बाँदर नियन्त्रण गर्न सक्ने अवस्था छैन । किसानले लगाएको बाली बाँदरले नष्ट गरिदिने भएकाले कृषकले बालीनाली लगाउन छोडेका छन् । बाँदरकै कारण पनि कतिपय गाउँमा मानिस बस्न छोडेका छन् ।