• ९ मंसिर २०८१, आइतबार

अर्थमन्त्री जिइएफको उपाध्यक्षमा निर्वाचित

blog

काठमाडौँ, भदौ ९ गते । अर्थमन्त्री डा. प्रकाशशरण महत ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जिइएफ) को सातौँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्यान्डको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । त्यसअघि जिइएफको एसेम्बली बैठकमा सम्बोधन गर्दै नेपालले कुल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताउनुभयो । त्यस्तै उहाँले दक्षिण एसियाका एक अर्बभन्दा बढी जनसङ्ख्याका लागि पानीको स्रोत रहेको विषय विश्व समुदायमा ध्यानाकर्षण गर्नुभयो ।

नेपालले जैविक विविधताको संरक्षणमा इमानदार प्रयत्न गरिरहेको साथै दुर्लभ तथा सङ्कटापन्न जङ्गली जनावर तथा प्रजातिको संरक्षण गरेको पनि उहाँले बैठकमा बताउनुभयो । त्यसको नतिजास्वरूप बाघ तथा गैँडाको सङ्ख्यामा उल्लेख्य रूपमा वृद्धि भएको उहाँले जानकारी गराउनुभयो । यस्ता वन तथा वनजन्य सम्पदा नेपालको लागि मात्र नभई विश्व मानव समुदायकै सम्पदाका रूपमा रहेको उहाँको भनाइ थियो । यस्ता प्रयास हुँदाहुँदै पनि नेपाल जलवायु परिवर्तनका दृष्टिकोणले उच्च जोखिम रहेको उहाँको भनाइ थियो । 

नेपाल विश्वको १० औँ जोखिमयुक्त मुलुक भएको र पछिल्ला दिनहरूमा बाढीपहिरो अतिवृष्टि सुक्खा साथै हिमताल विस्फोटको जोखिमसमेत बढेको मन्त्री महतको भनाइ थियो ।