काठमाडौँ, भदौ ९ गते । शुक्रबारदेखि चार चलचित्र प्रदर्शनमा आएका छन्। दुई वटा नेपाली, एउटा हिन्दी र एउटा हलिउडको चलचित्र प्रदर्शनमा आएका हुन्। ‘जय हो’ ‘महानगर’, ‘ड्रिमगर्ल–२’ र ‘ग्रान टुरिस्मो’ प्रदर्शनमा आएका चलचित्र हुन्।
चलचित्र ‘जय हो’ लाई टेक पौरखी राईले निर्देशन गर्नुभएको छ। सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको चलचित्रमा केकी अधिकारी, सलोन बस्नेत, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ, प्रेम पाण्डे र कुमार थिङको पनि अभिनय रहेको छ। शोभित बस्नेत प्रस्तुतकर्ता रहनुभएको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भिएफएक्स छ।
त्यस्तै मोहन राई निर्देशित महानगरमा कार्म र मेनुका प्रधान शीर्ष भूमिकामा देखिनुभएको छ। सानो घटनाका कारण सँगै रात गुजार्न बाध्य दुई चरित्रको जीवनमा सो रातले ल्याएको परिवर्तनलाई चलचित्रमा उतारिएको छ। चलचित्रमा अनोज पाण्डे, सोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे, राज पौडेललगायतका कलाकारको पनि अभिनय छ। आयुष्मान खुराना, परेस रावल र अनन्या पाण्डेको शीर्ष भूमिका रहेको चलचित्र ‘ड्रिमगर्ल–२’ पनि शुक्रबारदेखि प्रदर्शनमा आएको छ । चलचित्रलाई राज सान्धिल्याले निर्देशन गर्नुभएको छ। डेभिड हार्वर, ओर्लान्डो ब्लुमको अभिनय रहेको हलिउड चलचित्र ‘ग्रान टुरिस्मो’ पनि प्रदर्शनमा आएको छ।